काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोभिड–१९ महामारी सन् २०२२ सम्म लम्बिन सक्ने चेतावनी दिएको छ ।
गरिब देशहरूले आवश्यक खोप नपाइरहेकाले महामारी थप एक वर्ष लम्बिन सक्ने डब्ल्यूएचओले चेतावनी दिएको हो । डब्ल्यूएचओका वरिष्ठ अधिकारी डा. ब्रुस एल्वर्डले कोभिड संकट सजिलैसँग २०२२ को अन्त्यसम्मै लम्बिने देखिएको बताए ।
अफ्रिकाका पाँच प्रतिशतभन्दा कम जनसंख्याले कोभिड–१९ विरुद्धको खोप पाएका छन् । जबकि अरू अधिकांश महादेशमा ४० प्रतिशतले खोप पाइसकेका छन् । विश्वभर दिइएका खोपमध्ये अफ्रिकाले २.६ प्रतिशत मात्रै पाएको छ । अधिकांश कोभिडविरुद्धको खोप उच्च वा मध्यम आय भएका देशहरूले पाएका छन् ।
उत्पादक कम्पनीहरूले कम आय भएका मुलुकहरूलाई प्राथमिकतामा राख्न सकून् भन्ने उद्देश्यले डा. एल्वर्डले सम्पन्न देशहरूलाई खोपको लागि दिएको ‘अर्डर’ छोड्न अपिल गरे ।
सम्पन्न देशहरूले ठूला औद्योगिक राष्ट्रहरूको समूह जी ७ लगायत बैठकमा कोभिडविरुद्धको खोप सहयोगबारे आफूहरूले जनाएको प्रतिबद्धता सम्बन्धमा समीक्षा गर्न आवश्यक रहेको उनको भनाइ छ ।
“म तपाईंहरूलाई भन्न सक्छु, हामी सही बाटोमा छैनौँ,” उनले भने, “हामीले साँच्चिकै गति बढाउन जरुरी छ, नभए तपाईंहरूलाई थाहा छ कि यो महामारी जानुपर्ने समयभन्दा एक वर्ष ढिलो गरी जानेछ ।” बीबीसीबाट ।