काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ र प्रधान सेनापति पूर्णचन्द्र थापाले लमजुङ जिल्लाको नेपाली सेना कृषि विज्ञान संस्थानको निरीक्षण भ्रमण गरेका छन् । सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो ।
नेपाली सेना कल्याणकारी कोषबाट शिक्षा क्षेत्रमा भएको योगदानहरुको बारेमा जानकारी गराउने साथै आगामी योजना अनुसार उक्त केन्द्रलाई नेपाली सेना कृषि विज्ञान संस्थानको रुपमा संचालन गरी कृषिमा स्नातक कार्यक्रम सञ्चालन गर्ने लक्ष्य प्राप्तिको सिलसिलामा भएको प्रगतिको विवरण समेत जानकारी गराउने उद्देश्यले यो भ्रमण संचालन भएको थियो । सेनाले अहिले त्रिभुवन विश्वविद्यालयले तोकेको मापदण्ड अनुरुप शैक्षिक र भौतिक पूर्वाधारहरुको विकास गर्ने कार्यको अन्तिम चरणमा पुगेको छ ।
निरीक्षण भ्रमणको क्रममा सम्बोधन गर्दै शिक्षा मन्त्री श्रेष्ठले कृषि प्रधान देश नेपाल, खाद्य सुरक्षाका लागि कृषि उपजमा आत्मनिर्भर हुने तर्फ अग्रसर भईरहेको अवस्थामा, सैनिक कल्याणकारी कोषले नेपाली सेनाका बहालवाला÷अवकाश प्राप्त सैनिक तथा आश्रीत परिवारलाई आधुनिक व्यावसायिक कृषि तथा पशुपालनमा सरिक गराई स्वदेशमा नै स्वरोजगार सिर्जना गरी आर्थिक र"पमा सक्षम र सामाजिक रुपमा स्थापित गराउन पुर्याउँदै आएको योगदानको सराहना गरेको विज्ञप्तिमा उल्लेख छ ।
उक्त अवसरमा प्रधान सेनापति थापाले कृषि क्षेत्रमा अनुसन्धान, विकास र विस्तार गर्न सक्ने दक्ष जनशक्ति निर्माण गर्दै कृषि उपजमा आत्मनिर्भर हुने सरकारको नीति कार्यान्वयन गर्न सहयोग पुर्याउने उद्देश्यले सेना व्यवसायिक कृषि तथा पशुपालन तालिम केन्द्रलाई स्तरोन्नति गर्न लागेको स्पष्ट पारे ।