site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
कोरोनाले उजाडेको छत 

धेरै दिनपछि आज काठमाडौंमा चहकिलो घाम लागेको छ । मौसम सफा छ, आज । करिब एक हप्ता लामो समय रहेको त्यो आकाशको कालो बादल आज फाटेको छ । मानौँ, प्रकृति पनि खुसी छिन् ।

अनि, यो निषेधाज्ञाका बीचमा यो ठूलो खाली सडकको छेउमा उभिएकी छु म । म सुनिरहेकी छु– निषेधाज्ञाको बीचमा आफ्नै रफ्तारमा गुडिरहेका गाडीहरूको आवाज ।

म देखिरहेकी छु– निलो आकाशमा उड्दै गरेको सेतो—कालो धुवाँ । म देखिरहेकी छु– केही थान मान्छेहरूको भिड अनि त्यही भिडमा म सुनिरहेकी छु– निषेधाज्ञालाई प्रभावकारी बनाउन उभिइरहेका सुरक्षाकर्मीहरूका कुरा ।

Dabur Nepal

“आज कस्तो राम्रो दिन है, धेरै दिनपछि बल्ल आकाशले आँखा खोल्यो !”

“त्यही त कस्तो मिठो घाम लागेको । आज राम्रो दिन रहेछ ।”

त्यतिकैमा पछाडिबाट आवाज आयो,

“रचना, ए रचना !”

म झस्किएर पछाडि फर्किएँ । हाम्रो घरबेटी अंकलले बोलाउनुभएको रहेछ । उहाँको हातमा एउटा फूलको माला थियो । माला मेरो हातमा थमाउँदै भन्नुभयो, “ल, अब अन्तिम बिदाइ गर । हामीभित्र जान पाउँदैनौँ रे ! यहीँबाट हेर बुवालाई ।”

बुवालाई ! मेरो मुटु चिसो भएर आयो । अन्तिम बिदाइ मेरो बाबालाई ! म आत्तिएकी थिए । मनमनै छटपटाइरहेकी थिएँ । मैले अझै पनि सोच्न सकिरहेकी थिइनँ, के भइरहेको छ मेरो जीवनमा ! हिजोसम्म त सबै ठिकै थियो । ठूला–ठूला सपनाहरू बोकेका मेरा यी आखाँहरू आज त्रसित थिए । 

मेरा कापिरहेका ती हातहरू फलामको बन्द गेटबाट हात पसाएर मैले बाबालाई माला अर्पण गरेँ । 

त्यही बेला पछाडिबाट कसैले भन्दै थियो, “आज पनि कति धेरै लास आएछ ।”

लास ! मैले मेरो हात बाहिर निकालेँ । पछाडि फर्किएर हेरेँ अनि देखेँ पशुपति क्षेत्रको विद्युतीय शवदाहगृहअगाडि मजस्तै लाचार उभिरहेका मान्छेहरू । थाहा छैन कसले भन्यो त्यो । तर, मेरो मनले जवाफ दिइरहेको थियो, ‘लास होइन । मेरो बाबा हो उहाँ । मेरो बाबा, जसलाई मैले बचाउन सकिनँ । न बाँच्नलाई सहारा दिनसकेँ । न सास गइसकेपछि एक झिल्को आगो नै !’

दुई दिनजति भएको थियो बाबालाई अलि सन्चो नभएको । रुघा लागेजस्तो भयो भन्दै हुनुहुन्थ्यो । कोरोना महामारीको समयमा सामान्य रुघाखोकी लाग्दा पनि डराउनपर्ने स्थिति थियो । बाबालाई हामीले किचेन कोठामा बस्न भनेका थियौँ । उता बाबालाई रुघाले ग्रस्त बनाएको थियो । यता आमालाई रक्तचापले गर्दा केही दिन भएको थियो, सन्चो नभएको ।

साँझ आठ बजेतिर बाबाले एक्कासि आफूलाई सास फेर्न गाह्रो भएको बताउनुभयो । तातोपानी दिएँ । हात–खुट्टा मसारीदिएँ । अनेक गरेँ, तर बाबाको पीडा कति पनि घटेन ।

म आत्तिएँ । अनि, हतारहतार घरबेटी अंकललाई बोलाएर बाबालाई अस्पताल लैजान आग्रह गरेँ । अंकलले पनि ढिला नगरौँ भन्दै बाबालाई बाहिर ल्याउन सहयोग गर्नुभयो । आमालाई बहिनी र घरबेटी आन्टीको जिम्मा लगाएर म बाबालाई लिएर घरनजिकैको सुमेरु अस्पतालमा गएँ ।

हामीलाई त्यहाँ भित्र पस्न दिइएन । आकस्मिक कक्ष र कोभिड वार्ड दुवै भरिएकोले बिरामीलाई अन्तै लैजान भने । हामीले धेरै आग्रह गर्यौँ । तर, उनीहरूले लगातार एउटै जवाफ दिइरहे, ‘तपाईंको बिरामीलाई हामी हेर्न सक्दैनौँ’ ।

घरबेटी अंकलले कोरोना नहुन पनि त सक्छ भनेर अस्पताललाई मनाउन खोज्नुभयो । तर, अस्पतालले हाम्रो अलिकति पनि सुनेन । 

मैले बाबातिर हेरेँ । उहाँ छटपटाइ नै रहनुभएको थियो ।

“नानी मलाई गाह्रो भयो ।”

“केही हुन्न बाबा ! हामी अर्को हस्पिटल जान्छौँ । हजुर नआत्तिनुस् ।”

मैले बाबालाई हौसला त दिएँ, तर म भित्रभित्रै टुटिसकेकी थिएँ । आँखामा झलझली समाचारका हेडलाइनहरू दौडिरहेका थिएँ ।

“अब के गर्ने अंकल ?” मैले घरबेटी अंकललाई सोधेँ । 

“अब पाटन हस्पिटल नै जानुपर्ला, अरू उपाय छैन के गर्ने त ?”

मैले सहमतिमा टाउको हल्लाएँ । बाबाको हात थामेर अंकलको गाडीसम्म लगेँ । उहाँको तातो हातको स्पर्शले म आफ्नो मनलाई पनि दिलासा दिइरहेको थिएँ । सुमेरु हस्पिटलदेखि पाटन हस्पिटलसम्मको त्यो दूरीको बीचमा मेरो यो डरपोक मनले धेरैँ कुरा सोच्न भ्याइसकेको थियो । केही राम्रा, तर धेरै नराम्रा ! मान्छेलाई अप्ठेरो परेको बेला कहिलेकाहीँ उसको दिमाग र मन दुवैले काम गर्न छोड्दो रहेछ ।

भन्छन् नि, दुःखको बेलामा भगवानको याद आउछ । मेरी आमाले बडो आस्था र सद्भावले हरेक दिन बिहान पूजा गर्ने भगवान्लाई मैले सम्झाएँ, ‘भगवान्, जसले हरेक दिन तिम्रो पूजा गर्छिन्, यो संसारमा उसको, मेरो बाबाबाहेक अरू कोही पनि छैन । तिमीले हात थामिदिनू है ।’

जसको कोही छैन, केही छैन उसलाई नै फेरि कमजोर मुटु दिएको थियो यो भगवान्ले । पछिल्लो केही समयमा मेरी आमा मुटुको पनि बिरामी हुनुहुन्छ ।

राति करिब १० बजेतिर हामी पाटन हस्पिटल पुग्यौँ । त्यहाँ हामीले बाबालाई आकस्मिक कक्षमा लिएर गयौँ । तर, त्यहाँ पनि बाबाको उपचार गर्न कसैले मानेनन् । सामान्य अरू केही समस्या पनि त हुनसक्छ नि भन्दा उहाँहरूले ‘बिरामीलाई यहाँ राख्न मिल्दैन, कोभिड वार्डमा लानुस्’ भन्नुभयो । मैले बाबातिर हेरेँ । उहाँको अनुहार मलिन भइसकेको थियो अनि पीडा जहीँको तहीँ । अरू उपाय पनि त थिएन । हामीले बाबालाई कोभिड वार्डमा लिएर गयौँ ।

न समस्या सोधे न टाउको छामे । एकजना नर्सले भन्नुभयो, “यो वार्डमा बिरामी मात्र होइन, हामी स्वास्थ्यकर्मीहरू पनि कोभिड पोजिटिभ छौँ । भोलि तपाईंको बिरामीलाई पनि कोराना सर्यो भने हामीलाई दोष दिन पाउनुहुन्न । यदि, कोभिड लागेको होइनजस्तो लाग्छ भने अन्तै लैजानुस् । हामीले उपचार गर्दा उहाँलाई पनि सर्न सक्छ ।”

म स्तब्ध भएँ । म के गरूँ ! बाबालाई अन्तै लैजाऊँ या यहीँ राखौँ । म आफैँसँग प्रश्न गरिरहेकी थिएँ । तर, मसँग मनोवाद गरिरहने समय पनि त थिएन । रात पनि धेरै भइसकेको थियो । 
बाबालाई लाने पनि त कहाँ । त्यसैले उतिखेरै जवाफ दिएँ, “हुन्छ यहीँ राखाैँ । बाबाको उपचार सुरु गर्नुस् ।”

केही कागजी प्रक्रिया पूरा गरेर मैले बाबालाई भर्ना गरेँ । 

थाहा छैन बाबाको उपचार पनि सुरु भयो कि भएन । तर, भर्ना गरेको केही घण्टामा नै तपाईंको बिरामी बित्नुभयो भनेर मलाई खबर आयो । हस्पिटलको हो–हल्ला, मान्छेहरूको आवतजावत, त्यो रातको चिसो हावा, मेरो लागि सबै रोकिए । एक्कासि मुख सुकेर आयो । म केही बोल्न सकिनँ । हतारहतार भित्र गएर डाक्टरसँग सोधपुछ गर्न खोजेँ ।

तर, मैले केही बोल्नुभन्दा अगाडि नै डाक्टले भन्नुभयो, “तपाईंको बिरामी बितिसक्नुभएको छ । अब यदि उहाँको पीसीआर टेस्ट गराउने हो भने हामीले जिम्मा लिन्छौँ होइन भने तपाईंहरु अहिले नै लासलाई लिएर जान सक्नुहुन्छ ।”

लास, मेरो दिमागमा त्यही शब्द बारम्बार दोहोरियो । मेरो मन र मस्तिष्क दुवै मान्न तयार थिएन कि बाबाले हामीलाई छोडेर जानुभयो । तर, अघिसम्म मैले थामेको त्यो तातो हात अहिले चिसो भइसकेको छ ।

आँखाअगाडि अब एउटै मात्र चित्र झल्किरहेको थियो, त्यो थियो आमाको अनुहार । मसँग अर्को कुनै उपाय थिएन । मैले पीसीआर टेस्टका लागि अनुमति दिएँ ।

रात यसै बित्यो अस्पतालमा । फर्किएर घर पनि त कसरी जान्थेँ ? आमालाई दिने जवाफ मसँग छैन । आज बिहान खुला आकाशमुनि न्यानो घामको तापमा चिसो मन बोकेर बसेको मलाई हस्पिटलले बाबाको कोभिड पोजिटिभको रिपोर्ट थमाइदियो । सेता लुगा लगाएका मान्छेहरू आएर मेरो बाबालाई सेतो भ्यानमा राखेर लिएर गए ।

मध्यम वर्गीय परिवारकी छोरी म । राम्रो जागिर खाएर, धेरै पैसा कमाएर आमा–बाबालाई आफ्नै गाडीमा राम्रा–राम्रा ठाउँ घुमाउन लान्छु भनेर सपना देखेकी मैले आज आफ्नै आँखाअगाडि बाबालाई अरू नै कसैले अन्त्येष्टिका लागि बोकेर लगिरहेको हेरिरहनुपरेको थियो !

मेरो कानमा बाबाको अन्तिम वाक्य गुन्जियो, ‘नानी मलाई गाह्रो भयो ।’ अनि, मैले सम्झिएँ आमालाई दिएको वचन ! भर्खरै गएको आमाको मुख हेर्ने दिनमा भनेकी थिएँ, “आमा, तिमीलाई संसारको सारा खुसी दिनेछु ।”

अब फेरि आमालाई कसरी भनूँ, ‘तिम्रा लागि संसारको सारा खुसी ल्याउँछु भनेर वाचा गरेकी मैले तिम्रो संसारलाई नै बचाउन सकिनँ ।’ कसरी भनूँ, ‘आमा मैले तिम्रो सिन्दुर जोगाउन सकिनँ ?’

दिमागमा धेरै प्रश्नहरू आइरहेका थिए । थाहा छैन, बाबालाई साँच्चै कोरोना संक्रमण थियो पनि या नाई ! कसैलाई दोष पनि त दिन सक्दिनँ म । उपचार समयमा नै पाउनुभएन मेरो बाबाले भनेर कसरी भनूँ ।

महामारीको बेलामा सायद बिरामीको नियति भनेको नै एउटा हस्पिटलदेखि अर्को हस्पिटल दौडिनु हो । सायद हस्पिटलहरूको धर्म पनि यही हो ।

मलाई कसैसँग गुनासो छैन । न आमाले पुज्ने भगवान्सँग । न मान्छेहरूले मानेका भगवान्रूपी डाक्टरहरूसँग । यो विषम परिस्थितिमा आफूलाई कठोर बनाउँदै म घरतिर लागेँ ।

घर पुग्नेबित्तिकै आमाले सोध्नुभयो, “तेरो बाबालाई कस्तो छ ? खोइ कता हुनुहुन्छ ?”

मेरो अर्धचेत दिमागले हतारहतार भन्यो, “बाबा ठिकै हुनुहुन्छ । उता किचन कोठामा नै सुतिरहनुभएको छ । हजुर पनि आराम गर्नुस् ।” डाइबेटिज, रक्तचाप र मुटुको रोगले एकैपल्ट थला पारेको मेरो आमालाई मैले यो खबर दिए भनेँ...! 

मेरो मुटु फेरि डरायो । आमाले सहन सक्नु हुन्न यो खबर । र, अब म आमालाई पनि गुमाउन चाहन्नँ । मेरी आमाको संसार भन्नु नै म, मेरी बहिनी र बाबा थियौँ । कति हिम्मतिली मेरी बहिनी । मैलेजस्तै उसले पनि आफ्नो मुटुलाई सम्हाली । कोभिड लागेपछि आइसोलेसनमा बसेको यो समाजलाई के थाहा, हाम्रो यो परिवार वर्षौँदेखि ‘आइसोलेसन’मा नै थियो ।

न घर न मामाघर । हामी चारजनाको लागि बस हामी नै थियौँ । त्यसैले अब अगाडिका दिनहरूमा पनि हामी बलियो भएर हिँड्नुपर्नेछ । आमालाई खाना खुवाएर म बाहिर आएँ । मनमा धेरै कुराहरू खेले । तर, मैले मेरो मनलाई धेरै बेर थाम्न सकिनँ । आमाले सुन्नुहोला भनेर मुखमा रुमाल कोचेर धेरै बेर रोएँ ।

त्यसो त आमालाई नै अँगालो हालेर भक्कानिएर रून मन थियो । तर, बिरामी आमाको अगाडि कसरी कमजोर बन्थेँ म । अझै बाँकी नै छ जिन्दगीका थुप्रै जिम्मेवारीहरू । कसरी कमजोर हुन्थेँ म ।

छरपस्ट टुक्रिएको हिम्मतका टुक्राहरूलाई बटुेर म भित्र गएँ । टीभीमा समाचार आइरहेको थियो– आज कोभिडका कारण मृत्यु हुनेको संख्या...।

सरकार र हस्पिटल, त्यो तपाईंहरूका लागि मृतकको संख्या थियो । अनि, त्यही संख्याभित्र मेरो घरको छत । जुन आज उजाडिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार १२, २०७८  १२:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro