एजेन्सी । अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) ले अन्तर्राष्ट्रिय क्रिकेट परिषद्का अन्य सदस्य राष्ट्रसँग सहयोगका लागि अनुरोध गरेको छ । अर्को महिना हुने आईसीसी बोर्ड बैठकमा आफगनिस्तान क्रिकेटको भविष्यबारे महत्वपूर्ण निर्णय हुने अनुमान गरिएको छ । त्यसै सन्दर्भमा एसीबीले अन्य सदस्य राष्ट्रसँग सहयोगका लागि अनुरोध गरेको हो ।
युद्धग्रस्त राष्ट्र अफगानिस्तानले पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटमा उत्कृष्ट नतिजा निकाल्न सफल भएको छ । पछिल्लो समय अफगानिस्तानले हात पारेको सफलताले सबैलाई आश्चर्यमा पारेको छ । तर, गत अगस्टमा तालिवानले त्यहाँको सत्ता कब्जा गरेपछि अफगानिस्तान क्रिकेटको भविष्य जोखिममा परेको छ ।
अष्ट्रेलियन क्रिकेटले यसअघि नै काबुल सरकारले महिलाहरूलाई खेल्न नदिने हो भने अर्को महिना होबर्टमा हुने भनिएको टेस्ट नखेल्ने घोषणा गरिसकेको छ । विश्व क्रिकेटको सर्वोच्च निकाय आईसीसी अफगानिस्तानबारे निर्णय लिन ‘पर्ख र हेर’को स्थितिमा छ । अफगानिस्तानको आईसीसी पूर्ण सदस्यताले निरन्तरता पाउने कि नपाउने भन्ने विषयमा ट्वान्टी–२० विश्वकपपछि बस्ने आईसीसी बोर्ड बैठकमा छलफल हुने भनिएको छ ।
“देशमा क्रिकेटको विकासमा काम गर्न अफगानिस्तान क्रिकेट बोर्ड प्रतिवद्ध छ । र आशा छ आईसीसीका पूर्ण सदस्यहरूले त्यसका लागि हामीलाई सहयोग गर्नेछन्,” अफगानिस्तान क्रिकेट बोर्डका प्रमुख अजीउल्लाह फाजलीले भने । फाजलीले गत महिना महिला क्रिकेटरले पनि खुलेर खेल्न पाउने विषयमा प्रतिवद्धता जनाएपनि त्यसको भविष्यबारे तालिवान सरकारले निर्देशन कुरेर बसेको बताए ।
तालिवान अधिकारीले अघिल्लो पटकको सरकारले जस्तो आफूहरूले महिला अधिकारमा कडाइ नगर्ने जनाइसकेको छ । अघिल्लो सरकारले महिलालाई शिक्षा र पुरुष अभिभावकविना सार्वजनिक स्थानमा जान निषेध गरेको थियो । क्रिकेट अष्ट्रेलियाका कार्यकारी प्रमुख निक होकलेले होबर्टमा २७ नोभेम्बरमा हुने टेस्ट स्थगित हुनसक्ने संकेत दिएका थिए । उनले तालिवान सरकारले खेलकुदको विषयमा गर्ने निर्णयले टेस्ट खेल्ने नखेल्ने प्रष्ट हुने बताएका छन् ।
अफगानिस्तानका फाजलीले आईसीसी ट्वान्टी–२० विश्वकपका दौरान क्रिकेट अष्ट्रेलियाका पदाधिकारीसँग टेस्ट क्रिकेट खेल्नका लागि ‘साइडलाइन’ वार्ता गर्ने बताएका छन् । उनी भन्छन्, “हामी क्रिकेट अष्ट्रेलियाका व्यवस्थापनसँग निरन्तर सम्पर्कमै छौँ । र छिट्टै नेतृत्वसँग यस विषयमा छलफल गर्नेछौँ । र दुई देशबीचको सम्बन्ध सुधारका लागि पहल गर्नेछौँ ।”
अफगानिस्तान क्रिकेट बोर्डका अध्यक्ष फालजीले देशको क्रिकेट भविष्य अन्योलमा रहेपनि त्यसले विश्वकपमा टोलीको प्रदर्शनमा कुनै असर नपर्ने बताएका छन् । अफगानिस्तान मोहम्मद नाबीको कप्तानीमा यूएई र ओमानमा हुने ट्वान्टी–२० विश्वकप खेल्दैछ ।
“अफगानिस्तानले ट्वान्टी–२० क्रिकेटका लागि राम्रो तयारी गरेको छ । आशा छ नतिजा पनि त्यस्तै राम्रो आउनेछ,” फाजलीले भने ।
अफगानिस्तानले २५ अक्टोबरबाट सुपर १२ को खेल खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।