काठमाडौं । मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षापछिको पहिलो कारोबार दिन सेयर बजारमा पहिरो गएको छ । आइबार सेयर बजार परिसूचक नेप्से ८०.२९ अंकले झर्यो । नेप्से २६५१.४९ विन्दुमा आइपुग्यो ।
यसदिन जीवन बिमा समूहमा सबैभन्दा बढी ५३८ अंकको गिरावट आयो । यस्तै, निर्जीवन बीमा समूहमा ३८५, विकास बैंक समूहमा २६७, उत्पादनमूलक समूहमा १९२ अंकको गिरावट आयो भने व्यापार समूह पनि १५९ अंकले ओर्लियो ।
यसैगरी, होटेल तथा पर्यटन, जलविद्युत्, लघुवित्त समूहमा पनि सय अंक बढीको गिरावट आयो ।
यसदिन २३४ कम्पनीका एक करोड १९ लाख बराबर कित्ता सेयर पाँच अर्ब ८३ करोड रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
यसदिन आईसीएफसी कम्पनीको सेयर मूल्य ९.७८ प्रतिशत, स्यामलिङ पावर कम्पनीको सेयर मूल्य ८.२१ प्रतिशतले बढ्यो भने निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य पनि ३.४३ प्रतिशतले बढ्यो ।