वसिङटन । अफगानिस्तान सम्बन्धी आफ्नो योजना नअपनाएको गुनासो गर्दै पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले हाल आइपरेको संकटबाट शर्मनाक भएर बाइडेनले राजीनामा दिनुपर्ने माग गरेका छन् ।
आफ्नो बयानमा उनले लेखेका हुन्, “अफगानिस्तानमा बाइडेनले जे हुन दिए त्यसप्रति अलिकति पनि लाज छ भने उनले अहिले नै राजीनामा दिनुपर्छ । र, यसका साथै बढ्दो कोभिड संक्रमण, सिमाना संकट, ऊर्जा स्वतन्त्रताको विनाश अनि खस्कदै गएको देशको अर्थतन्त्र पनि नजरअन्दाज गर्न सकिँदैन ।”
आइतबार तालिबानले अफगानिस्तानको राजधानीमा कब्जा गर्दै युद्ध अन्त्य भएको घोषणा गरि शक्ति आफ्नो हातमा लिएको हो । आत्तिएका मानिसको देश छाड्नका लागि काबुल विमानस्थलमा भीड लागेको छ ।
ट्रम्प प्रशासनले यसअघि अफगानिस्तानबाट अमेरिकी सेनालाई फिर्ता बोलाउने सम्बन्धी विभिन्न शर्त र मुुद्दाबारे छलफल गरेको थियो । उनले पद छाड्नु अगाडि नै सो क्षेत्रबाट सेना फिर्ता ल्याउनेबारे योजना पनि बनाएका थिए ।
उनले बाइडेन प्रशासनको विदेश नीति कमजोर भएको आरोप लगाएका छन् । उनले भने, “हाम्रो प्रशासनले उनलाई छाडेको योजनामा काम गर्नुको सट्टा उनी त्यसबाट भागे । त्यस योजनाले हाम्रा मान्छे, हाम्रो सम्पत्ति सबै जोगाउन सक्थ्यो र तालिबानले हाम्रो दूतावास लिने सपना कहिल्यै देख्ने थिएन । सेनालाई फिर्ता ल्याउने काम तथ्यद्वारा निर्देशित हुने थियो । तर, अब तालिबानलाई अमेरिकाप्रति कुनै डर या सम्मान छैन ।”
यता, बाइडेनले भने सबै दोष ट्रम्पमाथि लगाएका छन् । उनका अनुसार ट्रम्पले नै तालिबानलाई २००१ पछिकै सबैभन्दा शक्तिशाली सैन्य अवस्थामा छाडिदिएका हुन् । उनले भने, “जब मैले कार्यभार सुरु गरेँ मलाई मेरा पूर्ववर्तीले यस्तो सम्झौता छाडिदिएका थिए जसमा तालिबानसँग छलफल गर्न तिनलाई ९÷११ कै साँझ निम्ता गरिएको थियो । यसले नै उनीहरुलाई शक्तिशाली अवस्थामा पुर्यायो र अमेरिकी सेनाले २०२१ मे एकको अन्तिम अवधि पाए । यति मात्र नभएर ह्वाइटहाउस छाड्ने बेलामा पनि उनले अमेरिकी सेनालाई २५ हजारको न्यूनतम सङ्ख्यामा झारेका थिए ।”
ट्रम्पले सेनालाई फिर्ता बोलाउनु अगाडि अफगानिस्तानमा करिब ४ हजार सैन्य बल उपस्थित थिए । शनिबारको आफ्नो बयानमा बाइडेनले अबका दिनहरुमा आफ्ना उत्तराधिकारीले यस किसिमको लामो युद्धका मुद्दा झेल्न नपरोस् भन्ने चाहेको पनि बताए ।
उनले भनेका हुन्, “जब म राष्ट्रपति भएँ, मैले कठिन छनोट गर्नुपरेको थियो – या त सम्झौतासँग अगाडि बढ्ने र हाम्रा सबै मान्छेलाई सुरक्षित रुपमा फिर्ता ल्याउने या अरुको देशको युद्ध लड्न थप आफ्ना सेनाहरु पठाउने । यसरी अफगानिस्तानमा अमेरिकी सेनाको अध्यक्षता गर्ने म चौथो राष्ट्रपति हुँ । तर, अब भयो । म यो पाचौँ राष्ट्रपतिसम्म पुर्याउन चाहँदिन ।”
रिपब्लिकनहरुले पनि अहिले बाइडेनमाथि नै आरोप लगाइरहेका छन् । पूर्व विदेश मन्त्री माइक पोम्पेओले फक्स न्युजसँग कुरा गर्दै ट्रम्प ह्वाइटहाउसमा भएको भए आज यस्तो हुनेथिएन भन्ने टिप्पणी दिएका हुन् ।
आफ्ना समर्थकहरुलाई अप्रिलमा लेखेको पत्रमा ट्रम्पले भनेका थिए, “मैले नै अफगानिस्तानबाट छिटै सेना फर्काउने कामलाई गति दिएको हुँ र हाम्रो अरबौँ डलरका उपकरणहरु पनि जोगाएको छु । सेनाको उपस्थितिलाई १६ हजारको स्तरबाट मैले २ हजारले घटाएँ । इराकमा पनि त्यसै गरेँ र सिरियामा तेल निरीक्षण गर्नुपर्ने क्षेत्र बाहेक सेनाको उपस्थिति शून्यमा झारेँ ।”
न्युयोर्क पोस्ट र बिजनेस इन्साइडर