काठमाडौं । स्पेनिस ला लिगाको डर्बी खेलमा शनिबार राति स्पानियोलाई १–० ले हराउँदैजाभी हर्नान्डेजले बार्सिलोनाको प्रशिक्षकका रुपमा विजयी सुरुआत गरेका छन् ।
भ्रमणकारी टोली स्पानियोलले गोलका थुप्रै राम्रो अवसर खेर फालेपछि घरेलु समर्थक निराश हुनुपरेन । जाभीको टोली बार्सिलोनाले दोस्रो हाफको दोस्रो मिनेटमै अग्रता लिएको थियो । बार्सिलोनाका लागि मेम्फिस डिपाएले पेनाल्टीमा गोल गरेका थिए । स्पानियोलका लिएन्द्रो काब्रेराले डिपाएलाई फाउल गरेपछि बार्सिलोनाले पेनाल्टी अवसर पाएको थियो ।
जसलाई नेदरल्यान्ड्सका फरवार्ड डिपाएले कुनै गल्ति नगरी पोष्टको दिशा दिएका थिए । जारी लिगमा डिपाएले पेनाल्टीमा गरेको यो तेस्रो गोल हो । लिगमा उनले सात गोल गरिसकेका छन् । जुन धेरै गोल गर्ने करिम बेन्जेमाको भन्दा तीन गोलले पछाडि हो ।
जितसँगै १३ खेलबाट २० अंक जोडेको बार्सिलोना छैटौं स्थानमा उक्लिएको छ । जुन शीर्ष स्थानको सेभियाभन्दा आठ अंकले पछाडि हो भने चौथो स्थानको एट्लेटिको मड्रिडभन्दा ६ अंकले पछाडि हो । पराजित स्पानियोल १७ अंकका साथ ११औं स्थानमा छ ।
बार्सिलोनाबाट ७६७ खेल खेलेर २५ उपाधि जितेका जाभीले सिनियर टोलीमा १७ वर्ष क्याम्प नोउमा विताएका थिए । २०१५ मा कतार लागेका जाभी दुई साताअघिमात्र बार्सिलोनाको मुख्य प्रशिक्षकमा नियुक्त भएका हुन् ।
जाभीका लागि अर्को खेल महत्त्वपूर्ण हुनेछ । बार्सिलोनाले अर्को खेल च्याम्पियन्स लिगमा बेनफिकाविरुद्ध मंगलबार राति घरेलु मैदानमै खेल्नेछ । पोर्चुगलको प्रतिद्वन्द्वी बेनफिकालाई हराए बार्सिलोनाले च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान पक्का गर्नेछ ।