सोह्र महिनादेखि नेपाली कलाकारिता क्षेत्र ठप्प छ । चलचित्र क्षेत्र शून्य अवस्थामा छ । कलाकारिता क्षेत्र अन्योलमा रहँदा यसमा आश्रित जनसंख्या यति बेला पर्ख र हेरको रणनीतिमा छ । तर, सकारले कलाकार र कलाकारिता क्षेत्रमा दृष्टि पुर्याउन नसकेको हास्यकलाकार किरण केसी बताउँछन् । समाजसेवामा पनि सक्रिय केसीसँग चलचित्र, चलचित्रकर्मीको अवस्था, महजोडीसँगको सहकार्य तथा वैद्य माओवादीले माडीमा जग्गा कब्जा गरेको विषयमा केन्द्रित रहेर बाह्रखरीका नरेश फुयाँलले गरेको कुराकानी :
नयाँ चलचित्रको तयारी गर्न पुरानै चलचित्र रिलिज भएको छैन, के गर्दै हुनुहुन्छ आजकाल ?
अहिलेको परिस्थितिअनुसार तत्काल नयाँ चलचित्र सुरु गर्ने अवस्था छैन । पहिला नै बनिसकेको हाम्रो चलचित्र ‘लक्का जवान’ रिलिज हुन पाएको छैन । त्यसैले नयाँ चलचित्र अहिले नै सुरु गरिहाल्ने अवस्था छैन । तर, मेरो छोरो सुदन केसीले स्क्रिप्टको तयारी भने गरिरहेको छ ।
भर्खरै वासुदेव विद्यादेव लुइँटेल गुठीको पुरस्कार पाउनुभयो, आफैँ समाजसेवा गर्ने मान्छे पुरस्कारको रकम के गर्ने गर्नुहुन्छ ?
हामी हास्यव्यंग्यमा काम गर्नेहरूका लागि यो सबैभन्दा ठूलो पुरस्कार हो । गुठीबाट ‘यो वर्ष हामी तपाईंलाई पुरस्कृत गर्ने निर्णय गर्दै छौँ, स्वीकार गर्नुहुन्छ ?’ भनेर फोन आयो । हाम्रो जीवनको सबैभन्दा ठूलो दस्तावेज नै यही हो, अस्वीकार गर्ने त कुरै छैन । मलाई योग्य सम्झेर दिने पुरस्कार लिन म तयार छु भनेर भनेपछि यस वर्षको यो पुरस्कार हास्यव्यंग्यतर्फ मलाई दिने घोषणा भएको थियो ।
कुरा रह्यो समाजसेवाको । ७५ हजार रुपैयाँ धनराशिको सामदेव पुरस्कार पाउँदा २५ हजार रुपैयाँ मैले कलाकार कल्याणकारी कोषमा जम्मा गरेको थिएँ । बाँकी रकम विभिन्न ठाउँमा दिएको थिएँ ।
वागेश्वरीमा १०८ फिट अग्लो सरस्वतीको मन्दिर बन्दै छ भनेर मलाई बोलाएपछि केही दिनअगाडि मैले त्यहाँ पाँच हजार रुपैयाँ दिएँ ।
यसपटकको पुरस्कारले मेरो घरनजिक रहेको दुइटा पिपलको बोटमा विष्णु, गणेश, लक्ष्मी, काली, विष्णु, गणेशको मूर्ति छ । त्यहाँ ढलान गरेर जस्ता हालेर मिनी पार्क बनाउने योजनामा छु ।
यसपटकको गाईजात्रामा तपाईंलाई दर्शकले प्रहसनमा देख्न पाउँछन् ?
३९ वर्ष भयो मैले गाईजात्रा देखाउन थालेको । बीचमा १० वर्षजति ग्याप भयो । बाँकी अधिकांश वर्ष म कुनै न कुनै रूपमा दर्शकमाझ आइरहेकै छु । तर, एकेडेमीको पुनर्निर्माण र कोरोनाका कारण बीचका केही वर्ष गाईजात्रा देखाउन पाइएन ।
यो वर्ष भने मनोज गजुरेलहरूको टिममा मेरो पनि प्रहसन हुनेछ । भदौ १ गतेबाट एपीवान टेलिभिजनमा आउने गाईजात्रामा म गीत, प्यारोडी र डान्स लिएर आउँदै छु । पाँच वर्षपछि दर्शकमाझ गाईजात्रामा मेरो भेट हुँदै छ ।
कोरोनाले कलाकारिता क्षेत्र शून्यप्रायः अवस्थामा छ । कलाकारहरूलाई कत्तिको समस्या छ ?
यो समय सहज रूपमा चलेको अस्पताल र खाद्यान्न मात्रै हो । बाँकी सबै क्षेत्र जर्जर अवस्थामा छन् । इन्टरटेनमेन्ट क्षेत्र त झनै डामाडोल नै छ । जीवन सहज अवस्थामा चलेको बेला मात्रै हो मान्छेले इन्टरटेन गर्ने, यसका लागि बजेट छुट्ट्याउने । अहिले अधिकांश क्षेत्र आफैँ समस्यामा रहेको बेला कलाकारिता सहज हुने प्रश्नै भएन ।
धेरै सिनेमा हल बन्द भए । गोपीकृष्णका पाँच हल बन्द भए । गंगा, कुमारी, जयनेपाल हल बन्द भइसके । काठमाडौंबाहिरका दुई दर्जनभन्दा धेरै हल बन्द भएको सुनिरहेको छु । धेरै हल पार्टी प्यालेस र होटेलका लागि बिक्री भइसकेका छन् । कतिले घडेरी बनाएर बिक्री गरिरहेको सुनेको छु । यस्तो अवस्थाका कलाकारको जीवन कसरी सहज हुनसक्छ ?
यस्तो अवस्थामा दैनिक काम गरेर गुजारा गर्नेहरूप्रति राज्यले दृष्टि पुर्याउनुपर्छ । घरमा चुलो नबलेका बेला राज्य अभिभावक बनेर प्रस्तुत हुन सक्नुपर्छ ।
कलाकारसहित चलचित्र क्षेत्रका व्यक्तिहरू पलायन हुन थालेका हुन् ?
सुनेको छु मैले पनि । किनभने, अझै यस्तै अनिश्चतता रहने हो भने कहिलेसम्म कुर्ने भन्ने कुरा पनि हो । त्यसैले पर्ख र हेरको अवस्थामा धेरै रहेको अवस्था छ ।
हामीले दुई करोड १४ लाख लगाएर बनाएको चलचित्रमा केही रकम लोन पनि लिएका छौँ । त्यो कसरी तिर्ने भन्ने छ । चलचित्र कहिले रिलिज हुने, चले कसरी चल्ने भन्ने अन्योल छ । त्यसैले राज्यले यसमा ध्यान दिनुपर्छ । चलचित्र विकास बोर्डले पनि अपेक्षित सहयोग गर्न सकेको छैन । लोनमा लिएर चलचित्र बनाउनेहरूलाई ब्याज छुट दिने हो वा घटाउने हो, यसमा हेर्नुपर्छ ।
चलचित्रका लागि भनेर बैंकले लोन दिँदैन होइन र ?
हो, चलचित्रलाई भनेर त दिँदैन । तर, ओडी भनेर लिएको पैसा चलचित्रमा खर्च गर्न पाइन्छ । बैंकले केका लागि भनेर सोध्छ, तर लोन लिने व्यक्तिले त्यसअघि बैंकसँग गरेको कारोबारमा ऊ इमानदार छ भने दिन्छ ।
राजनीतिज्ञहरूले सिनेमा क्षेत्रलाई कसरी बुझेको अनुभव गर्नुभएको छ ?
चलचित्रलाई मात्रै होइन, हाम्रा नेताहरूले कुनै पनि क्षेत्रलाई बुझेजस्तो मलाई लाग्दैन । बुझेको भए करिब दुई वर्षदेखि व्यक्तिगत र दलीय लडाइँमा देशलाई किन बन्धक बनाउँथे ? जनता महामारीमा छन् । त्यसमा पनि प्राकृतिक प्रकोपले जनतालाई थिलथिलो बनाउँदा नेताहरू सधैँ कुर्सी र पदका लागि लडाइँ गरेर बसेको देख्दा दुःख लाग्छ । त्यसैले देशप्रति जिम्मेवार र परिपक्व भएको नेता तथा नेतृत्त्व भइदिए हुन्थ्यो भन्ने लाग्छ ।
कोही नेता, मन्त्री वा सांसदले नेपाली चलचित्र क्षेत्रलाई, हास्यव्यंग्य क्षेत्रलाई कसरी अगाडि बढाउनुपर्छ भनेर छलफल तथा परामर्श गरेका छन् ?
छैन । त्यो तहमा जिम्मेवार र यो क्षेत्रलाई बुझ्ने नेता, मन्त्री वा सांसद मैले भेटेको छैन । तर, पञ्चायतकालमा भने त्यो थियो । कमल थापा सञ्चारमन्त्री हुँदा उनले चलचित्रको ट्याक्स हटाएर लगाएको गुन चलचित्रकर्मी कहिले पनि भुल्दैनन् । त्यसैले कमल थापाको नाम आज पनि चलचित्रकर्मी बिनाहिचकिचाहट लिन्छन् । त्यो तहमा अरू नेता तथा मन्त्रीहरूले यो क्षेत्रलाई सहयोग गरेको थाहा छैन । राजनीति र राजनीतिज्ञको दृष्टि पुगेको क्षेत्र होइन यो ।
वैद्य माओवादीले चितवनस्थित तपाईंको जग्गा कब्जा गरेको हो ?
मैले पनि यो हल्ला सुनेँ । प्लटिङ गरेको ठाउँमा ब्यानर टाँगेर दुई–तीनवटा नारा लगाएर यो जग्गा सुकुम्बासीले पाउनुपर्छ भनेर हिँड्नुभयो रे ! म प्रत्यक्षदर्शी होइन, सुनेको मात्रै हो ।
मेरो फोटो राखेर समाचार आयो, म भावुक भएँ । मेरी श्रीमती रोइन् नै । तर, सत्य यो होइन । जहाँ माओवादीले झन्डा गाडेको छ, त्यो मेरो जग्गा होइन । र, माडीमा मेरो नाममा ५०/६० बिघा जग्गा छैन ।
मालपोतमा गएर बुझ्दा पनि हुन्छ, त्यो जग्गा मेरो हो कि होइन । मैले बुझेसम्म २१ प्रोपर्टी डिलर्सले त्यो जग्गा बैना गरेको थियो । तर, पास भइसकेको छैन ।
२१ प्रोपर्टी डिलर्सको म ब्रान्ड एम्बेस्डरचाहिँ हुँ । सुरुमा डेढ वर्षको ब्रान्ड एम्बेस्डरका लागि सम्झौता गरिएको थियो । पछि तीन वर्षका लागि मसँग सम्झौता गर्नुभयो । मलाई त्यो कम्पनीले स्कुटर पनि उपहार दिएको छ । ब्रान्ड एम्बेस्डरका नाताले म त्यहाँ दर्जनौँपटक पुगेको छु । त्यसैले म टेलिभिजन र सिनेमा हलमा देखिने मान्छे भएकाले उहाँहरूले यो जग्गा नै यसको भन्ने ठान्नुभयो । त्यही उहाँहरूको गल्ती भयो ।
मेरो नाममा १० कट्ठा दुई ठाउँमा, एक ठाउँमा तीन कट्ठा र पार्टनरसिपमा डेढ बिघा जग्गाबाहेक मेरो जग्गा छैन । तर, पार्टनरसिपमा डेढ बिघा पनि त्यो ठाउँमा छैन । चार कट्ठा जग्गामा होमस्टे बन्दै छ । अहिले आएको हल्लाको सत्यता के हो, केही दिनमै टुंगो लाग्छ भन्ने मेरो विश्वास छ ।
तपाईंको जीवनमा महजोडी नभेटिएको भए के हुन्थ्यो ?
महजोडीसँग नभेटिएको भए पनि म कलाकारचाहिँ हुन्थे नै । किनभने, म कलाकारिता क्षेत्रमा नै थिएँ । यो क्षेत्र नै मेरो पहिलो रोजाइमा थियो । म सानोमा मादल बजेको सुन्नासाथ दौडिएर त्यतैतर्फ जाने, भजन गाउने मान्छे हुँ ।
पैतृक सम्पत्ति भएका कारण खानलाई समस्या नभएका कारण कलाकारितामा संघर्ष गर्नलाई कठिन थिएन ।
मेरो घर नै संस्कारी, हरेक दिन पूजापाठ हुन्छ । त्यो संस्कारमा हुर्किएको मान्छे त्योभन्दा राम्रो संस्कार भएको महजोडीसँग ४० वर्षको सहकार्य भयो । अर्कालाई नमार्ने, नठग्ने, अरूको चित्त नदुखाउने, धेरै नबोल्ने संस्कार भएको महजोडीसँग ४० वर्ष लामो सहकार्य भइसक्यो । भात खाएको विषयमा बोल्दा पनि जिब्रो तौलिनुपर्छ । यस्तो महजोडीसँग मैले धेरै संस्कार सिकेको छु । चारवटा फिल्म उहाँहरूसँगै सहकार्य गरेर बनाएँ । छक्कापञ्जा गर्ने भइदिएको भए उहाँहरूसँग कसरी ४० वर्षसम्म सहकार्य हुन्छ ?
उहाँहरूसँग भेट नभएको भए पनि चलचित्र क्षेत्रमा नै हुने थिएँ । तर, यति धेरै भने हुने थिइन होला ।
लकडाउन त तपाईंलाई फलिफाप नै भयो हैन ?
तपाईंले टिकटकको प्रसंग उठाउन खोजेजस्तो लाग्यो । मलाई चलाउन पनि आउँदैन थियो । पहिलोपटक लकडाउन हुँदा नातिनीलाई डाउनलोड गर्न लगाएँ । राम्री केटी नाचेको देख्दा पनि राम्रै लाग्यो । केटाकेटी नाचेको देख्दा पनि राम्रै्र लाग्यो । बूढाबूढी नाचेको देख्दा पनि राम्रै लाग्यो । सबै नाचेको राम्रो लागेको देखेपछि नातिनीलाई टिकटक अकाउन्ट खोल्न लगाएँ ।
लकडाउन सुरु भएको चार/पाँच दिनमा अकाउन्ट खोलेँ । थोरबहुत नाच्न जान्ने र अभिनय पनि गर्ने भएकाले क्यामेरा फेस गर्न मलाई गाह्रो थिएन । एउटा गीतमा नाचेको त राम्रो भएछ । नातिनीले नै अपलोड गरिदिइन् । लाइक र कमेन्टको वर्षा नै लाग्यो ।
१६ महिनामा ६.३ मिलियन लाइक्स, दुई लाख ६५ हजार फलोअर्स भएछ । यो त मेरो सबैभन्दा ठूलो सम्पत्ति बन्यो । केटीको लुगा लगाएर नाचेपछि मलाई तथानाम गाली पनि आयो । तर, उनीहरूसँग पनि म रिसाइनँ । किनभने, व्यक्तिअनुसारको स्वभाव हुन्छ । अरूलाई असर नपर्ने गरी जसले जे पनि गर्न पाउँछ । मैले पनि मेरो स्वतन्त्रता उपयोग गरेको हुँ । तर, हजारौँ कमेन्ट आउँदा केही सयले गाली गर्नु वा मन नपराउनु स्वाभाविक पनि हो ।
धेरै उत्ताउलो पारा देखाउन नहुने रहेछ भन्ने सिकाइ पनि भयो यसबाट । मेरो भनाइ पनि त्यही नै, परिवार बसेर हेर्न सकियोस्, कसैले मैले हेरेको देख्दै छ कि भनेर लुक्न पनि नपरोस् भन्ने मेरो धारणा छ ।
मेरो एउटा टिकटक ६३ लाखले हेरिसकेका छन् । यसले मलाई स्फूर्ति पनि दियो । दर्शकमाझ पुग्ने माध्यम पनि भयो । यसले मलाई के कुरामा सजग हुनुपर्छ र के दर्शकले मन पराउँदैनन् भन्ने जानकारी पनि दियो ।
टिकटककै कारण मलाई १०/१२ वटा म्युजिक भिडियोको अफर पनि आयो । यसबाट पनि आम्दानी भयो । तर, म आग्रह गर्छु– मनपरी टिकटक नबनाऊँ, अन्ततः यसले तपाईंको व्यक्तित्त्व घटाउने हो ।