काठमाडौं । नेपाली सेनालगायत विदेशी सेनालाई प्रतिविद्रोह तथा जंगल युद्धकला सम्बन्धी ज्ञान दिलाउने उद्देश्यले सञ्चालित तीन महिनाभन्दा लामो तालिम समापन भएको छ ।
अमलेखगञ्जमा तैनाथ सेनाको श्री प्रतिविद्रोह तथा जंगल वारफेयर शिक्षालयमा स्वदेशी तथा विदेशी शिक्षार्थी सहभागी गराई सञ्चालन भएको “प्रतिविद्रोह तथा जंगल युद्धकला” तालिम एक कार्यक्रमकाबीच समापन गरिएको हो ।
कार्यक्रममा शिक्षालयको विविध गतिविधिहरू समावेश गरी तयार पारिएको 'अ जर्नी टू एक्सिलेन्स' नामक कफी टेबल बुक समेत विमोचन गरिएको थियो । कार्यक्रममा सेनाका रथीवृन्द तथा अधिकृतलगायत नेपालस्थित अमेरिकी राजदूतावासका सैनिक सहचारी, अफिस अफ डिफेन्स कोअपरेसनका प्रमुखलगायतको उपस्थित थिए ।
तालिममा सेनाका शिक्षार्थी अधिकृत २३ जना र अन्यदर्जा ५२ जना गरि जम्मा ७५ जना सहभागी थिए । विदेशी शिक्षार्थीतर्फ अमेरिका, केन्या, बंगलादेश, श्रीलंका तथा कोरियाबाट अधिकृत शिक्षार्थी जम्मा ५ जना सहभागी रहेको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।