site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
छापामार

दिन र रातको दोसाँध, गोधूलि साँझ । सरकारी निवास फर्कँदै थिएँ म । एक हुल मान्छेले घेरे चारैतिरबाट । एउटा गाडी बत्तिएर आयो । निल्यो मलाई । क्रमशः उनीहरूलाई समेत निल्यो । बत्तियो फेरि ।

“तिमीहरू को हौ ? मलाई कहाँ लान लागेका ?”
“तपाईं हाम्रो कब्जामा हुनुहुन्छ ।” एउटाले बोल्यो ।

लगत्तै, कमिलाले टोकेजस्तो केही भयो मलाई, चिसिक्क । आँखाहरू लोलाउन थाले । चेतनाशून्य हुँदै गएँ म, क्रमशः । होस खुल्दा सेता गाउनधारीहरूद्वारा पुरिएको थिएँ ।

Dabur Nepal

मेरा हातखुट्टा, नाडी, छाती तथा टाउकाको चारैतिर इलेक्ट्रोड जडान गरिएका थिए । इलेक्ट्रोडहरू फुस्काउन खोज्छुम । विडम्बना, हातखुट्टा बेडमा बाँधिएका रहेछन् ।

“मलाई कहाँ ल्याएका ? अनि के गर्न लागेका ?” मभित्रका आक्रोश उम्लिए ।
“तपाईं हाम्रो प्रयोगशालामा हुनुहुन्छ । तपाईंमाथि प्रयोग हुँदै छ ।” सेता गाउनधारीमध्येको एउटा बोल्यो । जसका नजरहरू भित्तामा झुन्ड्याइएको मोनिटरमा दौडँदै गरेका इन्डिकेटरहरूमा टाँसिएकै थिए ।
विद्युतीय झट्का दिइयो मलाई । 
०००
स्मृतिका पर्दा उघारिए । घटना, परिघटनाहरू एकपछि अर्को गर्दै तरंगिए स्नायुहरूमा ।

‘मानिस–मानिसबीच विद्यमान असमानताको खाडल, झन्–झन् गहिरिँदो । अभावग्रस्त जीवन । हर पाइलामा लाग्ने विभेदको ठेस । दिनभरि हाडछाला घोटेर पनि बिहान–बेलुकी खान–लाउनको धौ धौ । आधा पेट खाएर साहुको जमिन जोत्नु, उसैकोमा पर्म गर्नु, भिखारीका रूपमा श्रमको अपुरो ज्याला थाप्नु । हाम्रो परिवारको नियति ।’

‘बाको सारा जीवन अभावमैँ बित्यो,’ साहुको जमिन जोत्दा–जोत्दै ढलेका उसका बा, जो पछि कहिल्यै उठेनन्, सम्झनामा आए ।

एउटा सिटामोलको अभावमा मृत्युले निलिसकेकी उसकी आमाले चिमोटिन् स्मृतिहरूमा, फेरि ।

०००
“यो विभेद कहिलेसम्म सहेर बस्नु हुन्छ ? खै मान्छेले मान्छे भएर बाँच्न पाउने अधिकार ? खै स्वास्थ्य, शिक्षा, रोजगारीमा सबैको समान पहुँच ? खै राष्ट्रिय ढुकुटीमा सबैको समान हक ? यो लडाइँ तपाईं–हामीजस्तै शोषित उत्पीडित वर्गको शासन प्रणाली स्थापनाकै लागि हो । आउनुहोस्, हाम्रो अभियानलाई साथ दिनुहोस् ।” आशाका किरण पोख्दै आयो एउटा राजनीतिक समूह मेरो दैलोमा ।

चरम अभावसँगै विभेदको भुंग्रोमा पिल्सिएको मैले उनीहरूका आश्वासनभित्र आफू एवम् आफ्ना भावी सन्ततिका सुन्दर भविष्य खोज्न थालेँ । देख्न थालेँ । जनयुद्घलाई समाज रूपान्तरणको एउटा अवसर ठानेँ । न्याय, समानता अनि परिवर्तनका निम्ति जीवनको आहुति दिन तयार भएँ । जीवनमोह बिर्सिएँ । समाजमा विद्यमान सबै खाले विभेदका घेरा तोड्ने दृढताका साथ घर छोडेँ मैँले । पूर्णकालीन छापामार बनेँ ।
०००
जनताको शासन प्रणाली स्थापनाका खातिर क्रान्तिमा होमिएको मेरो शब्दकोशमा पराजय र आत्मसमर्पण थिएन । जीवनलाई क्रान्तिको वेदीमा चढाएको म हर युद्घमा या त विजयी हुन्छु या त वीरगति प्राप्त गर्छु भन्ने दृढताका साथ लडिरहेँ । युद्घ मोर्चाको नेतृत्व गर्न पाउनुलाई सधैँ अवसर ठानेँ, अग्रपंक्तिमा उभिएँ ।

“मेरो लागि सधैँं एउटा गोली बचाएर राख्नु । क्रान्तिको दौरानमा कहीँ कतै मबाट धोखा हुन गयो भने त्यो गोली मेरो छातीमा दागिदिनु ।” क्रान्तिप्रतिको आफ्नो प्रतिबद्वता दोहोर्याउँथेँ म, सहकर्मी योद्घाहरूमाझ ।

मेरो नेतृत्वको समूह फायरिङ गर्दै ब्यारेकतिर गइरहेथ्यो । जवाफी फायरिङसँगै ब्यारेकबाट बर्सिएका बम विस्फोटनका कारण घाइते भएका साथीहरू ऐया–आत्थु गरिरहेथे । करुण क्रन्दन छोडिरहेथे । सहकर्मीहरूका क्षतविक्षत लासका बिस्कुन टेकेर अगाडि बढिरहेँ म ।

देखेँ, एउटा घाइतेले आफै मृत्युवरण गर्यो । पलपल मर्नुभन्दा एकैपटक मृत्युवरण उचित ठान्यो, सायद । आप्mनै छाती चिसो लाग्यो मलाई । छाम्छु, छातीबाट रगत बगिरहेको । घेराबन्दीमा परिसकेको रहेछु म । मेरा आँखामा पट्टी बाँधियो । हिँडाइएँ निरन्तर ।

आँखाका पट्टी फुकाइँदा प्रहरी ब्यारेकमा थिएँ म । शरीरका कपडाहरू उतारिए । नांगो शरीरमाथि सिस्नपानीसँगै लाठी, बुट बर्सिन थाले । 
‘यातनाको चरम पराकाष्टा यस्तै हुन्छ ?’ कल्पिएँ म ।
“तेरो आफन्त को छ ? बोला ।” एसपी जंगिए । 
“कोही छैन ।” परलोक भइसकेका बा–आमासँगै जनयुद्घमा सहादत प्राप्त भाइ आयो, सम्झनामा ।

“यो युवा उमेर, कतिन्जेल जेलको छिँडीमा बिताउँछस् ? यो कागजमा हस्ताक्षर गर् । हामी तँलाई रिहा गरिदिन्छौँ ।” आत्मसमर्पण गर्ने सल्लाह दिए एसपीले एक दिन ।

“कतिलाई आत्मसमर्पण गराउनुहुन्छ एसपी साब ? अन्याय, अत्याचार र विभेद्का विरुद्व उम्लिएको यो ज्वालामुखीलाई कतिन्जेल दबाउन खोज्नु हुन्छ ?” परिवर्तनको महान् उद्देश्य बोकेर युद्घमा होमिएको म किन गल्थेँ र ?

यातनाका शृंखला दोहोरिन्थे फेरि । कहिले लोभलालच देखाउँथे । आप्mनो सिद्धान्तबाट कदापि स्खलित भइनँ म ! मातृभूमिप्रति गद्दारी गरिनँ ।
०००
“तपाईंलाई एसपी साबले बोलाउनुभा’छ ।”खबर ल्याए हवल्दार साबले ।
‘फेरि के जाल बुन्न लागिरहेछ यो एसपी ?’ तर्कना उठे मनमा ।
एसपीको कार्यकक्षतिर बढेँ म । उनी मलाई नै कुरिरहेका थिए ।
“बस्नुस् ।”
आश्चर्य ! पहिलोपटक तपाईं शब्दले सम्बोधन गर्दै थिए उनी मलाई । 
“आज हामी तपाईंलाई रिहा गर्दै छौँ ।” बोले उनी ।
मेरा नजरहरू अविश्वासपूर्वक उनीतर्फ हुत्तिए ।

“हो, तपाईंका कमान्डर र राज्य पक्षबीच शान्ति सम्झौता भएको छ । आस्थाका बन्दीहरूलाई रिहा गर्नु भन्ने आदेशबमोजिम तपाईंको रिहाइ हुँदै छ आज । यहाँ रहँदा–बस्दाका समयलाई व्यक्तिगत रूपमा नबुझिदिनुहोला । मैले पनि आप्mनो कर्तव्य पालना गरेको हुँ । म व्यक्तिगत रूपमा तपाईंको उज्ज्वल भविष्यको कामना गर्दछु ।” बिदाइका हात तेर्स्याए उनले ।
गेटमा सहयोद्वा कमरेडहरू पर्खँदै रहेछन् । अबिरजात्रासहित नगर परिक्रमा गराए मलाई ।
०००
“पार्टीको तर्फबाट कमरेड विद्रोहलाई सरकारमा पठाउने निर्णय गरिएको छ ।” केन्द्रीय कमिटीको निर्णय आयो एक दिन ।
मन्त्री पदको शपथसँगै सिंहदबार छिरेँ म । भेटघाटका लागि मान्छेको ओइरो लाग्ने । स्वार्थी समूहहरू त्यत्तिकै सक्रिय ! विभिन्न प्रलोभन लिएर आउने त्यतिकै !

“मृत्यु स्वीकार्य छ मलाई, तर आफ्नै आत्माको लिलामी स्वीकार्य छैन ।” संघर्षका कठिनभन्दा कठिन घडीहरूमा समेत विचलित नभएको, व्यक्तिगत लोभलालच र स्वार्थभन्दा धेरै उँचो यो स्वाभिमान किन स्खलित हुन्थ्यो र ?

सरकारी निवास फर्कँदै थिएँ म । एक हुल मानिसद्वारा अपहरित भएँ । स्मृतिको अन्तिमपृष्ठ पल्टियो ।
०००
सेता गाउनधारीका नजरहरू भित्तामा टाँगिएको स्क्रिनमैँ स्थिर थिए । मभित्र घटित हर गतिविधि सूक्ष्म रूपमा नियालिरहेका थिए ।
विद्युत्को दोस्रो झट्का दिइयो मलाई । 
आँखाअगाडिका दृश्यहरू क्रमशः धमिला हुँदै गए ।

‘खै मभित्रका स्मृतिहरू ? रङहरू ? मस्तिष्क कस्तो खालीखाली लागेको ? रित्तो ! न्युरोनहरूको गुजुल्टो मात्र बाँकी ? यो कस्तो स्मृतिविहीनता, रङविहीनता ? खै मेरो अतीत ? खै मेरो पहिचान ? म को हुँ ?’ आफ्नै वर्तमानले नराम्ररी चिमोट्यो मलाई ।

भित्तामा टाँगिएको स्क्रिनमा दौडँदै गरेका इन्डिकेटरहरूमार्फत मभित्रका हर परिवर्तन नियालिरहेका सेता गाउनधारीहरूका आँखा एकाएक चम्किला देखिए । एकार्कालाई हेरे उनीहरूले अनि मुस्कुराए । विजयका भाव दौडिए उनीहरूका आँखाहरूमा, अनुहारमा ।

०००
विद्युत्को हल्का झट्का दिइयो मलाई, तेस्रोपटक । 
न्युरोनहरू क्रमशः सक्रिय भए मस्तिष्कभित्र फेरि । न्युरोनहरूमा केही इञ्जेक्ट गरिएजस्तो अनुभूत ग¥यो मस्तिष्कले । म यो देशको मन्त्री हुँ भन्ने यथार्थ सूचना सञ्चार भयो मभित्र ।
एउटा सामूहिक तस्बरि देखाइयो मलाई ।

“यो तपाईंको परिवार हो ।” सेता वस्त्रधारीमध्येको एउटा बोल्यो । देखेँ, तस्बिरको माझमा म आफै पनि रहेछु ।
इलेक्ट्रोडहरू निकालिए । 
“ल अब उठ्नुस् । बेडबाट ओर्लनुस् ।” एउटा बोल्यो । 
“उठ्नुस् त... बस्नुस त ।” अर्को बोल्यो ।
उनीहरूको आदेश–निर्देश पालना गर्दै गएँ मैँले, आज्ञाकारी बालकजस्तै । 
“अब तपार्इं घर जान सक्नुहुन्छ ।”
केवल दुईवटा स्मृति लिएर फर्किएँ म, प्रयोगशालाबाट !
०००
आफ्नै कार्यकक्षमा छु म आज । भेटघाटका लागि आउनेहरूको ओइरो थामिनसक्नु छ ।
फाइलहरू पेस हुँदै छन् । सदर पनि हुँदै छन् । हरेक काम द्रुत गतिमा अगाडि बढिरहेछन् ।

“मन्त्रीज्यू, आफैले रोकेको यो फाइल आज कसरी सदर गर्नुभयो ? यो फाइल कुनै हालतमा सदर हुँदैन भन्नुहुन्थ्यो पहिला त !” केही विभागीय प्रमुखहरूको खासखुस ठोक्कियो मेरो कानमा ।

“मन्त्रीज्यूलाई कसले गुमराहमा पारिरहेछ ? हुनु नहुनु काम भइरहेछन् । मन्त्रालयमा ठूलै अनिष्ट निम्तिन लागेजस्तो छ ।” विभागीय प्रमुखहरूको स्वर काँपेको थियो ।
‘... ...?’ सम्झन खोज्छु, कुनै पनि फाइलका बारेमा त्यस्तो टिप्पणी गरेको याद छैन मलाई । कामहरू नियमसंगत रूपमैँ अगाडि बढिरहेजस्तो लाग्छ ।  
०००
“अबको भेटघाट एउटा राजनीतिक समूहसँग छ ।” पीएले सुनाए ।

केही मानिसहरू कार्यकक्षभित्र छिरे ।
“गाउँमा अभाव, गरिबी उस्तै छ । विभेद, बेरोजगारी उस्तै छ । यत्रो राजनीतिक परिवर्तनपछि पनि धनी र गरिबबीचको खाडल पुरिनुको सट्टा किन झन्–झन् गहिरिँदै गइरहेको ? दिनभरि हाडछाला घोटेर पनि बिहान–बेलुका के खाऊँ, के लाऊँ भन्नेहरूको जीवनस्तरमा खै तात्विक अन्तर आएको ?”

“खै सेवा–सुविधा अनि न्यायको समान वितरण ? खै आर्थिक–सामाजिक समानता ? खै जातीय, वर्गीय समानता ? के हजारौँको बलिदानी एकाध नेताको जीवन समृद्व पार्नकै लागि मात्र थियो ?”

“नेतृत्व वर्ग किन यति विलासी बन्दै गइरहेको ? जोमाथि सबैभन्दा बढी आशा, भरोसा थियो, उसैको आचरण किन यति भ्रष्ट बन्दै गइरहेको ? खै राजनीतिक शुद्घीकरण ? लाखौँलाख मानिसहरूको त्याग र बलिदानलाई कुल्चेर तिमीहरू यो देश अनि जनतामाथि कहिलेसम्म गद्दारी गरिरहन्छौ ?”

“के तिमीहरूले समाजमा विद्यमान अशिक्षा, गरिबी, बेरोजगारीलाई आफ्ना स्वार्थपूर्तिका माध्यम मात्र बनाएका थियौ ? जात, जाति, वर्ग, समुदायलाई मोहरा मात्र बनाएका थियौ ? राजनीतिको आवरणमा निमुखा जनताको रगत्–पसिना कहिलेसम्म चुसिरहन्छौ ?”

“युद्घकालका तिम्रै सहयात्री हामीलाई दैनिक गुजारा चलाउनै मुस्किल छ । सहरमा रातारात तिमीहरूका महल ठडिए । हामीले आफ्नो सारा जीवन स्वतन्त्रताका खातिर आहुती दियौँ । हाम्रा सन्ततिले दुई छाक खान र आङ छोप्ने एक सरोको लागि पुनः साहुकै जमिन जोत्नुपर्ने ? उसैकोमा पर्म गर्नुपर्ने ? भिखारीका रूपमा श्रमको अपुरो ज्याला थाप्नुपर्ने ?”

“खै क्रान्तिको प्रतिफल आम नागरिकसम्म पुगेको ?”
“शरीरमा रोपिएका बम, गोलीका छर्रा बोकेर हामी कहिलेसम्म पीडादायी जीवन बाँचिरहने ? हाम्रो औषधि उपचार गर्नु राज्यको दायित्व हैन ?”

“गणतन्त्रको बुई चढेर तिमीहरू काठमाडौ छिर्यौ, हामी गाऊँ–ठाउँमै छोडियौँ । हाम्रो जीवनचर्या, जीवनपद्धति पुरानै लयमा फर्कन विवश भयो ।”

“हामी अन्तिम चेतावनी दिँदै छौँ, अझै पनि सुध्रेनौ भने तिमीहरूको अस्तित्व सकिन्छ ।” आरोपमाथि आरोप थोपरेर हिँडे उनीहरू !
०००
“उनीहरूले भनेजस्तै के म कुनै समयमा छापामार नै थिएँ त ? उनीहरूको सहयात्री थिएँ त ?” सम्झने हरसम्भव प्रयत्न गर्छु । अहँ ! आफू छापामार भएको कुनै आधार भेट्न सक्दिनँ म । लाग्छ, उनीहरू मलाई मिथ्या आरोप मात्र लगाइरहेका छन् । उनीहरूसँग कहीँ कतै सहयात्रा गरेको कुनै सम्झना छैन मलाई ।

सत्ते धरोधर्म, म आत्मा साक्षी राखी भगवत् गीताको कसम खाएर भन्न सक्छु, मैले उनीहरूलाई चिनेकै छैन । 

(लेखकको अनुरोधमा छद्म नाम प्रयोग गरिएको ।)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ १९, २०७८  ०६:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro