काठमाडौं । आन्दोलन तथा कोरोना महामारीका कारण रोकिँदै आएको परीक्षा तत्काल सञ्चालन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीले माग गरेका छन् ।
सबै विश्वविद्यालयमा रोकिएको परीक्षा धमाधम भइरहेको भन्दै तीन विद्यार्थी संघठनहरु अनेरास्ववियु, नेविसंघ र अनेरास्ववियु (क्रान्तिकारी)ले संयुक्त विज्ञप्ति प्रकाशित गरी वन विज्ञान संकायको बाँकी रहेका परीक्षा तत्काल भौतिक तथा वैकल्पिक माध्यमबाट सञ्चालन गर्न माग गरेका हुन् ।
विज्ञप्तिमा सबै विश्वविद्यालयबाट परीक्षाको कार्यतालिका सार्वजनिक भइसक्दा पनि यो विश्वविद्यालयका पदाधिकारी तथा परीक्षा नियन्त्रण कार्यलयको लाचारीपन एवम् ढिलासुस्तीले गर्दा परीक्षा सञ्चालनसम्बन्धी कुनै ठोस निर्णय नआएको उल्लेख छ ।
यस्तै, विद्यार्थीहरुले वैकल्पिक माध्यमबाट सञ्चालन भइरहेका कक्षा विनाअवरोध सञ्चालन गरी विश्वविद्यालयले सेमेस्टरको लागि तोकेको अवधिभित्र सेमेस्टरको पठनपाठन र परीक्षा सञ्चालन गर्नलगायत माग गरेका छन् ।
स्थापनाकालदेखि नै विभिन्न आन्दोलन र विवादमा घेरिएको उक्त विश्वविद्यालयमा कोरोनाको दोस्रो लहरका कारण दुई महिनायता सम्पूर्ण शैक्षिक गतिविधिहरु ठप्प छ ।