जनकपुरधाम । धनुषा प्रहरीको हिरासतमा भएको मृत्यु प्रकरणमा सरकार र परिवारबीच सहमति भएको छ । घटनाको पाँच दिनपछि मंगलबार सरकार र परिवारबीच दुईबुँदे सहमति भएपछि परिवाले मृतकको शव बुझेका छन् ।
धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाका अनुसार उच्चस्तरीय छानबिन गर्न र मृतकका परिवारलाई राहतका लागि गृह मन्त्रालयमा सिफारिस गर्ने गर्ने सहमति भएको हो ।
यस्तै, बैठकमा लक्ष्मीनिया गाउँपालिकाका अध्यक्ष बिन्देश्वर यादवले मृतकको श्रीमतीलाई रोजगारी दिने प्रतिबद्धता जनाएका छन् । मृतक परिवाले भने संघीय सरकारबाट १० लाख र प्रदेशबाट पाँच लाख रुपैयाँ रकम राहत मागेका थिए ।
प्रदेश प्रहरी प्रमुख (डीआजी) उमेश रञ्जितकारले डिउटीमा खटिएको सेन्ट्रीलाई छानबिनका लागि निलम्बन गरिएको बताए । धनुषाका प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रलाई प्रदेशमा तानिएको उनको भनाइ छ ।
साउन १५ गते थुनुवाकक्षको शौचालयमा झुण्डिएको अवस्थामा लक्ष्मीनिया गाउँपालिका–२, सिनुरजोडाका पल्टु रविदासको शव भेटिएको थियो ।