लन्डन । बेलायतमा सामाजिक दूरीको नियम तोड्दै आफ्नी एक सहकर्मीलाई चुम्बन गरेको भन्ने समाचारपछि त्यहाँका स्वास्थ्यमन्त्री म्याट ह्यानककले राजीनामा दिएका छन् ।
‘द सन पत्रिका’ले तीनजना सन्तानका साथ विवाहित रहेका ह्यानकक र जीन कोलेड्यानजेलोबीचको चुम्बनको तस्बिर छापेपछि ह्यानककमाथि पद छाड्न दबाब बढेको थियो । उक्त पत्रिकाले ती तस्बिरहरू स्वास्थ्य मन्त्रालयभित्र ६ मेमा लिइएको जनाएको छ ।
प्रधानमन्त्रीलाई लेखेको पत्रमा उनले ‘जनताले यो महामारीमा गरेका धेरै त्यागको लागि र साँच्चिकै भन्नुपर्दा जब हामीले उनीहरूलाई निराश पार्छौँ, तब सरकार उनीहरूको ऋणी रहने’ उल्लेख गरेका छन् ।
प्रधानमन्त्री बोरिस जोनसनले राजीनामा पत्र पाएर आफू ‘दुःखी’ भएको बताएका छन् ।
कैयौँ पत्रिकाहरूले ह्यानककले आफ्नी श्रीमती मार्थासँगको १५ वर्षे वैवाहिक सम्बन्ध टुंग्याएको समाचार छापेका बेलायती समाचारमाध्यममा आएको छ ।
बीबीसीकी राजनीतिक सम्पादक लरा कुन्सवर्गका अनुसार ‘नम्बर टेन’ भनिने प्रधानमन्त्री कार्यालयले राजीनामा ह्यानकको निर्णय भएको र उनलाई प्रधानमन्त्रीले ननिकालेको जनाएको छ ।
ट्विटरमा प्रेषित एक भिडिओमा ह्यानकले भनेका छन्, “म स्वास्थ्य तथा सामाजिक स्याहारमन्त्रीको पदबाट राजीनामा दिनका लागि प्रधानमन्त्रीलाई भेट्न गएको थिएँ । यो देशका सबैले गरेको धेरै त्यागलाई मैले बुझेको छु...र हामी जसले नियम बनाउँछौँ, त्यसमा प्रतिबद्ध हुनुपर्छ र त्यसकै कारण मैले राजीनामा दिएको हुँ ।”
स्वास्थ्यमन्त्रीका रूपमा तीन वर्ष काम गरेका ह्यानककले आफ्नो राजीनामा पत्रमा ‘नियम तोडेकोमा’ बारम्बार माफी मागेका छन् । रासस/एएनआई