काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले मंसिर मसान्तभित्र निर्वाचन कार्यतालिका नसर्नेगरी पार्टीको १४औँ महाधिवेशन कार्यतालिका संशोधन गर्ने भएको छ ।
पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा मंगलबार पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, क्रियाशिल सदस्यता विवाद समाधान समिति संयोजक कृष्णप्रसाद सिटौला लगायतका पार्टी पदाधीकारीहरूसँगको बैठकपछि निर्वाचन समितिले निर्वाचन कार्यतालिका पुनः संशोधन गर्ने तयारी गरेको हो ।
समितिका सचिव जगन्नाथ श्रेष्ठले समितिको बैठक सम्भव भए भोलि नभए पर्सिसम्म बसेर तालिका संशोधन गर्ने बताए ।
मंगलबारको बैठकमा महादेवप्रसाद यादवको नेतृत्वमा रहेको समितिले वडा अधिवेशन गर्न बाँकी रहेका १३ जिल्लाका लागि अधिवेशन कार्यतालिका प्रस्तुत गरेको थियो । छठ अघिनै अधिवेशन सक्नेगरी तयार पारिएको तालिकालाई नेताहरूले ७७ जिल्लाकै लागि नयाँ कार्यतालिका बनाएर प्रस्तुत गर्न भनेका थिए ।
“केन्द्रको महाधिवेशन मंसिर मसान्त नसर्ने गरी तालिका बनाएर प्रस्तुत गर्न नेतृत्वले हामीलाई आग्रह गर्यो,” सचिव श्रेष्ठले बाह्रखरीसँग भने ।
निर्वाचन समितिले बैठक बसेर मंसिरमा सक्नेगरी वडा तहबाटै नयाँ अधिवेशन कार्यतालिका तयारीमा जुटेको छ । यसअघि समितिले छठ अघि गर्ने भनिएको १३ जिल्लाको अधिवेशन पनि आजको बैठकले छठ पछाडि सारिदिएको छ ।
निर्वाचन समितिका अर्का सदस्य गोपालकृष्ण घिमिरेले पनि पार्टी सभापति देउवा र वरिष्ठ नेता पौडेलले मंसिरमा केन्द्रीय अधिवेशन सक्नेगरी कार्यतालिका तयार गर्न बैठकमा निर्देशन दिएको बताए । सोही अनुरूप निर्वाचन समितिले तालिका सार्वजनिक गर्ने र अधिवेशनका कामहरू अघि बढ्ने उनले बताए ।
“अब तालिका सार्वजनिक हुन्छ । त्यसै अनुरूप अधिवेशन हामी गर्दै जान्छौँ,” उनले भने, “मंसिरभित्र हामी केन्द्रीय महाधिवेशन गराएरै छाड्छौँ ।”
बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता रामचन्द्र पौडेलले मंसिरको ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन नसर्ने गरी अन्य अधिवेशनको कार्यतालिका मिलाउन निर्वाचन समितिलाई अधिकार दिइएको जानकारी दिए । उनले महाधिवेशनको तयारी गर्न केन्द्रीय कार्यसमिति बैठकको माग गरिएको बताए ।
१४औँ महाधिवेशनअन्तर्गत गएको भदौ १८ गतेदेखि वडा अधिवेशनको थालनी गरिएको थियो । हालसम्म ६४ जिल्लाको वडा तहको अधिवेशन सम्पन्न गरिएको छ । यस्तै, ४६ जिल्लाको पालिका तहसम्मको अधिवेशन सम्पन्न भएको छ ।
पार्टीको दसैँअघि २१ हिमाली जिल्लामा जिल्ला तहसम्मको अधिवेशन सकाउने र बाँकी १३ जिल्लाको वडा अधिवेशन सकाउने निर्णय थियो । तर, अझै तीन जिल्लाको क्रियाशील सदस्यता विवाद सुल्झिएको छैन ।
हालसम्म १२ हिमाली जिल्लामा जिल्ला नेतृत्व चयन भइसकेको छ । कांग्रेसको केन्द्रीय महाधिवेशन आउँदो मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा हुने तय छ ।