काठमाडौं । दार्चुलामा शुक्रबार बिहान व्याँस गाउँपालिका–२ को मलघट्टेमा रहेको तुइन चढ्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले डोरी काटिदिएपछि जयसिंह धामी बेपत्ता भए ।
भौगोलिक विकटताका कारण प्रहरी टोली डेढ दिनको पैदल हिडाइपछि मात्रै घटनास्थलसम्म पुग्यो । प्रहरीसँग त्यहाँ पुग्न हेलिकोप्टर थिएन । त्यसैले पैदल हिड्नुको विकल्प नभएको एक प्रहरी अधिकृत बताउँछन् ।
घटनास्थलमा तत्काल प्रहरी पुग्न सकेको भए घटनाबारेको विवरण समयमै प्राप्त गर्न सकिन्थ्यो ।
यो पछिल्लो घटनामात्रै हो । यसबाहेक विभिन्न समयमा हेलिकोप्टरको अभावमा प्रहरीकै अपरेसन असफल हुनेदेखि विपद् उद्धारमा समेत कठिनाई भएको प्रहरी अधिकृतहरु बताउँछन् ।
विभिन्न समयमा हुने झडप, विष्फोटका घटना, दोहरो भिडन्तमा परेर घाइते हुँदा समयमै उपचारका लागि ल्याउन नसकिएको अनुभव प्रहरी अधिकारीहरुको छ । तर फ्रन्टलाइनमा खटिनुपर्ने हुँदा सम्पूर्ण उद्धार पनि प्रहरीबाटै खोजी गरिने ती अधिकारीको प्रतिक्रिया छ ।
पूर्वआईजीपी ठाकुर प्रसाद ज्ञवाली हेलिकोप्टरको अभावमा द्वन्द्वकालीन समयमा प्रहरीले ठूलो क्षति बेहोर्नुपरेको सम्झिन्छन् ।
नेपालका चारवटा सुरक्षा निकायमध्ये नेपाली सेनासँग मात्रै हेलिकोप्टर छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीसँग हेलिकोप्टर छैन ।
नेपाल प्रहरीले त हेलिकोप्टरको माग गरेको दुई दशक बढी समय भइसकेको छ । ८० हजार जनशक्ति भएको मुलुकको प्रमुख सुरक्षा संगठनमध्येको एक हो, नेपाल प्रहरी ।
भौगोलिक विकटता, आपत्कालीन उद्धारमा जाँदा हेलिकोप्टरको अभावमा कतिपय अवस्था ठूलो समस्या भोग्नुपरेको प्रहरी अधिकारीहरु गुनासो गर्छन् । पछिल्लो २० वर्षयता सबैजसो प्रहरी महानिरीक्षक (आईजीपी)ले पटक–पटक हेलिकोप्टरको माग गर्दै आएका छन् ।
पूर्वआईजीपी ज्ञवाली भन्छन्,“प्रकोप व्यवस्थापनमा सबैभन्दा पहिले पुग्ने भनेको प्रहरी नै हो । यस्तोमा सूचना सम्प्रेषण उद्धारलगायतका काममा समयमा पुग्न सकिँदैन । सेनाको हेलिकोप्टर माग्दा प्रक्रिया लामो छ । प्रहरी प्रधान कार्यालयले गृह, गृहले रक्षा हुँदै सेना र सेनाबाट अपरेसन कमाण्डसम्म पुग्दा समय लाग्छ ।”
हेलिकोप्टर प्रहरीका लागि अत्यावश्यक नै भएको ज्ञवालीको बुझाइ छ । प्रहरीलाई हेलिकोप्टर दिँदा गृहमन्त्रालय मातहत हुने र त्यहाँबाट दुरुपयोग हुन्छ कि भनेर हेलिकोप्टर नदिएको हुनसक्ने एक कारण रहेको पनि उनी बताउँछन् ।
आफ्नो हेलिकोप्टर नहुँदा प्रहरीले विभिन्न समयमा निजी कम्पनीका हेलिकोप्टर प्रयोग गर्नुपरेको उनको अनुभव छ ।
पूर्वआईजीपी ज्ञवाली भन्छन्,“प्रकोप,सवारी दुर्घटना र अपरेसनका लागि हवाई सुविधा जरुरी छ । सवारी दुर्घटना भनेको जीवनसँग जोडिएको कुरा हो । प्रहरीसंग आफ्नै हेलिकोप्टर भए त्यसले ठूलो सहयोग हुन्छ ।”
प्रहरीकै मागका गृह मन्त्रालयले पटक–पटक हेलिकोप्टरको प्रस्ताव अघि बढाए पनि अर्थ मन्त्रालयबाट सो फाइल अगाडि बढ्न नसकेको गृहका अधिकारीहरु बताउँछन् ।
प्रायःजसो आईजीपीले आफ्नो कार्यकालमा हेलिकोप्टरको विषय उठाउँदै आएका छन् । उनीहरुले लिखितरुपमै पटक–पटक गृहमा प्रस्तावसमेत गरेका छन् ।
हेलिकोप्टर खरिदका लागि गृह हुँदै अर्थ मन्त्रालयमा पटक–पटक बजेटका लागि प्रस्ताव गए पनि अर्थले प्रहरीको आवश्यकता र बाध्यतालाई बुझ्न नसकेको प्रहरी अधिकारीहरुको गुनासो छ ।
पछिल्लो समय सशस्त्र प्रहरी बलले पनि हेलिकोप्टरको माग गर्दै आएको छ । कपितय प्रहरी अधिकारीहरु प्रहरी र सशस्त्रलाई संयुक्त रुपमा भए पनि हेलिकोप्टर दिनुपर्ने समय आएको बताउँछन् ।
सीमा सुरक्षा, विपद् उद्धार, शान्ति–सुरक्षालगायत महत्वपूर्ण काममा सशस्त्र परिचालन हुँदै खटिँदै आएको छ ।
कतिपय सीमा क्षेत्रमा भौगोलिक विकटताका कारण नियमित गस्तीमा समेत कठिनाई हुँदै आएको छ ।
यस्तोमा आफूहरुसँग हेलिकोप्टर हुँदा नियमित सीमा सुरक्षामा समेत सहजता आउने सशस्त्रका अधिकारीहरुको विश्वास छ ।
चीनतर्फको सीमा भौगोलिक रुपमा असहज भएकाले सबै स्थानमा नियमित गस्ती समेत सशस्त्रले गर्न सकेको छैन ।