काठमाडौं । चीन सरकारले अनुदानमा दिएको कोरोनाविरुद्धको खोप आज नेपाल ल्याइँदै छ । नेपाल वायुसेवा निगमको वाइडबडी विमानमार्फत खोप आज नेपाल ल्याउन लागिएको हो ।
निगमको ए ३३० विमान गएराति ११ बजे बेइजिङ उडेको थियो । उक्त विमानले आज दिउँसो खोप लिएर नेपाल आइपुग्ने निगमले जानकारी दिएको छ ।
चीन सरकारले अनुदानमा दिएको १० लाख डोज खोप सकेसम्म एकैपटक ल्याउने परराष्ट्र मन्त्रालयको तयारी छ । “नेपालमा खोपको आवश्यकतालाई हेरेर १० लाख डोज नै एकैपटक ल्याउन खोजिएको हो तर कति सम्भव हुन्छ, जतिसक्दो धेरै डोज खोप राखेर ल्याउने हामीले तयारी गरेका छौँ,” परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले भनिन् ।
चीनले यसअघि पनि नेपाललाई ८ लाख डोज भेरोसेल खोप अनुदानमा दिएको थियो ।