बेलारुस । बेलारुसका नेताले देशको पश्चिमी सीमामा बढ्दो आप्रवासी संकटलाई लिएर प्रतिबन्ध लगाएमा युरोपलाई ग्यास आपूर्ति बन्द गर्ने धम्की दिएका छन् । अधिकांश इराक, सिरिया र यमनबाट आएका हजारौँ मानिसहरू ईयू प्रवेश गर्ने आशामा अत्यधिक चिसोको सामना गरिरहेका छन् ।
ईयूका अधिकारीहरूले बेलारुसलाई आफ्नो सुरक्षा कमजोर पार्न संकटलाई उक्साएको आरोप लगाएका छन् । तर, बेलारुसले भने यो आरोपलाई अस्वीकार गर्छ । यसको बदलामा ईयूले प्रतिबन्धहरूको एउटा नयाँ प्याकेजको योजना गरिरहेको छ ।
तर, बेलारुसको लामो समयदेखिका अधिनायकवादी नेता एलेक्जेन्डर लुकाशेन्कोले बिहीबार ईयूले थप प्रतिबन्ध लगाए आफूहरूले जवाफ दिनुपर्ने बताउँदै ग्यास आपूर्ति बन्द गर्ने चेतावनी दिएका हुन् ।
“हामीले युरोपलाई तताइरहेका छौँ । उनीहरू हामीलाई धक्की दिँदैछन्”, बेलारुस हुँदै यूरोप जाने रुसी ग्यास पाइपलाई जनाउँदै उनले भने । “यदि हामीले प्राकृतिक ग्यास आपूर्तिहरू रोकिदिए के हुन्छ ? त्यसकारण, पोल्याण्ड, लिथुआनियन नेतृत्त्व र अरु खाली टाउके मानिसहरूलाई बोल्नुअघि सोच्न सुझाव दिन्छु ।”
उनको भनाइले युरोपमा प्राकृतिक ग्यासको अभावबीच मूल्य वृद्धि हुने चिन्ता बढेको छ । ईयूका इकोनोमी कमिसनर पाओलो गेन्टिलोनीले यसबाट डराउनु नपर्ने बताएका छन् । तर, अक्सफोर्ड इन्स्टिट्युट फर इनर्जी स्जटिजका काट्जा याफिमाभाले लुकाशेन्कोको धम्कीलाई गम्भीर रुपमा लिनुपर्ने बताएका छन् । यदि यूरोपले बेलारुसलाई अप्ठ्यारेमा धकेले उसले धम्की अनुसार काम गर्न सक्ने उनको भनाइ छ । बीबीसी