काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता खगराज अधिकारीले लगातार संसद्मा विरोध हुँदा पनि सरकार तमासा हेरेर बसेको आरोप लगाएका छन । सोमबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै अधिकारीले आफूलाई लोकतन्त्रवादी भन्ने कांग्रेस नेतृत्वको सरकारले संसद्मा देखिएको गतिरोध अन्त्य गर्न कुनै भूमिका निर्वाह नगरेको र तमाशा हेरेर बसेको आरोप लगाए ।
उनले सरकारले अहिले गैर जिम्मेवार प्रवृति देखाएको तर्क गरे । अधिकारीले अकस्मात संसद् बन्द गरी दलीय व्यवस्थालाई समाप्त गर्ने सत्ता गठबन्धनको षडयन्त्रको जारी रूप संसद्मा देखिएको धारणा राखे । त्यस्तै, उनले सरकार आफ्नो नीति र सिद्धान्तमा विश्वस्त नरहेको आरोप लगाए ।
अधिकारीले बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमा कालोधनलाई सेतो बनाउने प्रावधान राखिएको भन्दै यसले अन्तराष्ट्रिय कानुन आकर्षित हुने र नेपाल नै कालोसूचीमा पर्ने खतरा रहेको बताए ।