जनकपुरधाम । प्रदेश २ सरकारले भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका व्यक्तिलाई सल्लाहकारमा नियुक्त गरेको छ । भ्रष्टाचारका अभियुक्त जीवनाथ चौधरीलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको सल्लाहकारका रूपमा नियुक्त गरिएको हो ।
विशेष अदालत काठमाडौंले भ्रष्टाचारको मुद्दामा कैद र जरिबाना तोकेका चौधरीलाई गत असार २० गते नै नियुक्ति दिइसकेको खुलेको छ । भ्रष्टाचार मुद्दामा अदालतले उनीमाथि चार महिना जेल सजाय र ६ लाख ७५ हजार रुपैयाँ जरिबाना हुने फैसला गरेको थियो । यद्यपि हाल यो मुद्दा सर्वोच्चमा विचाराधीन छ ।
चौधरी तत्कालीन जिल्ला विकास समिति धनुषाका लेखापालको रूपमा कार्यरत रहँदा भ्रष्टाचारमा मुछिएका थिए । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले चौधरीविरुद्ध मुद्दा दायर गरेकोे थियो । उनी अहिले पनि निलम्बनमै छन् । चौधरी जनकपुरको रामानन्द चोकमा रहेको होटल सिता प्यालेसका सञ्चालक र मैथिली विकास कोषका अध्यक्षसमेत हुन् ।
नेपाली कांग्रेसका संसदीय दलका नेता रामसरोज यादव जेठ २६ मा मन्त्री बनेका थिए । उनी मन्त्री भएलगत्तै चौधरी अध्यक्ष रहेको मैथिली विकास कोषको भवन निर्माण तथा अन्य निर्माण कार्यका लागि ९० लाख रुपैयाँ बजेट निकासा गरिएको थियो ।