जनकपुरधाम । धनुषाको सबैला नगरपालिकामा सूचना माग गर्दै ११औँ दिन रिले अनशन जारी छ । पालिकासँग नौबुँदे सूचना माग गर्दै संयुक्त संघर्ष समितिका पदाधिकारीहरू अनशनमा बसेका हुन् ।
यही असोज ४ गतेदेखि पालिकाको प्रवेशद्वारमै अनशन बसे पनि नगरप्रमुख विजयशंकर साहले वार्ताको वातावरण बनाउन सकेका छैनन् । उल्टै अनशनकारी बसेको टेन्ट (पन्डाल) भत्काउन आएको समितिका संयोजक सुरेशकुमार यादवले आरोप लगाए ।
मेयर साह, वडा नम्बर–२ का वडाध्यक्ष पारस साह र वडा नम्बर–९ का वडाध्यक्ष सुशील राईले पण्डालभित्र आएर अनशनकारीमाथि आक्रमणको प्रयास गरेको उनको भनाइ छ । स्थानीयले उनीहरूलाई लखेटेको उनले बताए ।
मेयर साहसँग यसबारेमा बुझ्न खोज्दा फोन सम्पर्क हुन सकेन । तर, उनीनिकट स्रोतका अनुसार अनशनकारीहरूले बजाएको डिजे बन्द गराउन मेयरसहित वडाध्यक्षहरू पुगेका थिए ।
स्रोतका अनुसार कार्यालयको तल अनशनकारीहरूले टेन्ट लगाएर ‘लुट्न सके लुट कान्छा, नेपालमै छ छुट’ बोलको गीत बजाएका थिए । कार्यालयमा कार्यरत कर्मचारीलाई असर परेपछि डिजे बन्द गर्न खोज्दा चर्काचर्की भएको बताइन्छ । तर, संयोजक यादवले कुनै प्रकारको डिजे नबजाएको दाबी गरे ।
समितिले पालिकासँग गएको जेठ २३ गते उजुरी दर्ता गराएर नौवटा शीर्षकमा सूचना मागेको थियो । सूचना उपलब्ध नगराएपछि उनीहरू रिले अनशनमा बसेका हुन् ।
समितिले हुलाकमार्फत एक महिनाअघि सूचना माग गर्दै उजुरी दर्ता गराएको थियो । उजुरीमा चालु आर्थिक वर्षको बजेट र योजनाको दास्तावेज, संसदीय विकास कोषबाट काम भएको योजनाको स्पष्ट विवरण, क्वारेन्टाइन सञ्चालन र रोकथामको लागि खर्च भएको सम्पूर्ण आयव्ययको सूचना माग गरिएको छ ।
यस्तै, कोरोना महामारीमा वितरण भएको राहत प्राप्तकर्ताको नामावली, संघ र प्रदेश सरकारले पठाएको सःर्सत अनुदानको स्पष्ट विवरण र नगरको पोखरीहरूको आम्दानीको विवरणलगायत माग गरिएको छ ।