
जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले अख्तियारले मुख्यमन्त्रीको कार्यायमा छापा हानेकोप्रति आपत्ति जनाएका छन् । बुधबार ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानमा अनियमितता भएको आशंकामा अख्तिायार मुख्यमन्त्रीको कार्यालय छापा हानेर कागजात नियन्त्रणमो लिएको थियो ।
लगत्तै पत्रकार सम्मेलन गरेर मुख्यमन्त्री राउतले प्रदेश सरकारको सर्वोच्च निकायमा अख्यितारले छापा मारेर गलत गरेको बताएका हुन् । केही तत्वहरूले प्रदेश सरकारलाई बदनाम गर्न लागेको र अख्तियार आज त्यसकै मतियार बनेको उनको दाबी छ ।
“प्रदेश सरकारको सर्वोच्च निकायमा अख्तियार जुन किसिमले प्रस्तुत भयो, त्यो गलत छ । छापा मार्ने उसको अधिकार हो, गर्न सक्छ । तर, तरिका गलत भयो । "षड्यन्त्रपूर्वक ढङ्गले संस्था र मुख्यमन्त्रीलाई बदनाम गर्नका लागि गरिएको हो,” उनले भने ।
उनले आफू सुशासन कायम गर्न लागिपरेको तर अख्तियार गलत तरिकाले प्रस्तुत भएको जिकिर गरे । “म आफैँ सुशासन कायम गर्न लागि परेको छु । मसँग वा कर्मचारीसँग फाइल मागेको भए सहजै उपलब्ध गराउथ्यौँ,” उनले भने, “तर, अख्तियारको प्रस्तुति गलत भयो । कुनै सरकार प्रमुखसँग भेट्न जाँदा विधि प्रक्रियाअनुसार जानुपर्छ ।”

आफूले केन्द्रीय कार्यालयमा कुरा गरेपछि अख्तियार कमजोरी स्वीकार गरेको पनि उनले बताए ।
उनले अख्तियारको प्रस्तुतिले संस्था र संघीयतामाथि प्रहार भएको टिप्पणी गरे । उनले प्रदेश सरकारको कार्यालयमा आफूले भनेअनुसार अख्तियार प्रस्तुत हुनुपर्नेतर्फ संकते गरे ।
मुख्यमन्त्री राउतले साइकल वितरणमा कुनै अनियमितता नभएको पनि दाबी गरे । सार्वजनिक खरिद ऐन अनुसार नै काम भएको उनको भनाइ छ ।