खार्तुम । अफ्रिकी मुलुक सुडानमा सैनिक ‘कू’ भएको छ । त्यहाँको अन्तरिम सरकारका प्रधानमन्त्रीसहित थुप्रै सरकारी अधिकारीहरू र सरकार समर्थक दलका नेताहरू गिरफ्तार भएका छन् ।
प्रधानमन्त्री अब्दल्लाह हमदोक र कम्तीमा चारजना मन्त्रीहरूलाई सोमबार बिहानै उनीहरूकै घरमा अज्ञात सैनिकहरूले हिरासतमा लिएको विश्वास गरिएको छ । यद्यपि, सुडानको सेनाले यस बारेमा कुनै टिप्पणी गरेको छैन तर लोकतन्त्र समर्थक समूहका मानिसहरूले सडकमा उत्रिएर विरोध प्रदर्शन गर्न अपिल गरेका छन् ।
दुई वर्षअघि शासक ओमार अल बसिरको बहिर्गमनपछि अन्तरिम/संक्रमणकालीन सरकार गठन भएको थियो । त्यसबेलादेखि नै सेना र नागरिक सरकारबीच टकराब थियो । एक वर्षमा चुनाव गराएर नागरिक शासनको स्थापना गरी संक्रमण कालको अन्त्य गर्ने अन्तरिम सरकारको उद्देश्य थियो । तर, ठूलो संख्यामा रहेका प्रतिद्वन्द्वी राजनीतिक समूहहरूबीच र सेनाभित्रै पनि विभाजन भएपछि सो सम्झौता सधैँ विवादास्पद रह्यो ।
प्रधानमन्त्रीलगायत मन्त्रीहरूको पक्राउपछि कसको हात रहेको भन्ने अझै प्रष्ट नभएको बीबीसीले जनाएको छ । सूचना मन्त्रालयले फेसबुकमा एक विज्ञप्ति जारी गर्दै ‘संयुक्त सैन्य बल’द्वारा पक्राउ गरिएको र उनीहरूलाई अज्ञात स्थानमा राखिएको बताएको छ ।
प्रत्यक्षदर्शीहरूले राजधानी खार्तुममा इन्टरनेट सेवा बन्द भएको बताएका छन् । जबकी सामाजिक सञ्जालका सन्देशहरूमा क्रोधित भीडले सडकमा टायर बालेका तस्बिरहरू देखिन्छ ।
सेना र अर्ध सैनिक बल सहरभरी परिचालित भएका र नागरिक आन्दोलनलाई अवरोध गरिरहेका एक प्रत्यक्षदर्शीले रोयटर्सलाई बताए । खार्तुम विमानस्थल अहिले बन्द गरिएको छ । र, अन्तर्राष्ट्रिय उडानहरू निलम्बन गरिएको छ ।
सुडानको मुख्य लोकतन्त्र समर्थित समूहले आफ्ना समर्थकहरूलाई सैनिक ‘कू’को प्रतिरोध गर्न आह्वान गरेको छ । लोकतन्त्र समर्थक समूहहरूले पुनः शक्ति प्राप्त गर्न सैनिकले गरेको संगठित प्रयास भएको बताएका छन् । गत बिहीबार दशौँ हजार मानिसहरूले राजधानी खार्तुममा अन्तरिम सरकारप्रति ऐक्यवद्धता जनाउँदै प्रदर्शन गरेका थिए ।
सन् १९५६ मा स्वतन्त्र भएयता सुडानले व्यवहारिक राजनीतिक प्रणाली पत्ता लगाउन असमर्थ भएको छ र थुप्रै पटक ‘कू’ र ‘कू’ का प्रयासहरू भएका छन् ।
बीबीसी र रोयटर्सबाट