site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अफगानिस्तान युद्ध अन्त्यपछि अमेरिकी राष्ट्रपतिले के–के भने ?
SkywellSkywell

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले ‘हतार गरेको’ भन्ने स्वदेश तथा विदेशी आलोचनाका बीच अगस्त ३१ मा अफगानिस्तानबाट सम्पूर्ण सेना फिर्ता गर्ने आफ्नो कदमको बचाउ गरेका छन् । अफगानिस्तानबाट सेना फिर्ता भएको भोलिपल्ट राष्ट्रको नाममा सम्बोधन गर्दै राष्ट्रपति बाइडनले आफू र आफ्नो प्रशासनले कसरी सेना फिर्ती र उद्धार कार्य सम्हाले भनी बताए ।

“अमेरिकी इतिहासकै सबैभन्दा लामो युद्ध समाप्त गरेको” भनी सम्बोधन सुरु गरेका बाइडनले यो निर्णय “एकदमै सही भएको” दाबी गर्दै टुंग्याए ।

बाइडनले के–के भने ?

Dabur Nepal
NIC Asia

युद्ध अन्त्य र उद्धारको सम्बन्धमा

“अमेरिकी इतिहासकै सबैभन्दा लामो युद्ध, संयुक्त राज्यले अफगानिस्तानमा २० वर्षको यद्ध समाप्त गर्‍यो । हामीले एक लाख २० हजारभन्दा धेरै मानिसलाई सुरक्षित रूपमा उद्धार गरी इतिहासकै सबैभन्दा ठूलो हवाई उद्धार सम्पन्न गर्‍यौँ,” उनले भने “यो संख्या धेरै विज्ञहरूले सोचेको भन्दा दोब्बरभन्दा बढी हो । पूरै इतिहासमा कुनै राष्ट्रले कहिल्यै यस्तो काम गरेका छैनन् । यो काम गर्नका लागि केवल संयुक्त राज्यसँग मात्र क्षमता, इच्छाशक्ति र सामर्थ्य थियो र आज हामीले गर्‍यौँ ।”

राष्ट्रपति बाइडनले आफ्नो जीवन जोखिममा राखेर उद्धार कार्य गरेको भन्दै त्यसमा संलग्न सेना, कूटनीतिज्ञ एवं गुप्तचरको प्रशंसा गरे । “यस मिसनको असाधारण सफलता संयुक्त राज्य अमेरिकाका सेना, हाम्रा कूटनीतिज्ञ र हाम्रा व्यावसायिक गुप्तचरको अविश्वसनीय कला, बहादुरी र निस्वार्थ साहसको कारण थियो ।”

उनले भनेका छन्, “अमेरिकी नागरिक, हामीलाई मद्दत गरेका अफगान नागरिक, हाम्रा सहयोगी र साझेदारहरूका नागरिक र अरूलाई जहाजमा र देशबाहिर ल्याउन उनीहरूले आफ्नो जीवन हप्तौँ जोखिममा राखे । र, उनीहरूले देश छोड्न चाहनेहरूको विशाल भिडको दबाब सामना गर्दै यो काम गरे । र, उनीहरूले तालिबानको शत्रुको शपथ खाएका आईएसआईएस–के भिडको बीचबीचमा लुकेका छन् भन्ने जान्दाजान्दै यो काम गरे । आफ्नो जीवन जोखिममा राखेर पेसागत लाभका लागि होइन, अरूको सेवा गर्न आफ्नो काम गरे, राम्रोसँग गरे ।”

उनले उद्धार कार्यमा ज्यान गुमाएकाहरूलाई ‘नायक’ भन्दै घाइते भएकाहरू र उनीहरूको परिवारलाई सम्झिए । “उनीहरू र उनीहरूको परिवारप्रति हामी कृतज्ञताको ऋणी छौँ । तर, हामीले कहिल्यै चुक्ता गर्न सक्ने छैनौँ, तर हामीले कहिल्यै कहिल्यै भुल्नु हुँदैन ।”

अफगान सुरक्षा बलबारे
उनले भने, “हामीले बितेको दुई दशकभरि तालिम दिएको तीन लाखभन्दा बढी अफगान राष्ट्रिय सुरक्षा बल तालिबानसँग गृहयुद्धको लागि बलियो प्रतिद्वन्द्वी हुनेछ भन्ने सोचाइ थियो । सैनिक कटौतीपछि पनि अफगान सरकार केही समयका लागि पकड कायम राख्न सक्षम हुनेछ भन्ने अनुमान सही हुन सकेन ।”

बाँकी रहेका अमेरिकीका लागि कुनै समयसीमा छैन
अफगानिस्तान छोड्न चाहेका १०० देखि २०० अमेरिकीहरू अफगानिस्तानमा रहेको र अधिकांश दोहोरो नागरिकता भएका, लामो समयदेखि बसोबास गरेका र परिवारसँग जोडिएका बाइडनले बताए ।

अफगानिस्तान छोड्न चाहने ९० प्रतिशत अमेरिकी अफगानितान छोड्न सफल भएको भन्दै उने भने, “बाँकी रहेका अमेरिकीको लागि कुनै समयीमा छैन ।” उनीहरू फर्कन चाहे फर्काउन प्रतिबद्ध रहेको बाइडनको भनाइ छ ।

राष्ट्रपति बाइडनले अफगानिस्तान छोड्न चाहने जोखिममा रहेका मानिसलाई सहयोग गर्ने कार्य जारी राख्ने पनि बताए ।

स्वेच्छाचारी समयसीमा होइन
फौजको फिर्ता गर्ने निर्णयको बचाउ गर्ने सिलसिलामा उनले भने, “अगस्ट ३१ मा छोडेको स्वेच्छाचारी समयसीमाको कारण होइन । यो अमेरिकीको जीवन बचाउनको लागि डिजाइन गरिएको हो ।”

बाइडनले आफ्ना पूर्ववर्ती राष्ट्रपतिले तालिबानसँग गरको सम्झौताअनुसार काम गरेको बताए । “हाम्रा साथमा एक सरल निर्णय थियो, कि त गएको प्रशासनले गरेको प्रतिबद्धतालाई पालना गर्ने र अफगानिस्तान छोड्ने या त हामी अफगानिस्तान छोड्दैनौँ भन्ने र अर्को दशौँ हजारौँ फौज पठाउन प्रतिबद्ध हुने,” उनले भने, “युद्धमा फर्कनु, त्यो एउटा विकल्प थियो छोड्ने कि बढाउने भन्नेमा । म यस युद्धलाई सधैँको लागि बढाउन गइरहेको थिइनँ र सधैँका लागि बाहिर निकाल्ने कामलाई विस्तार गर्न गइरहेको थिइनँ ।”

निर्णयको जिम्मेवारी लिन्छु
बाइडनले आफ्नो निर्णयको जिम्मेवारी लिने बताएका छन् । पहिले नै आम उद्धार कार्य सुरु गर्नुपर्थ्यो र योभन्दा व्यवस्थित रूपमा गर्न सकिन्थ्यो कि ? भन्ने आरोपलाई उनले अस्वीकार गरे । जुन वा जुलाईमा उद्धार कार्य सुरु गरेको भए पनि अहिलेको अवस्थाजस्तै हुन सक्ने उनले बताए ।

“मेरा पूर्ववर्तीले तालिबानसँग सम्झौता गरे,” उनले भने, “जब मैले जिम्मेवारी सम्हाले, हामीले समयसीमाको सामना गर्‍यौँ । मे १ । तालिबानले हमला गरिरहेको थियो । हामीले दुई विकल्पमध्ये एकको सामना गर्‍यौँ, अघिल्लो प्रशासनले गरेको सम्झौता पालना गर्ने र मानिसलाई बाहिर निकाल्न थप समय लम्ब्याउने वा हजारौँ फौजहरू पठाउने र युद्ध चर्काउने ।” बाइडनले पहिलो विकल्प छाने ।

प्रमुख राष्ट्रिय स्वार्थ के हो ?
अमेरिकी भूमिमा हुने आक्रमणका लागि अफगानिस्तान फेरि प्रयोग नहोस् भन्ने आफनो धारणा रहेको राष्ट्रपति बाइडनले बताए । “हामी किन अफगानिस्तान गएका थियौँ ?,” उनले भने, “किनभने, ओसामा बिन लादेन र अल–कायदाबाट ११ सेप्टेम्बर २००१ मा हामीलाई आक्रमण गरियोे । र, उनीहरू अफगानिस्तानमा आधारित थिए । हामीले एक दशकअघि नै २०११ मे २ मा लादेनलाई न्याय दियौँ ।”

बाइडनले अल–कायदा सकिएको बताए । “अल–कायदा स्वाहा भयो,” उनले भने, “म आदरपूर्वक तपाईंहरू आफैँलाई प्रश्न गर्ने सुझाव दिन्छु, यदि हामीलाई ११ सेप्टेम्बर २००१ मा अफगानिस्तानको सट्टा यमनबाट आक्रमण भएको भए के हामी युद्धको लागि अफगानिस्तान जान्थ्यौँ, २००१ मा तालिबानले नियन्त्रण गरेको अफगानिस्तान नै भए पनि ?”

“मलाई विश्वास छ कि इमानदार जवाफ नो (जाँदैन थियौँ) हो । त्यसैले मातृभूमि अमेरिका र हाम्रा मित्रहरूलाई आक्रमणबाट रक्षा गर्नुभन्दा अफगानिस्तानमा हाम्रो अर्को कुनै महत्वपूर्ण स्वार्थ छैन । आज यही सत्य हो,” उनले भने ।

यो युद्ध अन्त्य गर्ने समय थियो
“हामीले अफगानिस्तानमा जे गर्ने तय गरेका थियौँ, त्यसमा एक दशकमै सफलता पायौँ,” उनले भने, “र, अर्को एक दशक रह्यौँ । यो युद्ध अन्त्य गर्ने समय थियो ।”

उनले यो नयाँ विश्व भएको भन्दै अफगानिस्तानबाहिर पनि आतंकको खतरा फैलिएको बताए । बाइडनले सोमालियमा अल–शबाब, अरबियन प्रायद्वीपमा सिरियामा अल–कायदाका सहयोगी, सिरिया र इराकमा आईएसआईएसले खालिफा स्थापना गर्न प्रयास गरेको र पूरै अफ्रिका र युरोपमा सहयोगी स्थापना गर्न सक्ने खतराको सामना गर्नुपर्ने बताए ।

उनले राष्ट्रपतिको मूलभूत दायित्व २००१ को खतराविरुद्ध होइन कि २०२१ को खतराबाट अमेरिकालाई जोगाउनु रहेको बताए । अफगानिस्तान बारेको निर्णयपछाडि यही निर्देशक सिद्धान्त रहेको उनको भनाइ छ । उनले आतंकवादविरुद्धको लडाइँलाई अफगानिस्तान र अन्य देशमा पनि कायमै राख्ने बताए ।

विश्व बदलिइरहेको छ

“र, यहाँ बुझ्नुपर्ने महत्वपूर्ण कुरा, विश्व बदलिइरहेको छ,” उनले भने ।

“हामी चीनसँग गम्भीर प्रतिस्पर्धामा संलग्न छौँ । रुससँगको थुप्रै मोर्चाहरूका चुनौतीहरूसँग काम गरिरहेका छौँ । हामीले साइबर आक्रमणहरू र परमाणु प्रसारको सामना गरिरहेका छौँ । २१औँ शताब्दीका प्रतिस्पर्धाको नयाँ चुनौती सामना गर्न हामीले अमेरिकाको क्षमता बढाउनैपर्छ,” उनले भने ।

उनले आफूहरू आतंकवादसँग लड्न र अहिले भइरहेको खतराको सामना गर्न सक्षम रहेको बताए । उनले भने, “यस्तो केही कुरा चीन या रुससँग छैन, यस प्रतिस्पर्धामा संयुक्त राज्य अमेरिकाका तुलनामा अधिक अफगानिस्तानमा अझै एक दशक फस्न जाओस् ।”

अफगानिस्तानको युद्ध समाप्त
अमेरिकी नागरिकलाई सम्बोधन गर्दै राष्ट्रपति बाइडनले भने, “अब अफगानिस्तानमा युद्ध सकियो ।” उनले युद्ध कहिले सकिन्छ भन्ने मुद्दा सामना गर्ने आफू चौथो राष्ट्रपति भएको बताए ।

“जब म राष्ट्रपतिको दौडमा थिएँ, मैले अमेरिकी जनतासँग युद्ध अन्त्य गर्छु भनी वाचा गरेको थिएँ,” उनले आफ्नो चुनावी प्रतिबद्धता सम्झँदै भने, “आज मैले त्यस वाचाको सम्मान गरेको छु । यो फेरि अमेरिकी जनतासँग इमानदार बन्ने समय थियो ।”

राष्ट्रपति बाइडनले अफगानिस्तानमा भएको खर्चबारे ब्राउन विश्वविद्यालयले गरेकोे अध्ययन उल्लेख गर्दै भने, “दुई त्रिलियन (२० खर्ब) डलरभन्दा धेरै अफगानिस्तानमा खर्च गरेपछि, ब्राउन विश्वविद्यालयका अनुसन्धानकर्मीहरूले २० वर्षमा प्रत्येक दिन ३०० मिलियन (३० करोड) डलरभन्दा बढी खर्च भएको अनुमान गरे । हो, अमेरिकी जनताले यो कुरा सुन्नुपर्छ, दुई दशकसम्म प्रत्येक दिन ३०० मिलियन डलर । धेरैले भनेजस्तै त्यसबाट एक त्रिलियन घटायो भने पनि प्रत्येक दिन १५० मिलियन डलर हुन्छ । अवसरको सम्बन्धमा नजितामा हमीले के गुमायौँ ?” आफ्ना नागरिकको राष्ट्रिय स्वार्थको सेवा नगर्ने युद्धलाई निरन्तरता दिन आफूले अस्वीकार गरेको उनले बताए ।

राष्ट्रपति बाइडनले आठ लाख अमेरिकीले अफगानिस्तानमा सेवा गरेको बताए । अफगानिस्तानमा झन्डै २१ हजार अमेरिकी घाइते भएको तथा पछिल्लो हप्ता मारिएका १३ सहित दुई हजार ४६१ जनाले ज्यान गुमाएको बताए ।

उनले देशभित्रै औसतमा प्रत्येक दिन १८ जना अनुभवी सैनिक (भेटेरान)ले आत्महत्या गर्ने गरेको आँकडा प्रस्तुत गरे । र, कुनै पनि युद्ध कम ग्रेड (तह) या कम जोखिम या कम मूल्यको नहुने भन्दै अफगानिस्तानमा युद्ध अन्त्य गर्ने समय आएको बताए ।

उनले पटक–पटक युद्धमा जान, युद्ध लम्ब्याउन, युद्धमा नयाँ पुस्तालाई पठाउन अस्वीकार गरेको बताए ।  “हामीले २० वर्षे युद्ध, संघर्ष, पीडा र बलिदानको अन्त्य गर्‍यौँ । अब यो समय भविष्य हेर्नको लागि हो, विगतका फर्कनको लागि होइन ।”

“मैले हृदयदेखि नै मेरा कुरा राखे,” राष्ट्रपति बाइडनले सम्बोधनको अन्तिममा भने, “मलाई विश्वास छ कि यो अमेरिकाको लागि सही, बुद्धिमतापूर्ण र सबैभन्दा उत्तम निर्णय हो ।” बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १६, २०७८  १६:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu