काठमाडौं । न्युजिल्यान्डले आईसीसी ट्वान्टी–२० विश्वकप सुपर–१२ मा भारतलाई आठ विकेटले हराएको छ ।
टस हारेर ब्याटिङका लागि निम्त्याइएको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ११० रन बनाएको थियो । १११ रनको लक्ष्य न्युजिल्यान्डले १४.३ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको थियो ।
जितसँगै न्युजिल्यान्डले दुई खेलबाट दुई अङ्क जोडेको छ । यससँगै न्युजिल्यान्डले समूहको शीर्ष दुईमा रहेर अन्तिम चारमा पुग्ने सम्भावना बलियो बनाएको छ । लगातार दोस्रो हारसँगै भारत समूह चरणबाटै घर फर्किने सम्भावना बलियो बनेको छ ।
पहिलो खेल हारेपछि आज न्युजिल्यान्ड र भारत दुवैलाई ‘गर या मर’को अवस्था थियो । भारत र न्युजिल्यान्ड दुवै टोली पहिलो खेलमा पाकिस्तानसँग पराजित भएका थिए ।
समूह दुईमा तीन खेलबाट ६ अङ्क जोडेको पाकिस्तान शीर्ष स्थानमा छ । तीन खेलबाट ४ अङ्क जोडेको अफगानिस्तान दोस्रो स्थानमा छ । दुई खेलबाट दुई अङ्क जोडेको न्युजिल्यान्ड तेस्रो स्थानमा छ । नामिबिया चौथो स्थानमा हुँदा भारत पाँचौँ स्थानमा छ । स्कटल्यान्ड पुछारमा छ ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा न्युजिल्यान्डका कप्तान केन विलियम्सनले टस जितेर बलिङ गर्ने निर्णय गरेका थिए । कप्तानको निर्णयलाई न्युजिल्यान्डका बलरले सही सावित गरिदिए । भारतका कुनै पनि ब्याट्सम्यानले ठुलो साझेदारी गर्न सकेनन् ।
स्पिनर इश सोधीले दुई तथा तीव्र गतिका बलर ट्रेन्ट बोल्ट र टिम साउथीले एक-एक विकेट लिएपछि १०.१ ओभरमा भारतले ४८ रन जोड्दा ४ विकेट गुमाइसकेको थियो । सूर्यकुमार यादवको ठाँउमा टोलीमा स्थान बनाएका ओपनर इशान किशन चार रन बनाएर पवेलियन फर्किए । अर्का ओपनर केएल राहुल १८ रनमा आउट हुँदा रोहित शर्मा १४ र कप्तान विराट कोहली ९ रन बनाएर पवेलियन फर्किएका थिए ।
त्यसपछि रिशव पन्त र हार्दिक पाण्डेयाले पाँचौँ विकेटका लागि २२ रनको साझेदारी गरे । पन्तलाई १४.३ ओभरमा एडम मिल्नेले बोल्ड गरिदिए । २३ बनाएका पाण्डेयाले रविन्द्र जडेजासँग छैटौँ विकेटका लागि २४ रनको साझेदारी गरे । पाण्डेयालाई बोल्टले मार्टिन गुप्टिलमार्फत क्याच गरे । लगत्तै बोल्टले शार्दुल ठाकुरलाई पनि गुप्टिलको हातबाट क्याच गरे ।
भारतका अलराउन्डर जडेजाले अविजित २६ रन बनाए । न्युजिल्यान्डका बोल्टले तीन, सोधीले दुई तथा साउथी र मिल्नेले एक-एक विकेट लिए ।
१११ रनको लक्ष्य न्युजिल्यान्डले १४.३ ओभरमा पूरा गर्यो । न्युजिल्यान्डका ओपनर मार्टिन गुप्टिलले २० रन बनाए । डरेल मिचेलले ४९ रन बनाउँदा कप्तान केन विलियम्सन ३३ र डेभोन कोनवे दुई रनमा अविजित रहे । भारतका जसप्रित बुमराहले दुई विकेट लिए ।
भारतले आज सूर्यकुमार यादवको स्थानमा इशान किशन र भुवनेश्वर कुमारको स्थानमा शार्दुल ठाकुरलाई टोलीमा समावेश गरेको थियो । न्युजिल्यान्डले टिम सेइफर्टको स्थानमा एडम मिल्नेलाई समावेश गरेको थियो ।