काठमाडौं । असार २१ गतेसम्म सबैखाले सार्वजनिक सवारीसाधन नचल्ने भएका छन् । आज नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघ र प्रशासनको सामूहिक छलफलमा निषेधाज्ञाका सम्बन्धमा प्रशासनले अर्को निर्णय नगरेसम्म अहिलेकै व्यवस्थालाई निरन्तरता दिने सहमति भएको हो ।
यसअघि यातायात व्यवसायी र मजदुरहरूले सरकारको निर्णय अवज्ञा गर्दै असार १८ गते (भोलि) देखि देशैभर सबै प्रकारका यातायात सञ्चालन गर्ने घोषणा गरेका थिए ।
‘‘हाम्रो पहिलेको निर्णय बमोजिम आज पनि प्रशासन, सरोकारवाला निकायबीच वार्ता भएको थियो । पछिल्लो साता कोरोना महामारी बढेकाले २१ गतेसम्मको निषेधाज्ञालाई २५ सिटभन्दा मुनिका सार्वजनिक सवारीसाधनले समर्थन जनाएका छौँ,” यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले भने, ‘‘निषेधाज्ञा समर्थनको विज्ञप्ति एकैछिनमा आउँदैछ ।”
यसअघि १४ गते सोमबार प्रशासनले निषेधाज्ञा मोडालिटी परिवर्तन गर्दै २५ सिटभन्दा माथिका सार्वजनिक सवारी साधनमा जोर बिजोर प्रणाली लागु गरेको थियो । उक्त निर्णयले लोमो दुरी, छोटो दुरी र कम सिट क्षमता भएका सवारी व्यवसायीलाई सम्बोधन नगरेको भन्दै महासंघ, मजदुर र सर्वसाधारणले आपत्ति जनाउँदै आएका थिए ।