काठमाडौं । नेपालमा दोस्रो लहरको कोभिड–१९ संक्रमण उच्च भएयता केही समय संक्रमण दर स्थिर रह्यो । तर, निषेधाज्ञा खुकुलो भएसँगै दैनिक थपिने संक्रमितको संख्या बढ्दै गएको छ ।
विशेषगरी असारयता नेपालमा कोभिड संक्रमितको संख्या निरन्तर उकालो लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाउँछ । छिमेकी मुलुक भारतमा संक्रमण नियन्त्रण हुँदै जाँदा नेपालमा भने झन फैलिनुलाई विज्ञहरूले सरकार र नागरिकस्तर दुवै पक्षबाट भएको लापरबाहीको परिणामको रूपमा व्याख्या गरेका छन् ।
एक महिनामा ७२ हजार संक्रमित, ८०० भन्दा बढीको मृत्यु
नेपालमा ०७८ को साउन महिनामा मात्रै ७२ हजारभन्दा बढी कोभिड संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाउँछ । असार मसान्तसम्म ६ लाख ६२ हजार ५७० रहेको कोभिड संक्रमितको संख्या साउन ३२ आइपुग्दा ७ लाख ३४ हजार ८३८ पुगेको छ ।
यो एक महिनाको अवधिमा थपिने संक्रमितको तुलनामा निको हुनेको संख्या निकै कम छ । एक महिनामा ५८ हजार ६७२ जना संक्रमणमुक्त भएका छन् । जबकि, थपिने संक्रमितको संख्या ७२ हजार २६८ छ । संक्रमणमुक्त हुनेको संख्या घट्दै जाँदा सक्रिय संक्रमित बढेका छन् । साउन ३२ गतेसम्म नेपालमा कोभिड–१९ का सक्रिय संक्रमितको संख्या ३९ हजार ३७१ रहेको छ ।
त्यस्तै, साउन महिनाभर मात्रै संक्रमणका कारण ८६४ जनाको मृत्यु पुष्टि भएको मन्त्रालयको तथ्यांक छ । सक्रिय संक्रमितको दर ४ प्रतिशतबाट बढेर ५.३६ प्रतिशत पुगेको छ भने दैनिक टेस्ट पोजिटिभिटी दर २२ प्रतिशतभन्दा बढी छ । साउन ३२ गतेसम्म २१ जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी रहेको छ ।
काठमाडौं उपत्यकाका तीन जिल्लासहित ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लाहरूलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमण जोखिमको हिसाबले ‘रेड जोन’मा राखेको छ । कोभिड–१९ को ‘हट स्पट’ बनेका सहरहरूका अस्पतालमा आईसीयू तथा भेन्टिलेटरमा उपचार गराइरहेका कोभिड संक्रमितको संख्या बढेको छ । साउन ३२ गतेसम्म देशभर ७९५ जना आईसीयू र १९७ जना भेन्टिलेटरमा उपचाररत छन् ।
काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अहिले पनि २२ जना आईसीयूमा उपचाररत छन् । कोभिड संक्रमणबाट सिकिस्त संक्रमित हुनेको संख्या अहिले पनि दोस्रो लहरजस्तै रहेको अस्पतालका निर्देशक डा. अनुप बास्तोला बताउँछन् ।
असारयता थपिने संक्रमितको संख्या पनि बढेको र इमर्जेन्सीमा दैनिक ३० जनासम्म संक्रमित थपिने गरेको र संक्रमण छिप्पिइसकेको अवस्थामा मात्रै अस्पताल भर्ना हुन आइपुग्ने हुँदा सिकिस्त संक्रमित बढेको डा. बास्तोला बताउँछन् । काठमाडौंका प्रमुख १२ अस्पतामा मात्रै आईसीयू तथा भेन्टिलेटरमा २७५ जना उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ ।
दोस्रो लहरको संक्रमणको चक्र अपेक्षाअनुरूप तोडिएन
नेपालमा दोस्रो लहरको संक्रमणको चक्र तोड्न झन्डै ५२ दिन कडा निषेधाज्ञा जारी गरिएको थियो । यो अवधिमा दैनिक थपिने संक्रमितको संख्या दुई हजारभन्दा तल रहे पनि टेस्ट पोजिटिभिटी दर १९ प्रतिशतभन्दा तल झर्न सकेन । जबकि, यो दर ५ प्रतिशतभन्दा कम भएपछि मात्रै संक्रमण नियन्त्रणमा आएको भन्न सकिने विश्व स्वास्थ्य संगठनको मापदण्ड रहेको छ ।
नेपालमा दोस्रो लहरको संक्रमण अपेक्षाअनुसार नघटेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका पूर्वनिर्देशक डा. सागर राजभण्डारी बताउँछन् । “संक्रमण लामो समय स्थिर रह्यो । तर, जुन दरमा घट्नुपर्ने थियो, त्यति घटेन । यो नै नेपालमा संक्रमण नियन्त्रण गर्न नसक्नुको अर्को कारण बनेको छ । त्यति भएर पनि जनस्तरमा गरिने सामाजिक व्यवहारमा परिवर्तन भएको छैन । अझै पनि संक्रमणप्रति अधिकांश नागरिक बेपर्वाह नै देखिन्छन् । यसले संक्रमण बढाउन महत्वपूर्ण भूमिका खेलेको छ,” डा. राजभण्डारी भन्छन् ।
खोप लगाउनु नै संक्रमणबाट बच्नु होइन
नेपालमा कोभिड–१९ विरुद्धको खोप लगाएकाहरूबाट भएको लापरबाहीले पनि संक्रमण बढाएको वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनको भनाइ छ । खोप लगाउनु संक्रमण हुनबाट बच्नु नभई संक्रमित भए पनि सिकिस्त हुने अवस्था हुन नदिनु भएको डा. पुन बताउँछन् ।
“नेपालमा दुई डोज खोप लगाएकाहरू अब संक्रमणले छुँदैन जस्तो गरी लापरबाही गरेर हिँड्ने गरेको देखिन्छ, यसले संक्रमणको जोखिमलाई झनै बढाएको छ । खोप लगाउनेलाई संक्रमण नै हुँदैन भन्नु भ्रम हो । खोप लगाएका व्यक्तिहरू अस्पताल जाने अवस्थासम्म नपुग्ने तर संक्रमित भने हुने गरेको विभिन्न अध्ययनहरूले पुष्टि गरेका छन् । नेपालमा बढी फैलिएको डेल्टा भेरियन्टको भाइरल लोड संक्रमित व्यक्तिमा धेरै देखिन्छ । भारइरल लोड बढी हुनु भनेको अरुलाई सार्ने सम्भावना पनि बढी हुनु हो । यसर्थ, भेरियन्टहरू परिवर्तन हुँदै जाँदा खोप नलगाएका संक्रमित हुने सम्भावना त झन् धेरै भयो । खोप लगाएका पनि संक्रमित हुने जोखिम भने रहन्छ,” डा. पुन भन्छन् ।
नेपालमा अहिले प्रत्येक चारजनामा परीक्षण गर्दा एकजनामा संक्रमण पुष्टि भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बताए ।
सरकार र नागरिक दुवैको कमजोरीले बढ्दै छ संक्रमण
सरकारले नागरिकस्तरमा भएको लापरबाहीले कोभिड संक्रमण बढेको तर्क गरिरहँदा जनस्वास्थ्यविद् डा. शरद वन्त भने संक्रमण बढ्नुमा दुवै पक्षको कमजोरी औंल्याउँछन् । “निषेधाज्ञा खुकुलो भएसँगै आम नागरिक जनस्वास्थ्यका मापदण्डको ख्याल नगरी दैनिकी चलाउने गरेको देखिन्छ । संक्रमणका दुईवटा कठिन चरणहरू पार गरिसक्दा पनि जनस्वास्थ्यका विधि नअपनाउनु नागरिकस्तरबाट भएको ठूलो कमजोरी हो,” डा. वन्त थप्छन्, “संक्रमण नियन्त्रण नहुनुमा सरकारको पनि त्यत्तिकै कमजोरी देखिन्छ नियम बनाइएको छ । तर, त्यसको नियमन गरिएको छैन यो ढंगले नेपालमा कोभिड संक्रमण नियन्त्रणमा आउन गाह्रो छ । जनस्वास्थ्यका विधिको सही अभ्यास गर्नु नागरिकले गर्नु पर्थ्यो भने नियम पालना भए नभएको अनुगमन तथा नियमन सरकारी तवरबाट हुनपर्थ्यो । अहिले त कतिपय सरकारी कार्यालयमा नै जनस्वास्थ्यका विधि सही ढंगले पालना नभइरहेको देखिन्छ कार्यालय र जमघट हुने स्थानहरूमा अनुगमन नहुनुमा सरकारको कमजोरी झल्किन्छ ।”
कोभिड संक्रमण नियन्त्रणका लागि सरकारले तत्काल गर्नुपर्ने कार्यहरू यसरी औंल्याउँछन् डा. वन्त–
१. पहिचान नभएका संक्रमणका स्रोतको खोजी गर्ने र कन्ट्याक ट्रेसिङलाई बढाउने ।
२. संक्रमितको सही व्यवस्थापन र होम आएसोलेसनमा बसेकाहरूको निगरानी गर्ने ।
३. बढीभन्दा बढी नागरिकलाई खोप उपलब्ध गराउने ।
बुझेकाहरूबाटै मापदण्डको उल्लंघन भइरहेको छ
कोभिड संक्रमणको जोखिम, असर र बच्ने उपायबारे जाने बुझेका व्यक्तिहरूबाटै जनस्वास्थ्यका मापदण्डको उल्लंघन भएको तर्क गर्छिन्, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रकी निर्देशक डा. राधिका थपलिया ।
“महामारीका दुई चराण पार गरिसक्दा पनि मास्कको सही प्रयोग भएको देखिँदैन, सामाजिक दूरी कायम गर्न अझै हिच्किचाउँछन् बुझेकै व्यक्तिहरू, अझै पनि मास्कको प्रयोग गर्नुस् भन्नुपर्ने अवस्थामा हामी छौँ भन्दा सामान्य कुरा लाग्नसक्छ । यस्तै सानो–सानो कारणले संक्रमण फैलिइरहेको छ,” डा. थपलिया भन्छिन् ।