रुपन्देही । नेपाली कांग्रेस रुपन्देहीको सभापतिमा रामकृष्ण खाँण सर्वसम्मत रूपमा चयन भएका छन् । पार्टीको आसन्न १४औँ महाधिवेशनअन्तर्गत उनी सभापतिमा सर्वसम्मत छानिएका हुन् ।
सभापतिमा चयन भएका खाँण यसअघि जिल्ला सचिव थिए । जिल्ला कार्यसमितिको उपसभापतिमा डा. अनिता ढुंगाना शाह र थानेश्वर घिमिरे निर्विरोध चयन भएका छन् । उपसभापतिमा दीर्घराज काफ्लेले उमेदवारी फिर्ता लिएपछि दुवैजना निर्विरोध छानिएका हुन् ।
यसैगरी, सचिवमा हरिप्रसाद काफ्ले र परमानन्द भट्टराई तथा सहसचिवमा वासुदेव रिमाल र विष्णु थापा सर्वसम्मत चयन भएको जिल्ला निर्वाचन अधिकृत भेषराज घिमिरेले जानकारी दिए ।
सचिवमा उमेदवारी दिएका हरिप्रसाद न्यौपाने र सहसचिवमा उमेदवारी दिएका बालकृष्ण पौडेलले उमेदवारी फिर्ता लिएपछि दुवै पदमा सर्वसम्मत भएको हो । जिल्ला सदस्य पनि सर्वसम्मत चयन गरिएको छ । रासस