
काठमाडौं । ग्लोबल आईएमई बैंकले दक्षिण कोरियाबाट फर्किएर विभिन्न पेसामा संलग्न उद्यमीहरुलाई सहुलियत कर्जा उपलब्ध गराउन अंकुर नेपालसँग समझदारी गरेको छ ।
समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र अंकुर नेपालका अध्यक्ष लालप्रसाद भट्टराईले हस्ताक्षर गरेका छन् ।
कोभिड–१९ को महामारीबाट उत्पन्न समस्या तथा अन्य कारणबाट नेपाल फर्किएर कोरियामा आर्जित सीप तथा आय–आर्जनलाई स्वदेशमा व्यवसाय तथा रोजगारी सिर्जना गर्न उत्प्रेरित गर्ने उद्देश्य लिएका व्यवसायीहरूलाई सहयोग गर्न यस्तो समझदारी भएको जनाइएको छ ।
यस समझदारीले वैदेशिक रोजगारीबाट सीप र अनुभवसहित स्वदेश फर्किएका युवालाई पुनः विदेशिनुपर्ने बाध्यतालाई रोकी उद्यमशीलतासँग जोडेर विदेशबाट आर्जित सीप, अनुभव र पुँजीको स्वदेशमै सदुपयोग गर्दै स्वरोजगार बन्न सहयोग पुुग्ने बैंकले जनाएको छ ।