काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत एक मात्र निर्वाचन क्षेत्र रहेको पाँचथरको अधिवेशन सम्पन्न भएको छ ।
जिल्ला अधिवेशनबाट सभापतिमा रूपनारायण जवेगु पार्टी सभपातिमा निर्वाचित भएका छन् । उनले सभापतिमा पौडेल समूहका उमेदवार सुरेन्द्रकुमार दाहाललाई पराजित गरेका हुन् ।
कुल खसेको एक हजार ७७ मतमध्ये जवेगुले ६३४ मत प्राप्त गरे । दाहालले ४१६ मत पाए ।
मिश्रित नतिजा
जिल्ला उपसभापतिमा दुवै पौडेल समूहका नेताहरु विजयी भएका छन् । वृजहाङ आङदेम्बे र डिकेन्द्र चेम्जोङ विजयी भएका छन् । उनीहरुले मणिचन्द्र चेम्जोङ र सागरबहादुर अधिकारीलाई पराजित गरेका छन् । आङदेम्बेले ६२५ र चेम्जोङले ४५१ मत प्राप्त गरे । पराजित मणिचन्द्रले ४३३ र अधिकारीले ४४० मत पाए ।
यस्तै, सचिवमा देउवा समूहबाट दीपक नेपाल विजयी भएका छन् । अर्को सचिवमा पौडेल समूहका डेकेन्द्र तामाङ विजयी भएका छन् । सचिवमा विजयी नेपालले ५२७ र तामाङले ४७० मत प्राप्त गरे ।
सहसचिवमा पनि दुवै समूहका एक/एकजना विजयी भएका छन् । देउवा समूहबाट गजेन्द्र राईले ४९९ मत ल्याउँदै जित हासिल गरे । अर्का सहसचिवमा विजयीसन्तोष श्रेष्ठले ६०८ मत ल्याए । उनी पौडेल समूहका उमेदवार हुन् ।