काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य माइला लामाले राज्यपक्षले तीनबुँदे सहमतिलाई इमानदारीपूर्वक कार्यान्वयन नगरेको गुनासो गरेका छन् ।
गएको फागुन २१ गते सरकारसँग भएको तीनबुँदे सहमतिप्रति आफ्नो पार्टी इमानदार रही कार्यान्वयनको दिशामा गइरहेको भए पनि राज्यले आफ्नो भूमिकालाई इमानदारीतापूर्वक कार्यान्वयन नगरेको उनले बताए ।
उनले सहमति कार्यान्वयनमा सरकारले तदारुकता नदेखाउँदा पार्टी, कार्यकर्ता र नागरिक दुःखी भएको जिकिर गरे । तीनबुँदे सहमतिअनुसार जेलमा रहेका आफ्ना कार्यकर्ता रिहाइ गर्ने काममा पनि ढिलासुस्ती भएको गुनासो उनले गरे ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति काठमाडौंले आइतबार काठमाडौंमा गरेको रक्तदान कार्यक्रममा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले राज्य आफूले गरेको सहमतिप्रति उत्तरदायी भई कार्यान्वयनमा इमानदार बन्नुपर्ने बताए ।
“राष्ट्रिय राजनीतिमा निराशा छाएको छ । राजनीतिक पार्टीप्रति, सरकारप्रति राजनीतिक व्यवस्थाप्रति अहिले मानिस सन्तुष्ट छैनन् । त्यसकारणले हाम्रो पार्टीले प्रगतिशील सरकार, जनमतसँग्रह र वैज्ञानिक समाजवादमार्फत नागरिकमा छाएको निराशालाई हल गर्ने र एकपटक नेपाली जनता आफैँले जनमत प्रयोग गरेर आफ्नो शासन व्यवस्था छिनोफानो गर्ने वातावरण राज्यले बनाउनुपर्छ भनेर अपिल गरेको छ । तर, दुर्भाग्य ! तीनबुँदे सहमति सरकार र हाम्रो पार्टीबीच भएको थियो फागुन २१ गते, धेरै कमरेडहरु अझै पनि जेलमा हुनुहुन्छ । छुट्नुभएको छैन । हाम्रो प्रतिबद्धताप्रति हाम्रो पार्टी इमानदार छ । कार्यान्वयनको दिशामा हाम्रो पार्टी गइरहेकै छ,” उनले भने, “तर, राज्यले आफ्नो भूमिकालाई जसरी इमानदारीतापूर्वक कार्यान्वयन गर्नुपर्थ्यो, तीनबुँदे सहमति कार्यान्वयनमा राज्यले तदारुकता नदेखाएकोले अहिले राजनीतिक पार्टी, कार्यकर्ता र नागरिक दुःखी छन् । यो पाटोमा राज्यले आफूलाई समयमा नै इमानदारितापूर्वक उभ्याओस् ।”