काठमाडौं । संयुक्त राष्ट्रसंघले अफगानिस्तानले महिनादिन भित्रै खाद्य संकटको सामना गर्न सक्ने चेतावनी दिएको छ ।
तालिबानले नयाँ सरकार गठन गर्ने तयारी गरिरहेको बेला राष्ट्रसंघले त्यहाँका तीनमध्ये एकजना भोकै बस्नुपर्ने स्थिति आउन सक्ने चेतावनी दिएको हो ।
अफगानिस्तानमा संयुक्त राष्ट्रसंघका मानवीय संयोजक रामिज अलाक्बारोभले मानवीय दृष्टिकोणबाट अफगानिस्तानको अवस्था ज्यादै चिन्ताजनक हुँदै गइरहेको बताए । आधाभन्दा धेरै बालबालिका पहिलेदेखि नै खानाको लागि संघर्ष गरिरहेका छन् ।
अफगानिस्तानमा हालैका दिनहरूमा खाद्यान्नको मूल्य ५० प्रतिशत र पेट्रोलको मूल्य ७५ प्रतिशतसम्म बढेको अलजजिराले जनाएको छ ।
अधिकांश अन्तर्राष्ट्रिय सहायताहरू बन्द भएपछि सरकारी सेवाहरू सञ्चालन सञ्चालन हुन सक्दैनन् र कर्मचारीहरू आफ्नो तलब पाउन असमर्थ हुने अलाक्बारोभले औँल्याए ।
सत्ताकब्जा गरेको दुई साता बितिसक्दा पनि तालिबानले अझै नयाँ सरकार गठन गरेको छैन । तालिबानको अन्तर्राष्ट्रिय मान्यता प्रश्नको घेरामा छ । यसले विदेशी सहयोगलाई पुनः बहाली गर्न रोकिरहेको छ ।