विराटनगर । नेपाली कांग्रेस मोरङको दोस्रो चरणको निर्वाचन सम्पन्न भएको छ । दोस्रोमा पहिलो चरण भन्दा कम मत खसेको छ ।
मंगलबार जिल्ला सभापति चयन गर्न दोस्रो चरणको मतदान सम्पन्न भएको हो ।
जिल्ला निर्वाचन समितिका मतदान अधिकृत दुर्गाप्रसाद पोखरेलका अनुसार विराटनगर ३ शंकरपुरको मैदानमा सम्पन्न मतदानमा कुल तीन हजार ३६० मत खसेको छ । मतदान मध्याह्न १२ बजे सुरु भई बेलुका ५ बजेसम्म चलेको थयो ।
आइतबार सम्पन्न भएको पहिलो चरणको निर्वाचनमा तीन हजार ४१३ मत खसेको थियो । मंगलबार ५३ मत कम खसेको समितिले जनाएको छ ।
जिल्ला सभापतिका लागि संस्थापन इतरका डिगबहादुर लिम्बू र संस्थापन पक्षका दिलिप गच्छदारबीच प्रतिस्पर्धा रहेको छ । पहिलो चरणमा लिम्बूले १ हजार ५४४, गच्छदारले १ हजार १६६ मत र यदुकुमार विष्टले ५६३ मत प्राप्त गरेका थिए ।
निवार्चन प्रक्रियाबाट विष्ट बाहिरिएपछि दोस्रो चरणको निर्वाचन गरिएको हो । मत गणना रातिबाट सुरु हुने बताइएको छ ।