काठमाडौं । नेकपा (माले)का महासचिव सीपी मैनालीले ००७ सालको परिवर्तनदेखि नै नेपालमा विदेशी हस्तक्षेप बढेको दाबी गरेका छन् ।
बुधबार काटमाडौंमा राप्रपा एकता महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना सन्देश दिँदै उनले राजा महेन्द्रजति राष्ट्रवादी नेता कोही पनि नभएको बताए ।
०४६ र ०६२/६३ को जनआन्दोलनको नाममा आएको व्यवस्थाको बुइ चढेर नेपालमा भारत हाबी भएको आरोप पनि उले लगाए । अहिले देश विदेशीको इसारामा चल्ने र त्यही खाडलमा भासिएको उनको भनाइ छ ।
“राजा महेन्द्रले पटक–पटक विपक्षमा नउभिएको भए नेपाल भारतसँग गाभिने थियो । जसलाई रोक्ने काम महेन्द्रले गरे र उनी राष्ट्रवादी हुन्,” नेता मैनालीले भने ।
अहिले पटक–पटक परिवर्तनको नाममा विदेशीहरूलाई गुहारिएको भन्दै उनले राष्ट्रवादीहरू एक ठाउँमा उभिनुको विकल्प नभएको बताए । उनले राप्रपा देशभक्तिको बाटोमा अघि बढेको पनि बताए ।