काठमाडौं । बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको अभाव चरम अवस्थामा पुगेको छ । वाणिज्य बैंकहरूको औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) नै ९० प्रतिशत नाघेको छ ।
नेपाल बैंकर्स संघले उपलब्ध गराएको कात्तिक २६ गते शुक्रबारसम्मको विवरणानुसार वाणिज्य बैंकहहरूको औसत सीडी रेसियो ९०.१८ प्रतिशत पुगेको छ । कात्तिक १७ गते ८९.८७ प्रतिशत रहेको औसती सीडी रेसियो त्यसपछि बैंकिङ प्रणालीबाट १५ अर्ब निक्षेप ‘गायब’ हुँदा ९० प्रतिशतमाथि पुगेको हो । तर, कात्तिक १७ पछि बैंकहरूले थप तीन अर्ब कर्जा विस्तार गरेका छन् ।
बैंकर्स संघबाट प्राप्त तथ्यांकानुसार कात्तिक १७ गते ४२ खर्ब ३८ अर्ब रहेको वाणिज्य बैंकहरूको कुल निक्षेप कात्तिक २६ गते आउँदा घटेर ४२ खर्ब २३ अर्बमा झरेको छ । अघिल्लो साता बैंकिङ प्रणालीबाट नौ अर्ब रुपैयाँ निक्षेप ‘गायब’ भएको थियो ।
यस्तै, कात्तिक २३ मा वाणिज्य बैंकहरूको कुल कर्जा लगानी ४० अर्ब २५ करोड रहेकोमा २६ गते आउँदा ४० खर्ब २८ अर्ब पुगेको छ ।
कात्तिक लागेपछि मात्रै बैंकिङ प्रणालीबाट ४६ अर्ब निक्षेप ‘गायब’ भएको छ । ४६ अर्बमध्ये २७ अर्ब विदेशी मुद्राको निक्षेप रहेको छ भने १८ अर्ब स्वदेशी मुद्राको निक्षेप छ । तर, यस अवधिमा कर्जा लगानी भने ३० अर्बले बढेको छ ।
प्रथम त्रैमासमा सातामा नै लगानी गर्ने कर्जा पुँजी अभावमा बैंकहरूले अहिले एक महिनामा पनि लगानी गरेका छैनन् । असोज मसान्तमा ४२ खर्ब ६९ अर्ब रहेको वाणिज्य बैंकहरूको कुल निक्षेप कात्तिक २६ गते घटेर ४२ खर्ब २३ अर्बमा झरेको छ । यस्तै, असोज मसान्तमा ३९ खर्ब ९८ अर्ब रहेको कर्जा लगानी कात्तिक २६ गते बढेर ४० खर्ब २८ अर्ब पुगेको छ ।
प्रणालीमा लगानीयोग्य पुँजीको चरम अभाव भएपछि पछिल्ला केही दिनयता नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयबीचको संवाद बढ्दै गएको छ । गएको शुक्रबार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतलाई बोलाएर राष्ट्र बैंकको उच्च अधिकारीसहित छलफल गरेका अर्थमन्त्री जनार्दन शर्माले आज पुनः राष्ट्र बैंकका गभर्नरको ब्रिफिङ सुनेका छन् ।
मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा राष्ट्र बैंक जुटेको छ । मौद्रिक नीति समीक्षाबाट वर्तमान समस्या कसरी समाधन गर्ने र उत्पादनमूलक क्षेत्रमा कर्जा विस्तार र त्यसले आर्थिक वृद्धिमा कसरी सपोर्ट गर्छ भन्ने विषयमा मन्त्रालयको छलफलकेन्द्रित रहेको मन्त्रालयका अधिकरीहरू बताउँछन् ।
राष्ट्र बैंकले चालु मौद्रिक नीतिबाट कर्जा–स्रोत परिचालन अनुपात (सीसीडी रेसियो) खारेज गरेर सीडी रेसियो कार्यान्वयनमा ल्याएको थियो । जसले गर्दा पुँजी पर्याप्त भए पनि निक्षेप संकलन गर्न नसक्ने बैंकहरूले थप कर्जा लगानी गर्न पाएका छैनन् । कतिपय बैंकरहरूले पैसा भएर पनि कर्जा लगानी गर्न नपाएको र अहिलेको अवस्था सीडी रेसियोको कारणले आएको भन्दै त्यसमा सहजता अपनाउनुपर्ने बताइरहेका छन् ।