काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रमबारे टिप्पणी गरेका छन् ।
आजको प्रतिनिधिसभा बैठकमा उनले साझा कार्यक्रम संसद्मा किन प्रस्तुत नगरेको ? भन्दै प्रश्न पनि गरे । ओलीले सरकारमा नरहेका नेताहरूको अनुहार फोटोमा देखाउन छुट्टै कार्यक्रममा सार्वजनिक गरिएको आरोप पनि लगाए ।
ओलीले साझा कार्यक्रममा नेपाली कांग्रेसको अनुहार नदेखिएको र ‘पोलिसी सिफ्ट’ भन्दै कटाक्ष गरे । कार्यक्रमले साना–मसिना कामको कुरा गरेको टिप्पणी पनि उनले गरे ।
साझा कार्यक्रममा अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे चुप रहेको बताए । “एमसीसीको बारेमा साझा न्यूनतम कार्यक्रममा केही छैन । एमसीसी बिर्सिनुभो कि क्या हो ?,” उनले सोधे, “के गर्नुहुन्छ एमसीसी तपाईँ ?”
ओलीले मिचिएका भूमिबारे स्पष्ट नबोलेको भन्दै आपत्ति पनि जनाए ।