जनकपुरधाम । सर्लाहीको लालबन्दी नगरपालिका १५ तीनतले झल्ला चौडीबाट ८० किलो प्रतिवन्धित लागुऔषध गाँजासहित दुईजना पक्राउ परेका छन् । प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र प्रहरी चौकी परवानीपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले सोमबार ८० किलाे गाँजासहित दुईजना लाई पक्राउ गरेको हाे ।
पक्राउ पर्नेमा ईश्वरपुर नगरपालिका १२ का ३३ वर्षीय आइत सिंह स्याङतान र सोही ठाउँका ५४ वर्षीय मान बहादुर स्याङतान रहेका छन् । विशेष सुराकीको आधारमा खटिएको प्रहरी टोलीले उत्तरी चुरेक्षेत्रस्थित फूलजोर खोलाको किनारमा पर्ने झल्ला चौडीबाट प्याकिङ गरी बोराभित्र हालेर ल्याउँदै गरेको अवस्थामा गाँजा बरामद गरेको हाे ।
दुवै जनालाई अहिले ईलाका प्रहरी कार्यालय लालबन्दीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको लालबन्दी प्रहरीका प्रमुख एवम् प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिए । लालबन्दी प्रहरीले यस आर्थिक वर्षमा २५० किलो गाँजा बरामद गरिसकेको छ ।