काठमाडौं । सर्वोच्च अदालत परिसरमा प्रहरीको लाठी प्रहारबाट थप दुईजना वकिल घाइते भएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै प्रदर्शनमा उत्रिएकाहरूमाथि प्रहरीले बल प्रयोग गरेको हो ।
प्रहरीको लाठी प्रहारबाट आज सर्वोच्च बारका पूर्वसदस्य लक्ष्मी पोखरेल र उच्च अदालत बारका पूर्वसदस्य पवित्रा तिवारी घाइते भएको जनाइएको छ ।
आन्दोलनरत कानुन व्यवसायीले आज सर्वोच्च अदालत परिसरमै कोणसभा गरेका छन् । यसअघि, सर्वोच्च परिसरमा धर्ना र नेपाल बार एसोसिएसन परिसरमा कोणसभा गर्दै आएका थिए ।
नेपाल बारको अगुवाइमा प्रधानन्यायाधीशको राजीनामा माग्दै वकिलहरू आन्दोलनरत छन् । बिहीबार पनि सर्वोच्च परिसरमा प्रदर्शनमा उत्रिएका वकिलहरूमाथि प्रहरीले लाठीचार्ज गरेको थियो । त्यसक्रममा केही वकिलहरू घाइते भएका थिए ।