बीबीसी । जुन १६ मा हुने जेनेभा सम्मेलनमा रुसका राष्ट्रपति भ्लादमिर पुटिन र अमेरिकी राष्ट्रपति पहिलोपटक आमनेसामने बैठक बस्दैछन् जुन साधारण भेटवार्ता हुनेछैन । किनकी केही समय अगाडि मात्र रुसले अमेरिकालाई आफूहरुसँग मैत्रिपूर्ण सम्बन्ध नभएका देशको सूचीमा राखेको छ भने यता बाइडेनले सार्वजनिक रुपमै एक अन्तर्वार्तामा पुटिनलाई ‘हत्यारा’ भनेर उल्लेख गरेका थिए ।
यसरी दुवै पक्षले आफूहरुबीचको सम्बन्ध हाल सबैभन्दा खराब स्तरमा पुगेको स्वीकार गरिरहेकै छन् । हाल अमेरिका र रुस दुवै देशमा एकअर्काका लागि राजदूतको पनि अनुपस्थिति छ भने रुसी अधिकारीहरुमाथि अमेरिकाले प्रतिबन्ध लगाएको छ । चुनावमा हस्तक्षेपदेखि युक्रेन क्रिमिया मुद्दालगायत रुसमाथि थुप्रै आरोपहरु छन् । त्यस्तै रुसले दुईजना अमेरिकी मरिनहरुलाई जासुसीको आरोपमा जेलमा कैद गरेको छ ।
तर, यी सबै विवादका वावजुद दुवै देशका राष्ट्रपति आ–आफ्नो मुलुकको प्रतिनिधित्व गर्दै पहिलोपटक भेटवार्ता गर्नेछन् । र, रुसमा यो भेटलाई मात्र पनि धेरै ठूलो उपलब्धी मानिएको छ ।
मस्काउस्थित आरआइएसी थिंक–ट्यांकका निर्देशक आन्द्रेइ कोर्तुनोभ भन्छन्, “यो सम्मेलन पुटिनका लागि अत्यन्तै महत्त्वपूर्ण छ किनकी यसले रुस अमेरिकासँग बराबरी स्तरमा रहेको संकेत दिन्छ ।” र, यो केबल छोटो भेटवार्ता नभएर पूर्ण सम्मेलन नै हुनुले पुटिनलाई झन ठूलो लाभ दिलाएको छ । बुधबार पुटिन र बाइडेन आमनेसामने भएर कुराकानी गर्नेछन् ।
राजनीतिक विश्लेषक लिलिआ सेभसोभा भन्छिन्, “पुटिन अमेरिकी राष्ट्रपतिसँग बराबर हुन चाहन्छन् । उनलाई पनि त्यही स्तरको सम्मान चाहिएको छ ।”
यता, ह्वाइटहाउसले चाहिँ रुससँग एकदमै स्थिर र अपेक्षित किसिमको सम्बन्ध कायम गर्ने लक्ष्य राखेको बताएको छ । तर, अप्रत्याशित नीतिमार्फत सबैलाई अनुमान गर्नमै व्यस्त राख्ने पुटिनको पहिलेदेखिकै प्रवृत्ति रहँदै आएको छ । यसमा रुसले हाल केही बोलेन भने उनीहरुको आगामी कदम प्रक्षेपण गर्न कठिन बन्दै जाने लिलिआ बताउँछिन् ।
यसै हप्ता मात्र पुटिनले राष्ट्रिय टेलिभिजनमा बोल्दै अमेरिकासँग केकस्ता मुद्दामा एकसाथ काम गर्न सकिन्छ भन्नेबारे उल्लेख गरेका थिए । यसमा उनले आणविक हतियार नियन्त्रणदेखि सिरिया र लिबियासहित क्षेत्रीय युद्ध अनि जलवायु परिवर्तन जस्ता विषयमा कुराकानी गर्न सकिने बताएका छन् । यो सम्मेलनलाई बेकार सावित हुन नदिन यी विषयमा सँगै काम गर्ने वातावरण सिर्जना गर्न जरुरी रहेको पुटिनले तर्क गरेका छन् ।
यसमा मैत्रीपूर्ण कदम अन्र्तगत मस्काउले आफ्नो राजदूतलाई पुनः वासिङटन पठाउन सक्छ । त्यस्तै रुसमा थुनिएका अमेरिकीहरुबारेको मुद्दा पनि उठ्ने देखिन्छ ।
पुटिनले धेरैपटक पश्चिमी रणनीति आक्रामक भएको धारणा व्यक्त गर्दै आएका छन् । यसै महिना सम्पन्न आर्थिक फोरमको कार्यक्रममा उनले फेरि पनि अमेरिकाले रुसको विकास र समृद्धि सीमित गराउन चाहेको दाबी गरेका थिए ।
केही दिन अगाडि उनले ‘टोक्न’ खोज्ने विदेशी आक्रामक शक्तिको ‘दाँत झारिदिने’ अभिव्यक्तिसमेत दिएका थिए जुन अप्रत्यक्ष रुपमा अमेरिकालाई लक्षित भएको मानिन्छ ।
कोर्तुनोभ भन्छन्, “स्पष्ट सँग उनी अमेरिका रुसको भलो चाहँदैन भन्नेमा विश्वास गर्छन् र यो धारणा सजिलै बदलिनेछैन । तर, रुसले अहिलेका लागि भने आफूलाई शान्त पार्ने प्रयास गर्नेछ । एक विवेकी राजनीतिज्ञका रुपमा पुटिन अमेरिकासँग नराम्रो सम्बन्ध वापद्को परिणाम र जोखिम कम गर्न चाहनेछन् । किनकी अमेरिकासँग थप विवाद उत्पन्न गराएर उनले अहिले केही हासिल गर्न सक्नेछैनन् ।”
यसमा भलाद्मिर पुटिनले नचाहेको कुरा भनेको मानव अधिकार उल्लंघन सम्बन्धी बाहिरी शक्तिको भाषण हो । उनका विपक्षी एलेक्सी नेल्भेनीमाथिको विष आक्रमण र जेल चलान सम्बन्धी मुद्दाले यसअघि विश्वव्यापी ध्यानाकर्षण गराएको थियो ।
मस्काउको अदालतले नेल्भेनीको भ्रष्टाचार विरुद्धको संगठन, राजनीतिक कार्यालयलगायत सबैलाई अतिवादी घोषित गर्दै प्रतिबन्ध लगाइसकेको छ । यो मुद्दा यस सम्मेलनपछि पनि सुल्झाउन सकिन्थ्यो तर रुसले अहिले नै यसलाई निप्टाउनुले के सन्देश दिन खोजेको छ भने पुटिनले आफ्नै तरिकाले विरोधीहरुको सामना गर्नेछन् र यो अमेरिकाको चासोको विषय होइन ।
सम्मेलनमा बाइडेनले मानव अधिकार र नेल्भेनीको मुद्दा उठाए भने पुटिनले अमेरिकालाई पहिलेकै जस्तो भाषणवाज ठहर गर्नेछन् र अवस्थामा कुनै सुधार नआउने लिलिआ बताउँछिन् । तर, अर्कोतर्फ यही पहिलो भेटवार्तालाई फरक दृष्टिले हेर्दै दुवै पक्षले तनाव कम गर्न केही गरौँ भनेर लागे भने केही नयाँ सुरुआतको आशा गर्न सकिने उनले बताइन् ।