काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँका लागि सातसय खसीबोका भित्र्याएको छ । अहिलेसम्म ७ सयवटा खसीबोका आइसकेको र अरू आउने क्रममा रहेको कम्पनीले जनाएको छ ।
कम्पनीकी वाग्मती प्रादेशिक कार्यालय प्रमुख ज्ञानु थापाले आज बैठक बसेर मूल्य निर्धारण गरिने जानकारी दिइन् । ‘‘खसीबोकाको मूल्य निर्धारण भएको छैन । आज बस्ने बैठकले मूल्य निर्धारण गरेपछि भोलि बिहान ७ बजेदेखि वितरण थालिनेछ,” उनले भनिन, ‘‘वितरण थालेपछि उपभोक्ताको चाप हेरेर अरू खसीबोका मगाउन सकिने योजना छ ।”
कार्यालयका अनुसार खसीबोका हेटौडा, दाङ, बुटवल, नेपालगञ्ज लगायत तराईका जिल्लाहरूबाट ल्याइएका हुन् ।
तर, सूचनाका कारण आज नै कार्यालयमा उपभोक्ताहरूको भिड लागेको छ । खसी किन्न बिहान ८ बजे गोठाटारदेखि खसी किन्न आएका पर्शुराम सापकोटा दुईदिनदेखि रित्तै घर फर्किनु परेको गुनासो गर्छन् । ‘‘बिहीबार आज शुक्रबारदेखि वितरण गरिने सुनेका थियौँ । त्यसकै आधारमा आज बिहानै आयौँ तर अहिले मूल्य निर्धारण भएको छैन भन्छन् । अब भोलि बिहान आउन पाउने हो कि होइन ?,” उनले भने ।
यस विषयमा थापा भन्छिन, ‘‘हामीले शनिबारदेखि नै वितरण गर्ने भनेका हौँ । शुक्रबारदेखि वितरण गर्ने भनेका छैनौँ । उहाँहरू झुक्किएर आउनुभयो होला । वितरण गर्न हामीले जानिजानी रोकेका हैनौँ । सरकारको विधि प्रक्रिया अनुसार अगाडि बढ्नुपर्ने हुन्छ । अब जतिसक्दो छिट्टो बैठक बसेर मूल्य निर्धारण गर्छौं र भोलि बिहान ७ बजेदेखि नै वितरण गर्छौं ।”
कम्पनीले उपभोक्ताहरूको चाप हेरेर करिब दुई हजार खसीबोका भित्र्याउने लक्ष्य राखेको जनाएको छ । साथै बाहिर बिक्री वितरण भइरहेको मूल्यभन्दा सस्तोमा खसीबोका बिक्री वितरण गरिने विभागिय प्रमुख थापाको भनाइ छ ।
तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी