site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
पाँचवटा महानगरका बजेटमा स्वास्थ्यलाई कति प्राथमिकता ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । मुलुकभरका छवटा महानगरपालिकामध्ये पाँचवटाले अर्थिक वर्ष २०७८÷०७९ का लागि बजेट प्रस्तुत गरिसकेका छन् । ६ वटामध्ये काठमाडौं महानगरपालिकाले सबैभन्दा ठूलो आकारको बजेट पेस गरेको छ । काठमाडौं महानगरले १८ अर्ब ९६ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ भने ललितपुर महानगरले पाँच अर्ब ५५ करोड, भरतपुर महानगरले चार अर्ब ८१ करोड, पोखरा महानगरले ६ अर्ब २८ करोड, वीरगञ्ज महानगरले तीन अर्ब ५५ करोड र विराटनगर महानगरले चार अर्ब १० करोड रुपैयाँको बजेट पेस गरेका छन् । यो आर्थिक वर्षका लागि कोभिड महामारीसमेतलाई ध्यानमा राख्दै अधिकांश महानगरले स्वास्थ्य क्षेत्रको बजेटलाई प्राथमिकता दिएका छन् ।

काठमाडौं महानगरपालिकामा स्वास्थ्य बिमालाई प्राथमिकता

काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि रु १८ अर्ब ९५ करोड ७७ लाख १२ हजारको बजेट पेस गरेको छ । महानगरले कोभिड नियन्त्रण रोकथामसँगै स्वास्थ्य बिमा कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

नवौँ नगरसभामा उप काठमाडौं महानगरपालिकाका उप प्रमुख हरिप्रभा खड्गी श्रेष्ठले प्रस्तुत गरेको बजेट आगामी आर्थिक वर्षमा महानगरवासीका लागि नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रममा ५० प्रतिशत विमा शुल्क व्यहोर्न बजेट विनियोजन गरिएको उल्लेख छ । 

यसैगरी ज्येष्ठ नागरिक विशिष्टीकृत सेवासहितको महानगर विशेष अस्पताल सञ्चालन गर्न पनि बजेट महानगरले बजेट विनियोजन गरेको छ । मेयर उज्यालो कार्यक्रम, कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचार, प्रत्येक वडामा कम्तिमा एउटा सार्वजनिक शौचालय, प्रत्येक वडामा एक नमुना विद्यालय, प्रत्येक वडामा न्यूनतम एउटा पार्क, ज्येष्ठ नागरिकलाई आवश्यक पर्ने स्वास्थ्यलगायतका सेवा सुबिधा लगायतका विषयलाई बजेटले प्राथमिकतामा राखेको छ ।
 
भरतपुर महानगरको पहिलो प्राथमिकता कोभिड नियन्त्रण

Global Ime bank

भरतपुर महानगरपालिकाले प्रस्तुत गरेको ४ अर्ब ८१ करोडको बजेटमा स्वास्थ्यतर्फ ९ करोड रुपैयाँ छुट्याएको छ । महानगरले स्वास्थ्य सेवा, कोभिड रोकथाम तथा नियन्त्रणका लागि छुट्टै कोष स्थापना गरी १ करोड ९० लाख रुपैयाँ विनियोजन गरेको छ । 
त्यसैगरी आधारभूत एवम् गुणस्तरीय स्वास्थ्य सेवामा महानगरवासीको पहुँचलाई सुनिश्चित गर्नुका साथै नवशिशु तथा बाल स्वास्थ्य र पोषण, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य, सर्ने तथा नसर्ने रोगहरूको रोकथाम तथा व्यवस्थापन, महामारी नियन्त्रण तथा स्वास्थ्य प्रवर्द्धन कार्यक्रममा विशेष जोड दिइने महानगरको बजेटमा उल्लेख छ ।

महानगरपालिकाका सबै वडाहरूमा स्वास्थ्य संस्था स्थापना गरी स्वास्थ्य सेवा उपलब्ध गराउने, आधारभूत स्वास्थ्य सेवा, नगर स्वास्थ्य केन्द्र, सामुदायिक स्वास्थ्य इकाई, मातृ शिशु स्वास्थ्य क्लिनिक साथै स्वास्थ्य संस्थाहरूमा बर्थिङ सेन्टर, प्रयोगशाला लगायत सेवा सञ्चालनका लागि आवश्यक जनशक्ति र स्रोत साधनको प्रबन्ध मिलाउने लगायतका विषय पनि महानगरको प्राथमिकतामा छन् । 

त्यसैगरी बालबालिकाहरूलाई दिइने सवै खोप कार्यक्रमलाई विशेष जोड दिँदै भरतपुर महानगर पूर्ण खोप महानगर घोषणा भइसकेको अवस्थामा पूर्ण खोप सुनिश्चित दिगोपनाका लागि कार्यक्रम सञ्चालन गरिने बजेटमा उल्लेख छ । महानगरमा कोभिड–१९ संक्रमण रोकथाम, निदान, उपचार तथा व्यवस्थापनका लागि बहुसरोकारवालाबीच समन्वय गरी सबै संयन्त्रहरू परिचालन गरिनेछ । कोभिड–१९ नियन्त्रणमा संलग्न जनप्रतिनिधि, कर्मचारी तथा स्वास्थ्यकर्मीका लागि स्वास्थ्य सुरक्षाको प्रत्याभूति, बिमा लगायत उचित प्रोत्साहनको व्यवस्था गरिने पनि बजेटमा उल्लेख छ । 

त्यसैगरी सरुवा तथा भेक्टरजन्य रोगहरूको रोकथाम तथा महामारी नियन्त्रणका लागि विपद् व्यवस्थापन पूर्वतयारी र प्रतिकार्यका लागि आवश्यक तयारी तथा समुदाय परिचालन लगायतका एकीकृत कार्यक्रम सञ्चालन गरिने, स्वास्थ्य चौकीहरूमा सञ्चालनमा रहेको प्रयोगशाला सेवालाई निरन्तरता दिँदै प्रयोगशाला सेवाको गुणस्तर र क्षमता विस्तार गर्दै लगिने पनि बजेटमा समेटिएको छ  । 

भरतपुर महानगरलाई सुर्तिजन्य पदार्थ निषेधित महानगरको रूपमा घोषणा गर्न आवश्यक कार्यक्रम सञ्चालन गरी सोको अनुगमन संयन्त्र विकास गरी दण्ड जरिवानालाई कडाइका साथ लागु गरिने महानगरद्वारा प्रस्तु बजेटमा उल्लेख गरिएको छ ।

भरतपुर महानगरको स्वास्थ्य सेवालाई जनताको घरदैलोमा पुर्‍याउनका लागि खोप क्लिनिक, गाउँघर क्लिनिक सञ्चालन गरिने र त्यसका लागि स्वास्थ्य क्षेत्रको समग्र विकासका लागि संघीय सरकार, प्रदेश सरकार लगायत अन्य सार्वजनिक, गैरसरकारी र निजी क्षेत्रसँग सहकार्य र समन्वय गरिने पनि महानगरको बजेटमा उल्लेख छ ।

पोखरा महानगरपालिका, स्वास्थ्य संस्थाको पूर्वाधारमा जोड

पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ का लागि ल्याएको बजेटमा कोभिड अस्पतालहरूको स्तरोन्नतिदेखि खोप खरिदसम्मका योजना समेटिएका छन् । महानगरले समग्र स्वास्थ्य क्षेत्रको विकासको लागि रु. २१ करोड ५० लाख विनियोजन गरेको छ । विनियोजित बजेट कार्यक्रममा कोभिडविरुद्धको खोप खरिदका लागि स्थानीय तहहरूले जिम्मेवारी प्रदान नगरेकाले यस प्रयोजनको लागि तत्कालै बजेट प्रस्ताव गरिएको छैन । तर यो जिम्मेवारी प्राप्त भएमा बजेट समायोजन गरी कम्तिमा ५० हजार खोप खरिदको प्रबन्ध गर्न सक्ने गरी तयारी गरिएको उल्लेख छ । 

महानगरले हाल सञ्चालनमा रहेको आइसोलेसन, पीसीआर नमुना सङ्कलन, कोभिड अस्पतालको स्तरोन्नति तथा सञ्चालनका लागि ३ करोड विनियोजन गरेको छ । कोभिड–१९ नियन्त्रणका लागि हालै स्थापना गरिएको शिशुवा अस्पतालको कोभिड वार्ड सञ्चालन तथा शिशुवा अस्पतालको सञ्चालन समेतको लागि  ३ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै नेपाल सरकारले निशुल्क उपलब्ध गराउने भनी प्रतिबद्धता गरिएका औषधिहरू र अत्यावश्यक औजारहरू खरिद गर्न थप रु. ६० लाख बजेट प्रस्ताव गरेको छ । 

पोखरा महानगरले आयुर्वेद तथा वैकल्पिक उपचार पद्धतिको विकास र प्रबद्र्धन गर्न ४० लाख बजेट छुट्याएको छ । आगामी आर्थिक वर्षमा वडा नम्बर २३ चापाकोटमा स्वास्थ्य चौकीको भवन निर्माणका लागि रु. १ करोड प्रस्ताव गरिएको छ भने वडा नं. २८ कालिका स्वास्थ्य चौकीको तला थप गरिने तथा नसर्ने रोगहरूका लागि निदानात्मक सेवालाई स्वास्थ्य संस्थामार्फत् विस्तार गरिने बजेटमा उल्लेख छ । त्यसका लागि नगरले ४० लाख रुपैयाँ बजेट छुट्याएको छ ।

त्यसैगरी महानगरले गर्भवती महिला तथा बालबालिकाहरूको पोषण प्रबद्र्धन गर्ने  कार्यक्रम सञ्चालनका लागि रु. २० लाख बजेट प्रस्ताव गरिएको छ भने महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई संघीय सरकारले तोकेको सुविधा उपलब्ध गराउनेगरी बजेट प्रस्ताव गरेको छ । उक्त कार्यका लागि रु.७० लाख बजेट प्रस्ताव गरिएको छ । साबिकमा सञ्चालित तथा हाल थप गरिएको सम्पूर्ण नगर स्वास्थ्य केन्द्रहरूको सञ्चालन खर्च एकमुस्ट रु. ५ करोड ३० लाख तथा स्वास्थ्य संस्थाहरूको भवन मर्मतका लागि रु. ५० लाख छुट्याएको छ ।  

विराटनगर महानगरको दोस्रो प्राथमिकतामा स्वास्थ्य 

कुल ४ अर्ब १० करोडको बजेट प्रस्तुत गरेको विराटनगर महानगरपालिकाले स्वास्थ्य क्षेत्रलाई बजेटको दोस्रो प्राथमिकतामा राखेको छ । कोभिड–१९ महामारीको रोकथाम, उपचार र नियन्त्रणका संघ तथा प्रदेश सरकारसँगको सहयोगमा महानगरपालिकाले प्रभावकारी कार्यान्वयन गर्ने तथा कोभिड–१९ महामारीको रोकथाम, उपचार र नियन्त्रणका लागि ठोस कार्यक्रम लागु गरिने विराटनगर महानगरपालिकाको बजेटमा उल्लेख छ । 

त्यसैगरी उपप्रमुख योजना अन्तर्गत ‘छोरी बचाऊ छोरी पढाऊ’ पहिलो र दोस्रो सन्तान छोरी जन्माउने आमाहरूलाई प्रोत्साहनबापत् उपलब्ध गराउँदै आएको रकमलाई निरन्तरता दिइने तथा नेपाल रेडक्रस सोसाईटीसँगको समन्वयमा नगरवासीहरूलाई निःशुल्क रिक्त सेवालाई निरन्तरता दिइने पनि महानगरको बजेटमा उल्लेख छ । त्यस्तै नगरवासीहरूको स्वास्थ सुधारका लागि एलोपेथिक मेडिसिनसँगै वैकल्पिक चिकित्साको रूपमा आयुर्वेद सेवाको विकास गरिने तथा वडा नम्बर १५ र १९ मा १५ शैयाको अस्पताल निर्माण गरी सञ्चालन गरिने पनि बजेटमा उल्लेख छ । 

महानगरका उपप्रमुख इन्दिरा कार्कीद्वारा असार १० गते प्रस्तुत बजेटमा भनिएको छ : ‘गर्भवती महिला र जेष्ठ नागरिकलाई नगरक्षेत्र भित्रका अस्पतालसम्म सहज पहुँचका लागि निशुल्क एम्बुलेन्स सेवालाई निरन्तरता दिइनेछ । चौरासी वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरूलाई दिइँदै आएको पोषण भत्तालाई निरन्तरता दिइनेछ । नगरवासीहरूको आधारभुत स्वास्थ्य सेवाको सहज पहुँचका लागि सम्पुर्ण वडामा स्थापना भई सञ्चालनमा रहेका आभारभुत स्वास्थ्य केन्द्रहरूको सुदृढीकरण गर्दै लगिनेछ ।

अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रम अन्तर्गत स्वास्थ्य शिविरहरू सञ्चालन गरिनेछ । सहज स्वास्थ्य सुविधा उपलब्ध गराउन क्षेत्र पहिचान गरि फिजियोथेरापी सेवा सुरु गरिनेछ । राष्ट्रिय खोप अभियानलाई वडा कार्यालयको समन्वयमा प्रभावकारी रूपमा सञ्चालन गरिनेछ ।’

वीरगञ्ज महानगरपालिकाको प्राथमिकता स्वास्थ्य

आर्थिक वर्ष २०७८/०७९ का लागि कुल ३ अर्ब ५५ करोडको बजेट प्रस्तुत गरेको वीरगञ्ज महानगरपालिकाले स्वास्थ्य क्षेत्रका लागि २१ करोड ३० लाख १५ हजार रुपैयाँ विनियोजन गरेको छ  । नवौँ नगरसभामा महानगरका उप प्रमुख शान्ति कार्कीले प्रस्तुत गरेको यो पहिलो र दोस्रो लहरमा कोभिडको/हटस्पटको रूपमा देखापरेको वीरगन्जमा सम्भावित तेस्रो लहरलाई मध्येनजर गरी स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याइएको नगर महानगरको भनाइ छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार १७, २०७८  १५:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement