site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
लेखपढ गर्ने बानी र विचार निर्माण : बीपी कोइरालाको प्रसंग

बीपी कोइराला प्रशस्त पढे लेखेको तथा अभिज्ञ नेता मानिनु हुन्छ । सानो उमेरदेखि नै यसमा उहाँको अभिरुचि स्पष्ट देखिन्छ ।

तर, उहाँको लेखपढ गर्ने बानी र विचार निर्माणको प्रक्रियालाई ऐतिहासिक परिप्रेक्षमा अध्ययन गर्न भने बाँकी नै छ । कुनै योग्य अनुसन्धानकर्ताले यो चुनौती लिन सक्छ ।

बीपीले अभिरुचिपूर्वक पढेको, मन पराएको वा टिप्पणी गरेको धेरै पुस्तकसम्बन्धी चर्चा उहाँकै लेखोटहरूबाट पनि प्रष्ट हुन्छ । उहाँका बारेमा लेख्नेहरूले पनि कतिपय उहाँका छनोटका बारेमा उल्लेख गरेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

यसमा व्यापकरूपमा विविधता छ । जस्तो, बीपीको भनाइ छ : ‘बेकनको चुस्त शैली मलाई मन पर्छ ।’ फ्रान्सिस बेकन सोह्रौं शताब्दीका प्रभावशाली लेखक विचारक थिए । बेलायतको मन्त्रिपरिषदका महान्यायाधिवक्ता तथा कानुन तथा न्याय क्षेत्र हेर्ने सदस्य पनि थिए । उनको जीवनको उत्तरार्ध त्यति सुखद भएन तर आफ्नो ‘साइन्टिफिक मेथड’ का कारण उनी धेरै प्रभावशाली भए ।

त्यस्तै कालिदासको संस्कृत साहित्यमा पनि बीपीको टिप्पणी छ । उनको प्रसिद्ध नाटक ‘विक्रमोर्वशीयम्’ मा लालित्य भए पनि नाटकीयता तथा विचारमा उत्प्रेरणा नभएको बीपीको कथन छ । 

Global Ime bank

राजा पुरुरवा  तथा प्रसिद्ध अप्सरा उर्वशीको प्रेमकथामा आधारित कृतिका बारेमा बीपीको यस कथनले मसिनो गरी अध्ययन गर्न सक्ने क्षमता स्पष्ट गर्छ ।

अस्ट्रियाली लेखक स्टिफेन ज्विग प्रथम श्रेणीका लेखक देखिएनन् भन्ने निष्कर्ष पनि बीपीले निकालेको देखिन्छ । उहाँको आलोचना ज्विगको ‘बिवेयर अफ पिटी’ भन्ने सन् १९३९ को उपन्यासमा आधारित छ । पहिलो विश्वयुद्धपछि प्रकाशित यस पुस्तकमा ज्विग कलाको क्षेत्रमा बुर्जुवा देखिएको बीपीको ठहर छ । 

उहाँले बखान गरेको पुस्तकका रूपमा पार लेजरक्विस्टको ‘द सिविल’ लाई लिन सकिन्छ । उहाँले यसलाई मानव अनुभूति र मानवलाई प्राप्त हुनसक्ने दैवी अनुभवको विश्लेषण गरिएको पुस्तकका रूपमा प्रशंसा गर्नुभएको छ । 

स्वेडिस लेखक लेजरक्विस्टले सन् १९५१ मा यही पुस्तकमा नोबेल पुरस्कार पाए । यस्ता सयौं पुस्तक वा तिनका रचनाकारहरूका बारेमा बीपीको दृष्टिकोण पढ्न र बुझ्न सकिन्छ । त्यसमा विविधता छ । गुरुदत्तदेखि टेनिसन, जर्मन दार्शनिक डेकार्टदेखि उपन्यासकार हेमिङ्वे वा मनोविश्लेषक सिग्मन्ड फ्रायडसम्मका पुस्तकहरू बीपीको छनोटमा परेको देखिन्छ ।

उमेर, अध्ययन तथा जीवनका आवश्यकताहरूका आधारमा विचारहरू परिवर्तन हुँदै जान्छन् । कुनै विचार अझ बलियो बन्छ, कुनै विचार पछाडि छुट्छ । युवावस्थामा वामपन्थीहरूको सम्पर्कमा आएपछि आफ्ना पुराना सोचहरू स्वाटसुट्ट परिवर्तन हुन गएको बीपीले उल्लेख गर्नुभएको पढ्न सकिन्छ । 

उहाँको भनाइ छ — ‘त्यसभन्दा पहिले म गान्धीवादी थिएँ ।’ वास्तवमा उहाँलाई रुसी साहित्यकार लिओ टाल्सटाय र जोन रस्किनजस्ता लेखकहरू तिनताक मन पर्थे । 

भिक्टोरियाकालमा जोन रस्किनले कलम चलाएका अर्थ, राजनीतिलगायत हरेक क्षेत्रमा बोली बिक्थ्यो । बीपी आफँैले भन्नुभएको छ – ‘रोमान्टिक एनार्किस्ट’ विचारहरू उहाँलाई धेरै प्रिय थिए ।

उन्नाइसौं तथा बिसौं शताब्दीका धेरै अराजकतावादी चिन्तकमा गहिरोसँग प्राकृतवादी वा ‘एन्टिरोमान्टिक’ दृष्टिकोण पाइन्थ्यो । उनीहरू कलाकार, बुद्धिजीवी वा रुढीमुक्त समाजप्रति अराजक दृष्टिकोण राख्थे । युरोपमा एउटा दार्शनिक आन्दोलन सुरु भएको थियो । त्यो ज्ञानोदयको युग थियो । त्यहाँ आत्मचेतनाको विकासपथलाई चुनौती दिन निकै गाह्रो थियो । 

तर, मानवीय समस्याहरूप्रति संवेदनशीलता, सामाजिक सुधार, जर्मन आदर्शवाद वा विवेक र एम्मानुएल कान्टजस्ता चिन्तकको प्रभाव पन्छाउन नसकिने गरी अघि बढ्यो । गोथे, कलरिज, वर्ड्सवर्थ, लर्ड बायरन, किट्स सेली वा भिक्टर ह्यूगोको प्रभाव परिवर्तनका लागि धेरै निर्विवाद थिए । 

फ्रान्सेली कवि तथा उपन्यासकार भिक्टर ह्यूगोका बारेमा बीपी आफैँले उल्लेख गर्नुभएको छ । यस क्षेत्रमा उनको सन् १८६२ मा प्रकाशित ‘लेस मिसरेबल्स’ भन्ने कृति धेरै पढिन्छ । 

बीपीजस्तै ह्युगोले पनि धेरै वर्ष निर्वासनमा बिताउनु पर्यो । यो उपन्यासमा कानुन र सदाशयतालाई फ्रान्सको ऐतिहासिक परिप्रेक्षमा कथावस्तु बनाई वर्णन गरिएको छ ।

यी पुस्तकहरूको नाउँबाट मात्र परिचय स्थापित हुँदैन । यी सबै संसारले जानेका पुस्तकहूरुमा पर्छन् । जान्नेले राम्रो नराम्रो भनी आलोचना गर्न मिल्छ । कतिपय मान्छेका बारेमा कसैले पढ्ने जान्ने मौका पाएको छ भने समालोचकीय टिप्पणी गर्न मिल्छ ।  

जर्मनीका फ्रेडरिक नित्सेले ‘द डेथ अफ गड’ भन्ने प्रसिद्ध पुस्तक लेखे । यो एउटा मुटु हल्लाउने दर्शनमा आधारित छ । हिटलर र नाजीहरूले राजनीतिक उद्देश्यका लागि यसको प्रयोग गरे । जर्मन राजनीतिक चिन्तक कार्ल स्मिथका सिद्धान्तहरू फलाक्दै नाजीहरू मान्छे मार्थे । 

शोषित पीडितहरूका पक्षमा कार्ल माक्र्सको विचारको ठूलो योगदान छ । तर, उनले राजनीतिमा घृणाको खेती पनि सुरु गरे । यसैका आधारमा माक्र्सवादले आफ्नो राजनीतिक यात्रा तय गर्यो । 

स्वतन्त्रता तथा व्यक्तिगत अधिकारका व्याख्याता जोन लकको धेरै ठूलो लगानी छ संसारको वैचारिक रुपान्तरणमा । तर, उनका लेखनीको कारणले उनलाई जमिनदारहरूको खेताला (एपोलोजिष्ट) भनी टिप्पणी गरिन्छ । 

डेस्कारेटले आफूलाई विगतको प्रभावबाट अलग राख्नुपर्छ भन्ने कुरालाई महत्त्व दिए । तर, फेरि पुरानै कुराका आधारमा आफ्नो प्रसिद्ध पुस्तक ‘अन मेथड’ पनि लेखे । 

आदिगुरु शंकराचार्यले अद्वैत वेदान्तको अवधारणालाई विवेचना गरेर हिन्दु धर्मलाई पुनः संगठित गराउन सके । हिन्दुहरूको उदार जरो (लिवरल रुट्स)लाई पुनः स्थापना गर्ने कार्यमा उनको ठूलो योगदान छ । तर, सत्यका सम्बन्धमा उनको दृष्टिकोण मनोवैज्ञानिक वा धार्मिक नै रह्यो । 

शंकराचार्य कतिपय विषयमा तर्कसम्मत हुन सकेनन् । त्यसैले उनलाई दार्शनिक भन्न पनि मिल्दैन होला । आफूभन्दा १२÷१३ सय वर्ष पहिले जन्मिएका बुद्धबाट उनले धेरै कुरा सिके तर प्रष्टसँग त्यसलाई स्वीकार गरेनन् । अर्थात्,  सिक्ने सिकाउने विषयमा हरेकको व्यक्तिगत छनोट हुन सक्दोरहेछ । 

यस सम्बन्धमा बीपीको भनाइ के छ भने दृष्टिकोण बन्न विचार र जीवनमा ‘डायलग’ हुनु जरुरी छ । त्यसो हुन सक्यो भने एकातिर जीवन समृद्ध हुन जान्छ भने अर्कोतिर विचार पनि पुष्ट र उद्देश्यपूर्ण हुँदै जान्छ । विचारले पोषण तत्व पनि प्राप्त गर्छ ।

आफ्नो कारागार जीवनमा धेरै लेखपढ गरे पनि त्यसको प्रयोग हुन नपाएकोमा बीपी क्षुब्ध देखिनुहुन्छ । कारागारमा लेख्न पढ्न मौका पाइन्छ वा कारागारले बौद्धिक विकास गर्ने अवसर दिन्छ वा राजनीतिक बन्दीहरूले यस्तो अवसर पाउँछन् भन्नेमा अलि समीक्षात्मक हुनुपर्छ भन्ने उहाँको धारणा छ । 

उहाँ के कुरामा प्रष्ट हुनुहुन्छ भने कारागारको अध्ययनको स्थायी मूल्य कम हुन्छ । पढेर विचार प्राप्त हुन्छ । तर विचारको अभिवृद्धि हुँदैन । यसलाई विस्तार गर्ने हो भने यसको प्रयोग गर्न सक्नुपर्छ । 

पढिएको वा रुचि भएको विचारमा बाँच्न सकियो भने वा प्रयोग गर्न सकियो भनेमात्र त्यसको अभिवृद्धि सम्भव हुन्छ । किताबी ज्ञान एउटा कुरा हो । यसको ठोस धरातलमा उभिन पाउनु अर्को कुरा हो । होइन भने बीपीको विचारमा त्यस्तो ज्ञानको मूल्य तथ्याङ्क वा सूचकभन्दा बढी केही हुँदैन । यस्तो अवस्थामा विचारको रुपान्तरण भएर दृष्टिकोण बन्न सक्दैन भन्ने बीपीको भनाइमा प्रशस्त वजन छ ।

त्यसो त बन्दी जीवनमा कतिपय क्षमतावान व्यक्तिहरूबाट साहित्य सिर्जना नभएको होइन । तर, त्यसको संख्या कम छ : परिणाममा पनि, गुणस्तरमा पनि । समुदायबाट छुट्टिएर, थुनिएर बसेको मान्छेमा यथार्थ बुझ्ने अवस्था पनि हुँदैन । लेख्न जाँगर चलाउनेले त्यसैले त्यस्ता विषयमा हात हाल्दैनन् जसका लागि बाहिरी संसारको अनुभव चाहिन्छ । 

बीपीको भनाइमा यही कारणले गर्दा भारतका जवाहरलाल नेहरुजस्ता दिग्गजले पनि कारागारमा बस्दा ‘द डिस्कभरी अफ इण्डिया’ तथा ‘ग्लिम्सेज अफ वल्र्ड हिस्ट्री’ जस्ता पुस्तक लेखेर समयको सदुपयोग गरे । आफूले पनि त्यही कारणले गर्दा राजनीतिक लेखाइमा हात नहाली कारागारमा हुँदा कविता, कथा, उपन्यास र इतिहासमा लागेको बीपीले प्रष्ट गर्नुभएको छ ।

लेख्नु र पढ्नुबीच पनि फरक छ । पढ्नु सजिलो कुरा हो । लेख्नलाई बढी मिहिनेत गर्नुपर्छ । बीपी भन्नुहुन्छ : ‘पढ्नुभन्दा लेख्न गाह्रो– किनभने पढ्दा उति बौद्धिक सावधानी आवश्यक पर्दैन । लेख्न भने बुद्धिलाई चंख राखेर त्यसको राम्रो संगठन गर्नसक्नु पर्दछ । पढ्दा बुद्धिको चेतना सतहलाई मात्र जागृत राखे पुग्छ – गहिरो अध्ययन गर्न भने यसले पुग्दैन । तर, लेख्दा सतहको अवचेतन अवस्थाले मात्र पुग्दैन । केही न केही गहिरोपन यसका लागि आवश्यक हुन आउँछ । मुख्य कुरा, विचारको संगठन जरुरत पर्छ लेख्दा । किताब पढ्दा अर्काको संगठित विचार पाइन्छ; चम्चाले खाएजस्तो सजिलो हुन्छ । आफैँले लेख्नुपर्दा आदिदेखि अन्त्यसम्म आफैँले मिहिनेत गर्नुपर्छ ।’ यस भनाइमा यथार्थ लुकेको छ ।

बीपीले आफ्ना बारेमा जे भने पनि उहाँका पाठकहरूले उहाँलाई सर्जक तथा पाठक दुवैरूपमा उत्तिकै महत्त्वका साथ हेर्छन् । उहाँको अध्ययनमा विभिन्न राजनीतिक, सामाजिक, आर्थिक तथा साहित्यिक विषयवस्तुहरू परेको पाइन्छ ।

‘फिक्सन’ देखि ‘नन फिक्सन’ तथा वैदिक पौराणिकदेखि आधुनिक स्रोतसम्ममा उहाँको पहुँच पाइन्छ । तर, सामान्यतया चर्चित पुस्तकहरूमा नै उहाँको रुचि देखिन्छ । यद्यपि, उहाँ आफूलाई राम्रो पाठक मान्नुहुन्न । अझ उहाँको स्पष्टोक्ति छ – पढाइको व्यसन राम्रो होइन ।

उहाँको दृष्टिमा पढेका कुराहरू प्रयोग गर्न सक्नुपर्छ । त्यस्तो वातावरण हुनुपर्छ । जीवनको प्रवाहबाट छुट्टिएर वा वञ्चित भएर बस्दा पढ्नु वा अध्ययनको आधारमा तर्क गर्नु ‘शुष्क बौद्धिक व्यायाम’ जस्तो हुन्छ । 

उहाँको दृष्टिकोणमा अर्को किसिमको तीव्रता पनि देखिन्छ : ‘मैले यस्ता धेरै व्यक्ति देखेको छु जसलाई किताबको पढाइ व्यसनीलाई गाँजा वा अफिम चाहिएजस्तो तलतलको विषय भएको छ । हातले किताब लिन र आँखाले अक्षर टिप्न पाएनन् भने अफिम नपाएको अम्मलीलाई भएजस्तै उसलाई अल्छी लाग्छ र हाई हाई आइरहन्छ ।’ सिक्नु र नयाँ ज्ञानलाई आवश्यकताअनुसार प्रयोग गर्नुलाई बीपीले धेरै महत्त्व दिनुभएको देखिन्छ । 

जीवनको उत्तराद्र्धमा बीपीमा आफ्ना पश्चिमी सोचहरूले गन्तव्य पाएको अनुभूति देखिन्छ । पाश्चात्य दर्शन तथा साहित्यको प्रखर प्रवाहमा तिखारिएको व्यक्तित्व हो बीपीको । युवावयमा गान्धीबाट कम्युनिस्ट चिन्तनतर्फ त्यसपछि क्रमशः प्रजातान्त्रिक समाजवादतर्फ रुपान्तरण भएका बीपीले जीवनको उत्तराद्र्धमा महात्मा गान्धीले जस्तै मेरो जीवन पनि सत्यको खोजी नै हो भनि आफ्नो मूल्यांकन गर्नुभएको छ । ‘आत्मवृतान्त’मा यस सम्बन्धमा उहाँको अभिव्यक्ति पढ्न सकिन्छ । 

‘जेल जर्नल’मा बीपीले लेख्नुभएको छ – ‘मेरो प्रवृत्ति अध्यात्मिक नै छ । म अध्यात्मवादी (आत्मवादी) छैन तर अध्यात्मिक प्रवृत्तिको निश्चय नै छु । चेतन मन र बुद्धिले स्वीकार नगरे पनि जीवनका कष्टमय घडीमा मलाई आफ्नो नियति माथि भर हुन्छ ।’ यो नेपालको राजनीतिक वृत्तमा सधैँ सम्झिइने एउटा प्रचण्ड पाठकको स्वीकारोक्ति हो । 
 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ६, २०७८  १७:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC