काठमाडौं । तालिबानले अफगानिस्तान स्वतन्त्र र सार्वभौम राष्ट्र भएको जनाएको छ । २० वर्षसम्म अफगानिस्तानमा बसेको अमेरिकी सेना फर्किएपछि खुसी मनाउँदै यस घटनालाई ‘ऐतिहासिक क्षण’ भनेको छ ।
अमेरिकी फौजको अन्तिम टुकडी फर्किएसँगै तालिबानले काबुल विमानस्थललाई पनि नियन्त्रणमा लिएको छ । मंगलबार काबुल विमानस्थलमा सञ्चारकर्मीसँग बोल्दै तालिबानका प्रवक्ताले अफगानिस्तान स्वतन्त्र र सार्वभौम राष्ट्र भएकोमा कुनै शंका नभएको अलजजिराले जनाएको छ ।
“अमेरिका पराजित भयो... र मेरो राष्ट्रको तर्फबाट हामीले बाँकी विश्वसँग राम्रो सम्बन्ध राख्न चाहन्छौँ,” उनले भने । उनले अफगान नागरिकले आफ्नो स्वतन्त्रता, स्वाधीनता र इस्लामिक मूल्यहरूको संरक्षण गर्ने वाचा पनि गरे ।
त्यसअघि, अमेरिकी सेनाका सेन्ट्रल कमान्ड प्रमुख जनरल फ्रैंक मकेन्जीले अमेरिकी सेनाले काबुल छोडेको घोषणा गरेका थिए ।