जनकपुरधाम । सर्लाहीमा नेपाली कांग्रेसको अधिवेशन अनिश्चित बन्दै गएको छ । अरू जिल्लामा वडाको अधिवेशन सकेर आज पालिका तथा प्रदेशसभा क्षेत्रीय निर्वाचन भइरहेको छ । तर, सर्लाहीमा वडा अधिवेशन पनि भएको छैन ।
दोस्रोपटक अधिवेशन गराउन पुगेका निर्वाचन अधिकृत दिवाकरराज पाण्डेले राजीनामा दिएपछि कांग्रेका दुवै पक्ष काठमाडौं पुगेका छन् । शनिबार पहिलो चरणको वार्तामा दुवै पक्षले आ–आफ्नो कुरा राखेको केन्द्रीय सदस्य जंगीलाल रायले जानकारी दिए ।
उनका अनुसार आज दोस्रो चरणको वार्तामा दुवै पक्षबीच सहमति हुने सम्भावना छ । “प्याकेजमा सहमति गरेर मात्र जिल्ला अधिवेशन गर्ने गरी नै जिल्ला फर्कनेछौँ,” उनले भने, “अब जसरी पनि सहमति गरेर भोलिसम्म सर्लाहीमा नयाँ निर्वाचन अधिकृत आउनेछन् । पर्सिबाट अधिवेशन प्रक्रिया अगाडि बढाइनेछ ।”
सर्लाहीमा पार्टी संस्थापन र संस्थापनइतर समूहबीच मतभेद देखिएको छ । कांग्रेसका जिल्ला सभापति नागेन्द्रकुमार राय संस्थापन पक्षका हुन् भने पूर्वसभापति लक्ष्मण राय संस्थापनइतरका हुन् । योपटकको जिल्ला अधिवेशनमा पनि यी दुवैजना सभापतिका उमेदवार छन् ।