विराटनगर । प्रदेश नम्बर–१ का मुख्यमन्त्री भीम आचार्यले अहिले राजनीति विभिन्न उतार–चढावबीच अघि बढेको भन्दै आफू संविधानानुसार अगाडि बढ्ने र विश्वासको मत लिने बताएका छन् ।
सरकार अल्पमतमा परे सरकार नटिक्ने भन्दै उनले सबै दल अल्पमतमा रहेको तर्क गरे । उनले भने, “सबै अल्पमतमा छौँ । मैले कुनै निष्कर्ष निकालेको छैन । सबैको सहमतिमा सरकार बनाएर जान पनि सकिन्छ ।”
उनले दसैँपछि ‘ठन्डा दिमागले’ सरकारको विषयमा सोचेर निर्णय लिने स्पष्ट पारे । बुधबार १ नम्बर प्रदेशसभाको नयाँ भवन उद्घाटन कार्यक्रममा बोल्दै आचार्यले केन्द्रमा नेकपा (एमाले) विभाजन भए पनि प्रदेशसभाले थाहा नपाएको जिकिर गरे ।
“जुवारी खेल्नु छैन । सिंगो जीवन राजनीतिको लागि बिताएको छु । लडेरै आएको हुँ । आफैँले बनाएको संविधानविपरीत जान्नँ । सरकारले निष्कर्ष निकालेको छैन,” उनले भने ।
विभिन्न कारणले जटिल बनेको राजनीतिक परिवेशबीच प्रदेशसभा भवन बनेको उनले बताए । “अस्थायी भने पनि भवन बन्नु ठूलो विषय हो । प्रदेश संरचनाको लागि जग्गा खोजी गर्न समिति बनाएर काम गर्दै छौँ,” उनले भने । राजधानी संरचना निर्माण गर्न जे निर्णय भएको छ, सोहीअनुसार हुने पनि उनले बताए ।
विपक्षी दलले भने नयाँ सरकार गठन गर्ने सवालमा मार्गप्रशस्त गर्न मुख्यमन्त्री आचार्यसमक्ष माग गरे । उनीहरूले दसैँअगावै विश्वासको मत लिन मुख्यमन्त्रीलाई आग्रह गरे ।
प्रमुख विपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले नयाँ सरकार गठन प्रक्रियाको लागि मार्गप्रशस्त गर्नुपर्ने बताए । उनले भने, “विधि र पद्धतिअनुसार सरकार गठन हुनुपर्ने र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्छ ।”
नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्र आङ्बोले संविधान र कानुनभन्दा नैतिकता पनि अगाडि हुने भन्दै ‘मुख्यमन्त्री आचार्यले मार्गप्रशस्त गर्नुहोला’ भन्ने अपेक्षा रहेको बताए ।
नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र राईले ठाउँ र बेला कस्तो छ भन्ने कुरा प्रमुख भएको बताउँदै ठूलो परिवर्तनपछि मुलुक संघीय प्रणालीमा गएको उल्लेख गरे । उनले कानुन मिचेर सरकार नचल्ने भन्दै असोज २४ गतेभित्र मार्गप्रशस्त गर्न आग्रह गरे ।
उपसभामुख सरस्वती पोखरेलले नयाँ प्रदेशसभा भवनमा अब संसद् अधिवेशन सञ्चालन गर्न सहज हुने बताइन् ।