काठमाडौं । पाँच जिल्लाको क्रियाशील सदस्यता सूची सार्वजनिक गरेको नेपाली कांग्रेस निर्वाचन समितिले डोल्पाका लागि मात्र निर्वाचन अधिकृत तोकेको छ । समितिले अरू चार जिल्लाका लागि निर्वाचन अधिकृत तोक्ने काम तत्कालका लागि स्थगन गरेको छ ।
केन्द्रीय निर्वाचन समिति सचिव जगन्नाथ श्रेष्ठका अनुसार डोल्पाका लागि चन्द्रप्रसाद लुइँटेल अधिकृतको रूपमा चयन भएका छन् । अधिकृत लुइँटेल अधिवेशनका लागि आवश्यक सामाग्री केन्द्रीय निर्वाचन समितिबाट बुझेर जिल्ला प्रस्थान गरेका छन् ।
अरू चार जिल्लामा भने तत्काल निर्वाचन अधिकृत नतोकिने सचिव श्रेष्ठले बताए । आठ जिल्लाको क्रियाशील सूची प्राप्त भएपछि मात्र सबै जिल्ला निर्वाचन अधिकृत तोक्ने निर्वाचन समितिले तयारी गरेको छ ।
“अब एकसाथ बाँकी रहेका जिल्लाहरूको निर्वाचन अधिकृत तोक्ने तयारी हाम्रो छ, त्यसका लागि सूची पर्खेर बसेका छौँ,” श्रेष्ठले भने ।
क्रियाशील विवाद समाधान समिति कार्यदलका सदस्य योगेन्द्र चौधरीका अनुसार आज कैलालीको सदस्यता सार्वजनिक गर्ने तयारी भइरहेको छ । आजै २ नम्बर प्रदेशका केही जिल्लाहरूको पनि सूची सार्वजनिक गर्ने तयारी भइरहेको छ । “आज एक–दुई जिल्लाको सार्वजनिक होला, भोलिसम्म सार्वजनिक गरिसक्ने हाम्रो तयारी छ,” चौधरीले भने ।
यसअघि, शनिबार पार्टीले पाँच जिल्लाको क्रियाशील सदस्यता सूची सार्वजनिक गरेको थियो । बाँके, डोल्पा, सुर्खेत, महोत्तरी र सिरहाको क्रियाशील सदस्यताको अन्तिम नामावली सार्वजनिक गरिएको हो ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार ६९ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक भइसकेको छ । समितिले बाँकी आठ जिल्लाको क्रियाशील सदस्यता टुंग्याउने काम भइरहेको जनाएको छ ।