जनकपुरधाम । अख्तियार दुरूपयोग अनुसन्धान आयोग बर्दिवासका प्रमुख कृष्णप्रसाद सापकोटाले प्रदेश २ सरकारको साइकल खरिदमा अनियमितता देखिएको बताएका छन् । सोमबार प्रदेश प्रमुख हरिशंकर मिश्रलाई आयोगको वार्षिक प्रतिवेदन बुझाउन पुगेका उनले पहिलो चरणको अनुसन्धानमा अनियमितता देखिएको बताएका हुन् ।
'मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गत साइकल खरिदमा परेको उजुरीका आधारमा गएको असोज १३ गते अख्तियारले मुख्यमन्त्री कार्यालयमा छापा मरेको थियो ।
"साइकल खरिद प्रकरणको पहिलो चरणको अनुसन्धान सकिएको छ । दोस्रो चरणको विस्तृत अनुसन्धान सुरु भएको छ," उनले भने, "त्यसका लागि छुट्टै अनुसन्धान अधिकृत पनि नियुक्ति भएको छ । दुई महिनापछि अनुसन्धान पूरा हुन्छ । अहिलेसम्मको अनुसन्धानले अनियमितता भएको देखिएको छ ।"
अनुसन्धान पूरा भएपछि अनियमितता भएको पाइएमा उक्त कार्यक्रममा संलग्नमाथि मुद्दा दायर हुने उनको भनाइ छ । साइकल खरिदमा संलग्न अधिकारीहरूलाई छुट्टाछुट्टै बोलाएर बयान लिने गरेको उनले जानकारी दिए ।