
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेललाई शपथ खुवाएका छन् ।
आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उनले शपथग्रहण गराएका हुन् । बिहान १० बजे नवनियुक्त उपाध्यक्ष डा. पौडलको शपथ भएको बताइएको छ ।
आफ्नो शपथग्रहण लगत्तै उपाध्यक्ष डा. पौडेलले प्रधानमन्त्री देउवाको उपस्थितिमा आयोगका सदस्यहरू रामकुमार फुयाल र दिलबहादुर लिम्बू गुरूङलाई शपथग्रहण गराए ।
शपथ समारोहमा गृहमन्त्री बालकृष्ण खाँण, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, अर्थमन्त्री जनार्दन शर्मा, स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ, मुख्यसचिव शंकरदास बैरागी, अर्थसचिव शिशिर ढुंगाना, प्रधानमन्त्री कार्यालयका सचिव बैकुण्ठ अर्याल र धनराज ज्ञवाली, राष्ट्रिय योजना आयोगका सचिव केवल भण्डारीलगायत उपस्थित थिए ।