काठमाडौं । बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको अभाव चरम अवस्थामा पुगेको छ । वाणिज्य बैंकहरूको औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) नै ९० प्रतिशत नाघेको छ । नेपाल बैंकर्स संघले उपलब्ध गराएको कार्तिक २६ गते शुक्रबारसम्मको विवरणअनुसार वाणिज्य बैंकहरूको औसत सीडी रेसियो ९०.१८ प्रतिशत पुगेको छ ।
कार्तिक १७ गते ८९.८७ प्रतिशत रहेको औसत सीडी रेसियो त्यसपछि बैंकिङ प्रणालीबाट १५ अर्ब निक्षेप गायब हुँदा ९० प्रतिशत माथि पुगेको हो । तर, कार्तिक १७ पछि बैंकहरूले थप तीन अर्ब कर्जा विस्तार गरेका छन् ।
बैंकर्स संघबाट प्राप्त तथ्याङ्कअनुसार कार्तिक १७ गते ४२ खर्ब ३८ अर्ब रहेको वाणिज्य बैंकहरूको कुल निक्षेप कार्तिक २६ गते आउँदा घटेर ४२ खर्ब २३ अर्बमा झरेको छ । त्यसभन्दा अघिल्लो साता बैंकिङ प्रणालीबाट ९ अर्ब रुपैयाँ निक्षेप गायब भएको थियो ।
यस्तै, कार्तिक २३ मा वाणिज्य बैंकहरूको कुल कर्जा लगानी ४० अर्ब २५ करोड रहेकोमा २६ गते आउँदा ४० खर्ब २८ अर्ब पुगेको छ ।
कार्तिक लागेपछि मात्रै बैंकिङ प्रणालीबाट ४६ अर्ब निक्षेप गायब भएको छ । ४६ अर्ब मध्ये २७ अर्ब विदेशी मुद्राको निक्षेप रहेको छ भने १८ अर्ब स्वेदेशी मुद्राको निक्षेप रहेको छ । तर, यस अवधिमा कर्जा लगानी भने ३० अर्बले बढेको छ ।
प्रथम त्रैमासमा सातामा नै लगानी गर्ने कर्जा बैंकहरूले पुँजी अभावमा अहिले एक महिनामा पनि लगानी गरेका छैनन् । असोज मसान्तमा ४२ खर्ब ६९ अर्ब रहेको वाणिज्य बैंकहरूको कुल निक्षेप कार्तिक २६ गते घटेर ४२ खर्ब २३ अर्बममा झरेको छ । यस्तै, असोज मसान्तमा ३९ खर्ब ९८ अर्ब रहेको कर्जा लगानी कार्तिक २६ गते बढेर ४० खर्ब २८ अर्ब पुगेको छ ।
प्रणालीमा लगानीयोग्य पुँजीको चरम अभाव भएपनि पछिल्लो केही दिनयता नेपाल राष्ट्र बैंक र अर्थमन्त्रालयबीचको सम्वाद बढ्दै गएको छ । गत शुक्रबार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतलाई बोलाएर राष्ट्र बैंकको उच्च अधिकारीसहित छलफल गरेका अर्थमन्त्रीले आज पुन: राष्ट्र बैंका गभर्नरको ब्रिफिङ सुनेका छन् ।
मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाको तयारीमा राष्ट्र बैंक जुटेको छ । मोद्रिक नीति समीक्षाबाट वर्तमान समयमा कसरी समाधान गर्ने र उत्पादनमुलक क्षेत्रमा कर्जा विस्तार र तयसले आर्थिक वृद्धिमा कसरी सहयोग गर्छ भन्ने विषयमा मन्त्रालयको छलफल केन्द्रित रहेको मन्त्रालयका अधिकारीहरू बताउँछन् ।
नेपाल राष्ट्र बैंकले चालु मौद्रिक नीतिबाट कर्जा–स्रोत परिचालन अनुपात (सीसीडी रेसियो) खारेज गरेर सीडी रेसियो कार्यान्वयनमा ल्याएको थियो । जसले गर्दा पुँजीको पर्याप्त भएपनि निक्षेप सङ्कलन गर्न नसक्ने बैंककहरूले थप कर्जा लगानी गर्न पाएका छैनन् । कतिपय बैंकहरूले पैसा भएर पनि कर्जा लगानी गर्न नपाएको र अहिलेको अवस्था सीडी रेसियोको कारणले आएको भन्दै त्यसमा सहजता अपनाउनुपर्ने बताइरहेका छन् ।