काटमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठकले अध्यक्ष माधवकुमार नेपालले पेस गरेको राजनीतिक प्रतिवेदनलाई सुझावसहित पारित गरेको छ । बैठकको दोस्रो दिन बुधबार प्रतिवेदनमा समूहगत छलफलबाट आएको निष्कर्ष प्रस्तुत भएको र सुझावसहित अध्यक्षको प्रतिवेदन पारित गरिएको नेता जगन्नाथ खतिवडाले जानकारी दिए ।
अध्यक्षको प्रतिवेदन पारित भएसँगै बैठक अन्य एजेन्डामा प्रवेश गरेको उनले बताए । बैठकमा अध्यक्ष नेपालले समूहगत छलफलमा उठेको जवाफ दिएका थिए ।
बैठकले पार्टीको मुखपत्र ‘समाजवाद’ प्रकाशित गर्ने र नियमित बुलेटिन प्रकाशित गर्ने निर्णय गरेको छ । त्यस्तै चुनाव चिह्नका बारेमा धेरै सुझाव आएको र छिटै निष्कर्षमा पुगिने खतिवडाले बताए । त्यस्तै बिहीबार बस्ने बैठकले राष्ट्रिय सम्मेलनसहितको पार्टीको तीन महिनाले कार्ययोजना टुङ्गो लगाउने र बिहीबार नै पार्टीको महासचिव लगायत स्थायी कमिटी र पोलिटब्यूरोको चयन गरिने खतिवडाले जानकारी दिए ।
मंगलबारदेखि जारी समाजवादीको केन्द्रीय कमिटी बैठक बिहीबार सम्पन्न गर्ने तयारी गरिएको छ ।