काठमाडौं । नर्भिक इन्टरनेसनल हस्पिटलको निःशुल्क ओपीडी अभियानअन्तर्गत आउने शनिबार दुई फरक विज्ञहरूको टिमले निःशुल्क सेवा दिने भएका छन् । नर्भिक अस्पतालमा रहेको युरोलोजिस्टको टिम र श्वासप्रश्वास विशेषज्ञको टिमले निःशुल्क ओपीडी सञ्चालन गर्ने भएको हो ।
युरोलोजिस्टको पूरा टिम नै सहभागी भई निःशुल्क ओपीडी सेवा सञ्चालन गरिने अस्पतालले जनाएको छ । उक्त टिमले बिहान १० बजे मध्याह्न १२ बजेसम्म मूत्र तथा मूत्रनलीसँग सम्बन्धित समस्या भएकाहरूको निःशुल्क जाँच गर्नेछ ।
यस्तै, बिहान १० देखि १२ बजेकै समयमा अस्पतालका छाती तथा श्वासप्रश्वास रोग विशेषज्ञ डा. अच्युतभक्त आचार्यले निःशुल्क ओपीडी सञ्चालन गर्ने अस्पतालले जनाएको छ । छाती तथा श्वासप्रश्वाससँग सम्बन्धित समस्या भएकाले डा. आचार्यको ओपीडी क्लिनिकमा सहभागी भएर लाभ लिन सक्नेछन् ।